दुई सेकेण्ड सम्हालिन नसक्दा

/assets/plugins/bower_components/fileman/Uploads/sports/author/28167741_925039154325143_4189832.jpg

लगातार ९ वर्ष राष्ट्रिय च्याम्पियन बनेकी कराँतेकी अनु अधिकारी १० औं वर्ष राष्ट्रिय च्याम्पियन बन्ने सपनाको संघारमै पुग्दा अन्तिम दुई सेकेण्ड बिर्सिनलायक बन्यो । दुई सेकेण्डको बिचलनले अनुको स्वर्ण पदकको यात्रामा विराम लाग्यो र घाँटीमा रजत पदक झुण्डियो । स्वर्ण पदक त अनुको विरासत बनेको थियो तर अचानक ढल्छ भन्ने उनले सायदै सोचकी थिइन् ।

गत बैशाखमा नेपालगञ्जमा सम्पन्न आठौँ राट्रिय खेलकुदमा अनुले यही नमिठो अनुभव सम्हाल्न बाध्य भइन् । लगातार ९ वर्षकी राष्ट्रिय च्याम्पियन अनु पहिलो पटक स्वर्ण बिहीन बनिन् ।

नेपालगञ्जमा सम्पन्न आठौँ राट्रिय खेलकुदलाई नेपालमा आयोजना हुने १३ औं सागको छनोटको रुपमासमेत हेरिएको थियो । सुरुमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौँका स्वर्णधारीलाई मात्र सागको बन्द प्रशिक्षणमा सहभागी गराउने बताएको थियो । तर राखेपको नेतृत्व परिवर्तन भएसँगै निर्णयसमेत फेरबदल भयो ।

‘संघका पदाधिकारीले आठौँलाई सागको प्रि-छनोट भनेका थिए । त्यसैले सागको सम्झना आएन ।’ अनुले भनिन्, ‘खेलाडीका लागि हरेक खेल उत्तिकै महत्वपूर्ण हुन्छ । मेरा लागि लगातारको सफलता जोगाउनु ठूलो चुनौति थियो तर राष्ट्रिय प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक गुमाउन पुगेँ ।’ 

खेलको पूरै समय अनुको पक्षमा थियो । खेल सकिन केही सेकेण्ड मात्रै बाँकी थियो । अनु स्वर्णको नजिक थिईन् । अन्तिम दुई सेकेण्ड बाँकी रहँदा उनले पञ्च भेटिन् । त्यही पञ्च उनीलाई स्वर्णबाट बञ्चित बनाउन पर्याप्त थियो । उनी स्वर्णबाट बिमुख मात्र भईनन्, उनले धानिरहेको ९ वर्षको बिरासत क्षणभरमै ढल्न पुग्यो । 

त्यो क्षण अनु न सम्झिन चाहन्छिन्, न त बिर्सन नै सक्छिन् । ‘जित्दाजित्दै हार्नु अनि हार्दाहार्दै जित्नु खेल जीवनको वास्तविक पाटो हो । जुन म आफैँले धेरै पटक भोगेकी छु ।’ अनु भन्छिन् । सेनाकी मिस्ली श्रेष्ठको पञ्च र समय सकिएको घण्टी अनुको कानमा एकै पटक बज्न पुग्यो । 

त्यो पञ्चअघि दुबैले समान ३-३ स्कोर जोडेका थिए । दुई सेकेण्ड सम्हालिन सकेको भए सेन्सो (खेलमा पहिले अंक) का आधारमा अनुको पक्षमा नतिजा आउने थियो । तर अनु सम्हालिन सकिनन् । पछिल्लो एक दशकमा उनी पहिलो पटक फाईनलमा हार्न पुगिन् । 

चार फाइटको नतिजा राम्रै आएको थियो । तर प्राविधिक कारणले सो खेल गुमाएको अनुको दाबी छ । ‘खेलमा मात्र दुई मिनेटको समय हुन्छ । त्यो दुई मिनेटभित्र खेल्दा समय कति गयो भन्ने भेउ नै पाउन सकिन्न ।’ अनु भन्छिन्, ‘तर, पहिलो पटक ठूला फुटबल प्रतियोगिताहरुमा प्रयोग हुने भिडियो असिस्टेन्ट रेफ्री (भार) को प्रयोग गरिएको थियो । नयाँ प्रविधिको प्रयोग गरिए पनि सबैले देख्ने गरेर टाइमरको प्रयोग भने गरिएन ।’

टाइमर प्राय स-साना प्रतियोगितामा प्रयोग हुने गर्छ । तर बृहत राष्ट्रिय खेलकुदमा टाईमर नदेखिनु लज्जाको बिषय भएको अनु दाबी गर्छिन् । 

गुमेको श्वास फर्किए जस्तो 

आठौँ राष्ट्रिय खेलकुदको स्वर्ण विजेतालाई कराँते संघले बन्द प्रशिक्षणका लागि बोलायो । रजत र काँस्य विजेता खेलाडी भने प्रशिक्षणमा सहभागी हुन पाएनन् । विगत एक दशकदेखि राष्ट्रिय टिममा रहेर नियमित प्रशिक्षण लिएकी अनुलाई सुरुवाती एक महिना घरमा बस्नै गाह्रो भयो ।

‘एक्कासी राष्ट्रिय टोलीबाट बाहिर हुदाँ निकै गाह्रो हुँदो रहेछ । कसैले घाँटी च्यापेको र श्वास फेर्न नसकेको जस्तो हुने रहेछ ।’ अनुले अनुभव सुनाईन् । बन्द प्रशिक्षण सुरु भएको एक महिनापछि उनलाई संघबाट फोन आयो । तब मात्र उनले गुमेको श्वास फिर्ता पाए जस्तो महशुश गरिन् । 

पुनरागमनको प्रतीक्षा

अनुलाई लाग्छ, जिन्दगीको यात्रामा धेरै चिजहरु छुट्दा रहेछन् । तर गुमाएका चिजहरुमा अल्झिन भन्दा गुमाएको आत्मविश्वास फर्काउन मान्छे केन्द्रित हुनुपर्छ । पहिलो चरणको बन्द प्रशिक्षणबाट बञ्चित भए पनि उनी बालाजुस्थित डोजोमा निरन्तर प्रशिक्षणमा रहिन् । उनी पुनः अर्को अवसरको प्रतीक्षामा थिईन् । 

अनु भन्छिन्, ‘बन्द प्रशिक्षणमा नअटाए पनि आठौँमा गुमाएको स्वर्ण पदकसँग प्रतिस्पर्धा गरिरहेँ । मैले स्वर्ण गुमाउँदा म मात्रै हैन मलाई चिन्ने अरु व्यक्तिहरु पनि आश्चर्यमा परे। उनीहरुको मनमा पनि प्रश्न उब्जिएछ, अनुले पनि हार्छ र ? मेरा शुभेच्छुकको मनमा उब्जिएको आश्चर्यलाई झुटो साबित गर्नुथियो । त्यसैले अझै मिहेनत गर्नुपर्छ भन्ने मलाई लागिरह्यो।’ 
https://www.nicasiabank.com/

उनले थपिन्, ‘पराजयले मलाई धेरै कुरा सिकायो, सागको प्रशिक्षण चलिरहँदा मेरो क्याम्पसको परीक्षा पनि चलिरहेको थियो । पढाई र प्रशिक्षण दुबैलाई निरन्तरता दिनु थियो, दिएँ पनि । नतिजास्वरुप मैले पुनः पहिलो स्थानसहित सागका लागि छनोट भएँ ।’ आठौं खेलकुदमा टुटेको अनुको ‘स्वर्ण’ सपना सागको अन्तिम ३२ सदस्यीय टोलीमा परेसँगै फेरि टुसाएको छ । सागमा अनुले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
पहिलो सागमा रजत

सन् २०१० मा बंगलादेशको ढाकामा ११ औं सागको तयारी भैरहेको थियो । त्यसका लागि हेटौडामा छनोट प्रतियोगिता चलेको थियो । अनु पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेल्दै थिईन् । दुई वर्षको प्रशिक्षणपछि उनी पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै गर्दा सागको यात्रा पनि तय गर्ने अवसर आँखा अगाडि थियो । पहिलो सहभागीतामै अनुले स्वर्ण जित्दै ११ औं सागमा आफ्नो स्थान सुनिश्चित गरिन् । 

११ औं सागमा महिलातर्फ ५५ केजी र ६१ केजी तौल समुह समावेश थियो । उनले ५५ केजी तौल समूहबाट खेल्ने अबसर पाईन् । कलिलै उमेरमा पाएको यो अबसर जसरी पनि सदुपयोग गरी आफ्नो लागि र देशका लागि स्वर्ण पदक जित्ने सपनासहित अनु बंगलादेश उड्नि ।

‘त्यो समय म जम्मा ५३ केजी र १६ वर्ष उमेरकी थिए । सागका लागि छनोट भए । पहिलो राष्ट्रिय प्रतियोगिता जितेर सोझै साग खेल्ने अवसर पाएकी थिएँ ।’ अनुले भनिन् ।
सागमा नेपालबाट पहिलो खेल अनु खेल्दै थिईन् । उनले आफ्नो तौल समुहमा रजत जितिन् । पहिलो सहभागीतामै पदक जित्दा खुसीको सीमै रहेन । पहिलो पटक जितेको अन्तर्राष्ट्रिय पदकले अनुका आँखाबाट खुसीका आँशु झरे ।

तर दोस्रो दिन नेपाली खेलाडीले सागमा पहिलो स्वर्ण जित्न सफल भए । अनि अनुको रजत छायाँमा पर्यो । तब मात्र अनुले स्वर्ण पदकको महत्व बुझिन् । उनी फेरी एक पटक रोइन् ।

सागमा स्वर्ण लक्ष्य

अनुको लक्ष्य छ, घरेलु भूमिमा आयोजना हुने सागमा स्वर्ण जित्ने । सागमा स्वर्ण पदकको महत्व उनले बुझेकी छन् । ‘सागमा रजत जित्दा खेलाडीले आफूलाई चिनाउँदै जानुपर्छ ।’ अनुको अनुभव छ, ‘आफूलाई र राष्ट्रलाई चिनाउन सागमा स्वर्ण जित्नै पर्दोरहेछ । यसैमा मेरो ठूलो प्रयास रहने छ ।’ 

स्वर्ण पदक जितेर आफ्नो र देशको नाम राख्न आफू हरसम्भव प्रयासमा रहेको अनुले बताईन् । आवश्यक प्रशिक्षण पाएमा आफूले लक्ष्य हासिल गर्ने र त्यसका लागि कठिन भन्दा कठिन अभ्यासका लाग तयार रहेको अनुको भनाइ छ ।

भर्खरै उनले उज्वेकिस्तानमा एकेएफ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेलिन् । त्यहाँ भारत र बंगलादेशका खेलाडीसमेत सहभागी थिए । उनले बंगलादेशकी प्रतियोगीलाई ७-० को फराकिलो अन्तरले हराईन् । 

१७ सेकेण्डमा एसियन पदक गुम्दा

अनुले दुई पटक एसियन गेम्स खेलेकी छन् । उनले सन् २०१४ मा कोरियामा पहिलो पटक सहभागिता जनाएकी थिईन् । तर उनको प्रदर्शन सम्झनलायक रहेन । उनी सुरुमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् ।

दोस्रो पटक उनले इन्डोनेसियाको १८ औं एसियन गेम्स खेल्न पाईन् । पदकबाट बिमुख रहे पनि उनको प्रर्दशन उत्कृष्ट रह्यो । उनले पहिलो राउण्डमा मकाउकी खेलाडीलाई ४-१ ले हराउँदै सुखद सुरुवात गरेकी थिइन् । 

दोस्रो खेलमा लावसलाई ५-१ ले पराजित गरेकी उनी तेस्रो खेलमा चाईनिज ताईपेकी खेलाडीसँग पराजित हुन पुगिन् । उनी अन्तिम १६ सेकेन्ड सम्हालिन नसक्दा पदक बिहीन भईन् । खेल सकिन १६ सेकेन्ड बाँकी रहँदा अनु ३-२ ले अगाडि थिईन् । तर अन्तिम १६ सेकेन्डमा ४ अंक गुमाउँदै उनले खेल ३-६ ले हार्न पुगिन् ।

प्रतिक्रिया