गैरनेपालीलाई नागरिकता दिएको आरोपमा दुई कर्मचारीसहित पाँच पक्राउ 

/assets/plugins/bower_components/fileman/Uploads/pakrau.jpg

झापा- आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा सरकारी दुई कर्मचारीसहित पाँच जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका-८ का वडासचिव लोकराज बराल, भद्रपुरका टेकबहादुर गुरुङ, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू छन् । 

ती सबैलाई जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

गैरकानुनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानविन सुरु गरेको थियो ।  

निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ । 

गैरनेपालीलाई नागरिकता दिन सिफारिस गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानबिन थालिएको बताइएको छ । प्रशासन स्रोतका अनुसार विसं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ । १६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ । त्यसपछि अधिकृत ढुंगेलले नागरिकता जारी गरेको बताइएको छ ।
https://www.nicasiabank.com/
 
यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा ९ जनाको बाबु एउटै कायम गरिएको छ । गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जिम्मेवारी दिएको बताइएको छ ।
 
गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत् नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नागरिकता दिइएको पाइएको हो । टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन् । उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ ।

यसैगरी, गैरकानुनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत छन् । गृह स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले गैरकानूनी रूपमा २०७६ जेठ १२ मा  तीनलाई, जेठ २० मा  एकलाई र  जेठ २१  तीन जनालाई नागरिकता वितरण गरेको छ । यसैगरी,  २०७६ जेठ ६ मा  चारलाई नागरिकता  दिइएको छ ।

यसअघि २०७३ माघ १० गते तीन जनालाई गैरकानुनी रूपमा नागरिकता दिइएको स्रोतले जानकारी दिएको छ ।

विसं २०७३ मा गैरकानुनी रूपमा नागरिकता वितरण गर्ने तत्कालीन प्रशासकीय अधिकृत चूडाराज भट्टराईमाथि समेत छानविन थालिएको छ भने तत्कालीन शरणामती गाविसका सञ्चालक समितिका अध्यक्ष भवकृष्ण न्यौपाने पनि छानविनको घेरामा परेको जिल्ला प्रशासन कार्यालय, झापाले जनाएको छ ।

प्रतिक्रिया