पश्चिमका थारू समुदायमा अट्वारीको उल्लास 

/assets/plugins/bower_components/fileman/Uploads/Atwari_1.jpg

धनगढी- पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले आइतबार धुमधामसँग अट्वारी पर्व मनाइरहेका छन् । सूर्यको उपासना गरेर निराहार व्रत बसी यो पर्व दुई दिनसम्म मनाइने गरिन्छ । अट्वारी पर्वका लागि थारू बस्तीमा हप्ता दिन अगाडिदेखि नै तयारी थालिन्छ ।

पहिले-पहिले यो पर्व भदौदेखि दसैंसम्मका सबै आइतबार व्रत बसेर मनाउने गरिए पनि बिस्तारै अवधि छोट्याउदै लगिएको रामसमज थारुले सुनाए । उनका अनुसार त्यसपछिका वर्षमा कुसे औंसीदेखि पाँच आइतबार मनाउने गरिएकोमा अहिले भने दुई दिनमात्रै मनाउने चलन छ । 

व्रत बस्ने व्यक्तिले शनिबार मध्यरातमा भाले नबास्दै दर खाने चलन रहेको छ । दर खाएकाहरू पहिलो दिन अर्थात् आइतबार मध्यान्हसम्म पानीसमेत नखाई व्रत बस्छन् ।

मध्यान्हमा नुहाएर व्रतालुले गुइँठामा बालेको अग्निको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूध लगायतका परिकार खाने गर्छन् । यी सबै परिकार आफूले खानुभन्दा अगाडि एक भाग छुट्टै निकालेर राख्ने चलन छ । यो दिन व्रतालुहरूले पूजा आराधनापछि सूर्यास्त नहुँदासम्म फलफूल खान सक्ने जनाइएको छ । 

यसैगरी, दोस्रो दिन बिहानै नुहाएर व्रतालुहरूले अघिल्लो दिनको जस्तै पूजाआजा गरेर पाकेका मिठामिठा परिकार खाने चलन छ । यो दिन विशेषगरी, भात, माछा, मासु, फुलौरी, खरिया लगायतका परिकार खाइन्छ । अट्वारीको दोस्रो दिनलाई ‘फरार’ भनिन्छ । व्रतालुहरुले दोस्रो दिन खाने खानाका परिवार पनि आफूले खानुभन्दा पहिले एक भाग निकालेर छुट्टै राख्ने गर्छन्। 

https://www.nicasiabank.com/
यसरी दुई दिनसम्म छुट्टयाएर राखेको अन्दीको रोटी, फुलौरी, खरिया, खुर्मा, फलफूल, माछा लगायतका परिकार पर्वको दोस्रो दिननै आफ्नो विवाहित चेलीलाई उपहारको रूपमा दिने चलन छ । यसरी माइतीपक्षले विवाहित छोरीचेलीलाई दिइने उपमहारलाई ‘अग्रासन’ भनिन्छ। अट्वारी पर्वमा विवाहित चेलीले माइतको अग्रासन नपाएमा उनको चित्त दुख्ने गरेको विश्वास गरिन्छ । त्यसैले सकेसम्म सबै परिवारले अट्वारीको व्रत बस्ने गरेको थारु अगुवा बताउँछन् । 



सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अट्वारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घ जीवन मिल्ने गरेको थारू समुदायको विश्वास छ । अट्वारी पर्व मनाउनुको एउटा कारण महाभारतसँग पनि जोडिएको छ । पाँच पाण्डव मध्येका माइलो भीम, तावामा रोटी पकाउँदा पकाउँदै त्यसलाई त्यत्तिकै छोडेर लड्न गएको बताइन्छ । भीमले तावामा राखेको रोटी एकतर्फबाट मात्रै पाकेकाले अट्वारीमा खाने अन्दीको रोटी पनि थारु समुदायले एकैतर्फबाट मात्रै पकाउने गरेको महेश थारूले सुनाए । 

यसैगरी, थार राजा दंगीशरणलाई भीमले लडाइमा सहयोग गरेका कारण भीमको सम्झनामा थारू समुदायले अट्वारी पर्व मनाउन थालेको किम्बदन्ती छ । 

यसैबीच अट्वारी पर्वको अवसरमा सुदुरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।
 

प्रतिक्रिया