गाउँमा पुगेन ‘सिंहदरबार’

/assets/plugins/bower_components/fileman/Uploads/sewagrahi.jpg

माथिल्लो डोल्पाको सार्काताङ्सोग गाउँपालिकाको दुनैमा रहेको सम्पर्क कार्यालयमा सेवा लिन आएका सेवाग्राही ।

सुर्खेत- माथिल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकामा ६ वडा छन् । वडा नम्बर १, २ र ३ कार्यालयका साइनबोर्ड गाउँपालिकाको केन्द्र झारगाउँमा छन् । यस्तै वडा नम्बर ४, ५ र ६ को संयुक्त कार्यालय साङसोगङमा छ । तर, त्यहाँ केवल वडा कार्यालय लेखिएका साइनबोर्ड मात्र छन् । 

गाउँमा साइनबोर्ड मात्र राखिएका तीनै वडा र गाउँपालिकाको काम भने सदरमुकाम दुनैबाट हुन्छ । कर्मचारी र जनप्रतिनिधि दुनैमा रहेको त्यही कार्यालयमा बस्छन् । गाउँका सिंहदरबार भनिने वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा कुनै सेवा र सुविधा उपलब्ध छैन । स्थानीय बासिन्दा सामान्य सिफारिस र सेवा लिनका लागि पैदल हिँडेर दुनैमा रहेका सम्पर्क कार्यालयसम्म धाउन बाध्य छन् ।
‘बेलाबखत त गाउँ जान्छु, प्रायः गाउँसभा भने छुटाउँदैन,’ सदरमुकामबाटै स्थानीय तहको काम गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी भन्छन्, ‘आर्थिक कारोबारका लागि सदरमुकाम नै आउनुपर्छ, वडाध्यक्षज्यूहरू आएपछि चेक काटिदिन्छु र उहाँहरु जानुहुन्छ ।’ 

उसो त गाउँपालिकाका कर्मचारी मात्रै होइनन्, वडाध्यक्षहरू पनि सदरमुकाममै सम्पर्क कार्यालय खोलेर बसेका छन् । ‘धेरैजसो गाउँमै हुन्छौं, त्यहाँ बस्नलाई कर्मचारी र भवन पनि छैन’ वडा नम्बर १ का वडाध्यक्ष धावा लामागुरुङ भन्छन्, ‘हाम्रो काम जनतालाई सेवा दिने हो, कहिले उता त कहिले यतैबाट सेवा दिन्छौं ।’

त्यस्तै, माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको पनि सम्पूर्ण काम दुनैबाट नै हुन्छ । सम्पूर्ण कर्मचारी सदरमुकामै छन् । गाउँपालिकाको साङदाङमा रहेको कार्यालय भने अचेल कार्यालय सहयोगीको भरमा छ । गाउँपालिकाको केन्द्रमा कर्मचारी जान नसक्ने भन्दै सहजताका लागि दुनैमा कार्यालय खोलेर काम गरिरहेको अध्यक्ष टसी तुन्डुप गुरुङ बताउँछन् । ‘गाउँमा बैंक नहुँदा आर्थिक कारोबार सदरमुकामबाटै गर्नुपर्छ,’ अध्यक्ष गुरुङ भन्छन् । 

उसो त गाउँपालिकाले वडा कार्यालय पनि सम्बन्धित वडामा राख्न सकेको छैन, जसका कारण सेवाग्राहीलाई वडाबाट पाउने सेवा सुविधा लिन अर्को वडा वा गाउँपालिकाको कार्यालयसम्म धाउनुपर्ने बाध्यता छ । 

भवन र कर्मचारी अभाव देखाउँदै वडा १ देखि ४ सम्मको काम गाउँपालिकाको केन्द्र साल्दाङ्कबाट गर्दै आएको छ । ९ वडामध्ये वडा नम्बर ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नम्बर ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डोमा छ । तर, त्यहाँ कर्मचारी बस्दैनन् । भौगोलिक विकटताको कारण देखाउँदै कर्मचारीहरु सदरमुकाम दुनैमा सम्पर्क कार्यालय खडा गरेर बसेका छन् । माथिल्लो डोल्पाको अर्को डोल्पाबुद्ध गाउँपालिकाका कर्मचारीहरु गाउँमा जाँदैनन् । गाउँपालिकाले १, २ र ३ वडाको केन्द्र धो र वडा नम्बर ४, ५ र ६ कोे तिन्जेमा संयुक्त वडा कार्यालय तोकेको छ । तर, कर्मचारी भने सदुरमुकामै अड्डा जमाएर बसेका छन् । 
https://www.nicasiabank.com/

संघीयतापछि आँगनमै सेवा प्राप्त गर्ने आशा गरेका डोल्पाली भने हप्तादिन लगाएर सदरमुकामबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ । काइके गाँउपालिकाले सम्पर्क कार्यालय खोलेर जिल्ला सदरमुकामबाटै सेवा दिइरहेको छ । हिउँदमा अध्याधिक हिउँ परेर चिसो हुनु, बैंकिङ सेवा र प्रहरीको सुरक्षा नहुनु तथा इन्टरनेटको व्यवस्थापन नहुनु जस्ता समस्याले सदरमुकामबाटै सेवा प्रवाह गर्नु परेको गाउँपालिका अध्यक्ष अंगदकुमार रानाले बताए । जनप्रतिनिधि र कर्मचारीले विभिन्न बहनामा गाउँ नजाने गरेका कारण नागरिकले भने स्थानीय सरकारबाट सेवा सहज रुपमा लिन पाएका छैनन् ।
कर्मचारी गाउँमा नबस्ने समस्या डोल्पामा मात्रै होइन । अन्य जिल्लामा आर्थिक कारोबारको बहाना बनाउँदै कर्मचारीहरू सदरमुकाममै बस्दै आएका छन् । जाजरकोट र हुम्लाका स्थानीय तहका कर्मचारी पनि सदरमुकामै बस्छन् । जाजरकोटका कुसेगाउँपालिका, चुनेचाँदी गाउँपालिका र बारेकोट गाउँपालिकले सदरमुकाम खलंगामा सम्पर्क खोलेका छन् । त्यस्तै हुम्लाका स्थानीय तहहरूले पनि सदरमुकाम सिमकोटमै अड्डा जमाएका छन् । सिमकोटबाहेक अन्य पाँच वटा गाउँपालिले सदरमुकाममै सम्पर्क कार्यालय राखेका छन् । कर्मचारीहरु सम्पर्क कार्यालयमै बसेर काम गर्ने र तलब सुविधा बुझ्ने गरेका छन् । तर जाजरकोट, हुम्ला र डोल्पाका कुनै पनि स्थानीय तहले सम्पर्क कार्यालयमा बोर्ड राखेका छैन । 

दुई गाउँपालिकामा एउटै कार्यालय प्रमुख

दुई गाउँपालिकाका कार्यालय प्रमुख एउटै छन् भन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर, माथिल्लो डोल्पाका दुई वटा स्थानीय तहमा भने एउटै प्रमुख प्रशासकीय अधिकृत छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पाँच महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी छन् । ‘कर्मचारी छैनन्, चैतको २५ गतेदेखि छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाको काम मलै नै गरेको छु,’ अधिकारी भन्छन्, ‘दुनैमा रहेका दुई वटै कार्यालय नजिकै छन्, मिलाएर जाने गरेको छु ।’

प्रशासकीय अधिकृत मात्रै होइन, गाउँपालिकामा अन्य कर्मचारीको अवस्था उस्तै छ । ३० जना कर्मचारीको दरबन्दी भएको छार्काताङसोङ गाउँपालिकामा हिजोआज आठ जना मात्रै कर्मचारी छन् । दरबन्दी अनुसार सरुवा भएर आउने कार्मचारी पनि बाटोबाटै अन्यत्र जाने गरेका छन् । ‘चैतबाट प्रमुख प्रशासकीय अधिकृत आउने कुरा थियो,’ उनले भने, ‘पहिले खुट्टामा स्टिल छ भनेर पख्र्यौं, अहिले नआउने जानकारी आयो । समायोजनबाट अर्काे कर्मचारी आउँछन् कि ?’ 

भौगोलिक विकटताकै कारण कर्मचारी सदरमुकाममा पनि आउन नमान्ने उनको भनाइ छ । ‘गाउँमा इन्टरनेट, टेलिफोन र विद्युत छैन, यही कारण कर्मचारी आउन मान्दैनन्,’ अधिकारी भन्छन् । 

प्रतिक्रिया