आचरणविपरित काम गर्ने प्रहरीलाई कारबाही हुन्छ : डीआईजी कार्की

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/dig_karki.jpg

जनकपुरधाम – प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले आचरणविपरित काम गर्ने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। प्रहरीको बर्दी लगाएर संगठनको नीतिविपरित कामगर्ने जो सुकैलाई कारबाही हुने उनले बताए।

जनकपुरका व्यवसायीहरुले प्रदेश प्रहरीको घुमुवा प्रहरीले पैसा मागेर आतंक मचाइरहेको आरोप लगाएको दुई दिन नबित्दै डीआईजी कार्कीले यस्तो बताएका हुन्।

प्रदेश प्रहरी कार्यालयले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘प्रहरीको बर्दी लगाएको भन्दैमा आचरणविपरित कामगर्ने छुट कसैलाई छैन्। प्रहरीले आचरणविपरित काम गरे कारबाही हुन्छ र भएको पनि छ।’

आचरणविपरित कामगर्ने ३ सय ४७ जना प्रहरीमाथि गत आर्थिक वर्षमा प्रहरी विभागीय कारबाहीमा परेको उदाहरण दिँदै कार्कीले प्रहरी संगठनभित्र रहेका कमीकमजोरी सुधार गरी आमनागरिकलाई शान्ति, सुरक्षा दिने काम अगाडि बढिरहेको बताए। प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको सञ्चारकर्मीहरुको जिज्ञासामा उनले प्रहरी संगठनको सुधार भइरहेको जिकिर गरे।

https://www.nicasiabank.com/
डीआईजी कार्कीले प्रदेश २ मा तस्करी प्रमुख चुनौतीको रुपमा देखिएको उल्लेख गरे। प्रदेशको आठै जिल्ला भारतीय सीमासँग जोडिएकोले तस्करी नियन्त्रण प्रमुख चुनौती बनेको उनको भनाइ छ।

‘तथ्यांकले पनि प्रदेशमा तस्करी बढेको देखाएको छ,’ उनले भने, ‘तस्करी नियन्त्रण चुनौतीपूर्ण छ। तस्करी नियन्त्रण हाम्रो प्राथमिकतामा छ।’ भारतीय सीमाबाट लागुऔषध, खाद्यात्र, सुनचाँदी, लत्ताकपडालगायतका सामग्री ओसारपसार हुनेगरेको बताउँदै उनले यसलाई रोक्न आफूहरु योजनाबद्ध रुपमा अगाडि बढिरहेको उल्लेख गरे।

तस्करी रोक्न यसअघि पहल भएपनि पूर्णरुपमा प्रभावकारी हुन नसकेको उनको भनाइ थियो। सामान ओसारपसार गर्ने व्यक्ति मुख्य कारोबारी नरहेकोले तस्कारी नियन्त्रण गर्न समस्या देखिएको कार्कीले बताए। लागुऔषधको ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा अधिकारीसँग पटकपटक छलफल र सहकार्य भएपनि सफलता पाउन नसकिएको उनले बताए।

गत वर्ष १८ करोड ६४ लाख मुल्य बराबरको सामानसहित २ सय ८५ जनालाई पक्राउ गरिएको तथ्यांक उनले प्रस्तुत गरे।

प्रतिक्रिया