पत्रकारकाे मलामी !

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/Dayalsan_Nidhan.jpg

भैरहवा– रूपन्देहीलाई कार्य क्षेत्र बनाएर करिव दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार डायलसन अधिकारीको बुटवलको मगरघाटमा अन्त्येष्टि गरिएको छ । 

अन्त्येष्टिमा पत्रकार, प्रदेश सरकारका मन्त्री, सरकारी कार्यालयका प्रमुख, स्थानीय सरकार प्रमुख, सामाजिक अगुवाको उपस्थिति थियो । 

गत शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप, बक्साहामा गाडी दुर्घटनामा अधिकारीकोे निधन भएको थियो । 

आर्थिक बिटमा अगाडि

काठमाडौंबाहिर निश्चित बिटमा पत्रकारिता गर्न गाह्रो छ । किनकि हरेक मिडियाले प्रदेश वा जिल्ला तहमा एकजना रिपोर्टर नियुक्त गरेको हुन्छ । जिल्लाका सम्पूर्ण घटना, समाचार, तस्बिर, भिडियोको जिम्मेवारी उही एकजनामाथि मात्रै हुन्छ । त्यसैले निश्चित विषयमा मात्रै लेख्छु भन्न सम्भव छैन । 

तर पनि प्रदेश ५ को केन्द्र रूपन्देहीमा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारमध्ये अग्रपंक्तिमा थिए, अधिकारी । ल्यापटप, क्यामरा र रेकर्डरसहितको झोला बोकेर उनी मोटरसाइकलमा कुदिरहेका हुन्थे । स्थानीय पत्रकार भरत केसी भन्छन्, ‘प्रदेश ५ मा आर्थिक बिटमा डायलसन जतिको कलम चलाउने कमै छन् । नेपाली पत्रकारिताले एउटा असल, इमान्दार र मेहनती पत्रकार गुमाएको छ ।’

अक्षयकोष स्थापना

तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको प्रचारात्मक अभियानमा पूर्वी नेपालमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार जिप दुर्घटना भएको थियो । नगरपालिकाले अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । 
https://www.nicasiabank.com/

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले भने, ‘ नेपाल पत्रकार महासंघ रूपन्देहीसँगको समन्वयमा डायलसनजीको स्मृतिमा अक्षयकोष स्थापना गर्नेछौं ।’ 

नगरपालिकाले अधिकारीकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीको शिक्षामा सहयोग गर्ने भएको छ । 

पत्रकारका प्रिय 

पत्रकारहरूमाझ निकै प्रिय थिए, डायलसन । उनको निधनबाट गहिरो चोट पुगेको बताउँछन्, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईं । उनी भन्छन्, ‘शनिबार दुर्घटनाको खबर सुनेदेखि काम गर्नै सकिएको छैन ।’

देउराली पत्रिकाबाट पत्रकारिता सुरु गरेका अधिकारीले रेडियो लुम्बिनी, जनसंघर्ष पत्रिका, रेडियो नमस्ते, रेडियो नेपाल, बुटवल टुडे लगायतमा काम गरेका थिए । 
पछिल्लो समय रेडियो नेपालमा कार्यरत उनी रूपन्देहीमा असल, मेहनती र अत्यन्तै इमान्दार पत्रकारको पंक्तिमा गनिने बताउँछिन्, रेडियो नमस्तेमा लामो समय सँगै काम गरेकी पत्रकार रेखा भुसाल । 

एक्ला सन्तान डायलसनलाई गुमाउनु पर्दा उनका ८२ वर्षीय बुबा स्तब्ध छन् । श्रीमती चन्दा अधिकारी अझै पनि अर्धचेत अवस्थामा छिन् । उनका १५ वर्षीया छोरी र १२ वर्षीय छोरा छन् । 

प्रतिक्रिया