सुनसान सरकारी कार्यालयहरुमा श्रृंखलाबद्ध चोरी

/assets/plugins/bower_components/fileman/Uploads/Sunsan.jpg

काठमाडौं- कास्की प्रहरीले पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालयहरुमा श्रृंखलाबद्ध चोरीमा संलग्न ५१ वर्षीय किशोर थापालाई  नियन्त्रणमा लिएको छ। काठमाडौ-११ का थापा पोखराको वैदमाबाट पक्राउ परेका हुन्।

थापाले १ वर्षमा पोखरा महानगरपालिकाका ११ वटा वडामा चोरी गरेका हुन्। पोखरा महानगरपालिकामा ३३ वडा कार्यालय छन्। जसमध्ये थापाले एक तिहाई कार्यालयमा चोरी गरेको र अन्यमा पनि चोरी गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

सरकारी कार्यालयमा भएका चोरीका घटनाले स्थानीयमा त्रास फैलिएको थियो भने वडा कार्यालय प्रमुख, कर्मचारी तथा प्रहरीको मिलेमतो भएको भन्दै स्थानीयले शंका गरिरहेका थिए।

गत साउन २१ गते पोखरा महानगरपालिकाको वडा नम्बर–६ मा पुन चोरी भयो । वडा कार्यालयमा रहेका कम्प्युटर चोरी भएपछि कास्की प्रहरीले शुक्ष्म अनुसन्धान सुरु गरेको थियो।

नेपाल समयसँग कुरा गर्दै कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले भने, ‘एक वर्षमा पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालयहरुमा श्रृङ्खलाबद्ध चारीका घटना भएका रहेछन्।

यो घटनाले जनप्रतिनिधि तथा प्रहरीमाथी नै शंका बढि रहेको थियो। एक वर्षमा यति धेरै ठाउँमा चोरी हुनु र चोर फेला नपर्नुले कतै प्रहरीको मिले मतोमा वडाका कर्मचारी र जनप्रतिनिधी हरुले नै चोरेका त होइनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि थियो।’

उनले भने, ‘हामीले अनुसन्धान सुरु गरिसकेका थियौँ पुनः गत साउन २१ गते वडा नम्बर ६ मा फेरी चोरी भयो र हामीले आक्रामक रुपमा अनुसन्धानलाई अगाडि बढायौँ।

‘डिडक्टिभ मेथड’ प्रयोग गर्दा मुख्य अभियुक्त किशोर थापा नै रहेको खुल्यो र उनलाई हामीले पोखराको बैदमबाट पक्राउ गर्न सफल भयौँ।’

थापाले चोरी गरेका सामान खरिद गर्ने काठमाडौँ कलंकीस्थित कम्प्युटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीसमेत पक्राउ परेका छन्।

मकवानपुर थाहा नगरपालिका-१२ का ३६ वर्षीय रुपचन्द्र गोपाली चोरीका समान खरिद गरेपछि पक्राउ परेका हुन्। कास्की प्रहरीले रुपाली कलंकीमा रहेको कम्प्यूटर सोलुसनबाटै पक्राउ गरेको थियो।

वडा कार्यालय चोरीका मुख्य अभियुक्त किशोर थापा पटके चोर हुन्। उनी पटक पटक गरि चोरी मुद्धामा ८ वर्ष जेल सजाय भोगिसकेको कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेका थापाको साथबाट प्रहरीले तोसिवा ल्यापटप थान १, ल्यापटपको चार्जर थान १, सोनी क्यामरा थान १, चावी फोड्न प्रयोग गरिने  फलामको रड थान २, स्क्रु ड्राईभर थान १, कालो पञ्जा २ जोर, कालो माक्स थान १, बरामद गरेको छ 

थापाले चोरीका आरोप स्वीकार गरेका छन। प्रहरीसँगको वयानमा उनले   सरकारी कार्यालय तथा  वडा कार्यालयमाहरु साँझको समयमा सुनसान रहने र चोर्न सजिलो हुने भएकाले वडा कार्यालय चोरी गरेको बयान दिएका छन्।

निकै चलाखीपूर्ण रुपमा चोरी गरेका थापाले चोरी गर्नुअघि सीसी क्यामराको तार काटेर मात्र कार्यालय भित्र छिर्ने र अनुसन्धान असफल बनाउन कालो माक्स तथा पन्जा समेत प्रयोग गर्ने गरेको खुलेको छ 

श्रृंखलाबद्ध चोरीका घटना 

थापाले पोखरामा गत वर्ष २०७५ जेठ २ गते पोखरा महानगरपालिकाको वडा कार्यालय–१२ माटेपानीबाट एकथान कम्प्युटर तथा ७ सय नगद चोरी गरी सुरु गरेको चोरीको काम पछि लगातार ११ वटा वडा कार्यालयमा गरेका छन्।

०७५ साउन २७ गते वडा कार्यालय १५ कोलपाटनबाट कम्प्युटर तथा दान पेटिकामा रहेको १० हजार चोरी, मंसिर २९ गते वडा कार्यालय १४ खाल्टेमसिनाबाट दुई थान कम्पुटर तथा दुई थान सिपीयु चोरी, पुस १५  गते वडा कार्यालय २९ आदर्श चोकबाट चारथान कम्प्युटर तथा चारथान सिपीयु चोरी गरेका थिए।

त्यस्तै माघ ९ गते वडा कार्यालय ५ बाट दुईथान कम्प्युटर तथा दुई थान सिपीयु चोरी, फागुन २३ गते वडा कार्यालय १३ भद्रकालीबाट चारथान कम्प्युटर ४ थान, सिपीयु, २ थान प्रिन्टर्स लगाएत विधुतीय सामाग्रीको चोरी, चैत ९ गते वडा कार्यालय बाटुले चौरबाट सिपीयु ३ थान कम्प्युटर २ थान तथा ल्यापटप १ थान चोरी गरेका थिए।

त्यस्तै ०७६ वैशाख १८ गते वडा कार्यलय १९ लामाचौरबाट ल्यापटप एकथान, जेठ २२ गते वडा कार्यालय ३१ वेगनास तालबाट सिपीयु दुईथान, कम्प्युटर दुईथान तथा ल्यापटप १ थान चोरी, असार १३ गते बडाकार्यालय २५ हेम्चाबाट तिनथान कम्प्युटर दुइथान सिपियु, साउन २१ गते वडा कार्यालय ६ लेक साइटबाट दुइथान सिपीयु दुइथान कम्प्युटर  तथा एक थान सिसि क्यामेरा चोरी।

प्रहरीले वडा कार्यलयमा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्ने किशोर थापा चोरीका सामान किन्ने रुपचन्द्र गोपालीलाई बुधबार सार्वजनकीका गरोको हो। दुबै जनाको बडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखि थप अनुसन्धान  भैरहेको जनाएको छ।

यस विषयमा थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ।



प्रतिक्रिया