सहकारीलाई मर्जमा जान सरकारको दबाब

/assets/plugins/bower_components/fileman/Uploads/padmaaryal.jpg

काठमाडौं- भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई मर्ज गर्न प्रोत्साहित गर्न लागिएको बताएकी छन् । उनले चालू आर्थिक वर्षमा नतिजा आउने गरी सहकारीको मर्ज गरिने बताइन् ।

मन्त्रालयले बुधबार मन्त्री र सचिव तथा सचिव र महाशाखा प्रमुखबीच गरेको कार्यसम्पादन सम्झौता कार्यक्रममा मन्त्री अर्यालले सहकारीलाई थप नियमन र व्यवस्थित गर्न मर्ज गर्नैपर्ने बताइन् ।

उनले हदबन्दीभन्दाको बढीको जग्गाको लगत संकलन गर्न थालिएको पनि जानकारी दिइन् ।

"सार्वजनिक, सरकारी र गुठी जग्गाको व्यक्तिका नाममा राख्न नमान्दा सरकारी कर्मचारीले मानहानिको समेत मुद्दा खेप्नुपरेको छ, अब यस्ता जग्गालाई व्यवस्थित गर्न मन्त्रालयले सफ्टवेयर विकास गर्न लागेको छ, " मन्त्री अर्यालले भनिन् ।

साझा स्वास्थ्य सहकारी लि.को नाममा रहेका देशभरका जग्गाको लगत संकलन गर्न लागिएको पनि उनले बताइन्। मन्त्रालयसँग साझा स्वास्थ्यका नाममा कति जग्गा छ भन्ने अभिलेख छैन ।

सचिव गोपीनाथ मैनालीले मन्त्री र सचिव तथा सचिव र महाशाखाहरुसँग गरिएको कार्यसम्पादन सम्झौताले मन्त्रालयको कार्यसम्पादन थप प्रभावकारी हुने बताए ।
उनले महाशाखा प्रमुखले सचिवलाई र सचिवले मन्त्रीलाई मासिक कार्यसम्पादन प्रतिवेदन बुझाइने जानकारी दिए । यस्तै मन्त्रीले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउनेछन् ।
 



प्रतिक्रिया