एकै वर्षमा ५ हजार ७९५ ले गरे आत्महत्या

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/depress.jpg

काठमाडौं- मुलुकमा आत्महत्या गर्नेको संख्या करिब ९ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष ०७५/७६ मा देशभर ५ हजार ७९५ वटा आत्महत्याका घटना भएको नेपाल प्रहरीको तथ्यांक छ। जबकि आव २०७४/७५ मा यो संख्या ५ हजार ३१७ थियो।
 
प्रहरीले फुटकर ज्यान शीर्षकमा राखेको १२६५ को आत्महत्या वा हत्या खुलेको छैन । यो संख्या पनि जोड्ने हो भने आत्महत्या गर्नेको संख्या ७ हजार ६० पुग्छ ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशभरका तथ्यांक र घटनाको प्रकृति अध्ययन गर्दा आत्महत्याको मुख्य कारण आर्थिक दुरावस्था नै देखिन्छ।

बेरोजगारी, महँगी, आर्थिक अवस्थामा सुधार नआएको र सामाजिक असुरक्षाका कारण बढेको चरम निराशाले मानिसले आत्महत्या गरेको देखिएको पोखरेल बताउँछन्।
 
उनी भन्छन्, “तर, सामाजिक सञ्जालको दुरुपयोग, सामाजिक उत्पीडन, घरायसी झगडा, प्रेमसम्बन्धमा आएको जटिलता, दाइजो पनि आत्महत्याको कारण बनेको पाइएको छ।”

जटिल रोगको उपचार गर्न नसक्दा, महत्त्वाकांक्षा पूरा नहुँदा, सामाजिक मूल्य–मान्यता विपरीतका काममा संलग्न भएका व्यक्तिको गोपनीयता भंग हुने अवस्था आएपछि पनि आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ।

नेपालमा आत्महत्या कति भयावह हुँदैछ भन्ने त प्राकृतिक प्रकोप, सवारी दुर्घटनालगायतका भवितव्यमा परी ज्यान गुमाउनेको भन्दा आत्महत्याका कारण मृत्यु हुनेको संख्या एक तिहाइ बढी हुनुले प्रस्ट पार्छ। 

आव ०७५/७६ मा सवारी दुर्घटना, हावाहुरी, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट ५ हजार २४ को ज्यान गएको छ। 

आत्महत्याको प्रकृति

गत आर्थिक वर्षमा सबैभन्दा बढी ४ हजार ३२७ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने विष सेवन गरेर ज्यान फाल्नेको संख्या १ हजार ३२६ छ।
 
त्यस्तै अग्लो ठाउँबाट हाम फालेर ४८, नदी, खोला र पोखरीमा हामफालेर ३० जनाले आत्महत्या गरेका छन्। प्रहरीको आँकडाअनुसार २४ जनाले आफैंलाई जलाएका छन् भने १५ जनाले हतियार प्रयोग गरेर आत्महत्या गरेका छन्। आफैलाई करेन्ट लगाएर आत्महत्या गर्ने ४ जना र विस्फोटक पदार्थ पड्काएर एक जनाले आत्महत्या गरेका छन्।
https://www.nicasiabank.com/
 
नेपालमा ०७०/७१ मा ४५०४, ०७१/७२ मा ४३३२, ०७२/७३ मा ४६८०, ०७३/७४ मा ५१२४ र ०७४/७५ मा ५३१७ जनाले आत्महत्या गरेका थिए। आत्महत्याको दर बढ्दै गएको तथ्यांकले कतिपय मनोविद्हरुलाई नै चकित बनाएको छ । उनीहरु यो दर वृद्धि हुनुलाई समाजमा निराशा बढ्दै जानुको उपज मान्छन् । 

किन हुन्छ आत्महत्या?

चिकित्सक र मनोविद्हरु आत्महत्याको मुख्य कारण मानसिक नै रहेको बताउँछन्। उनीहरूका अनुसार विभिन्न कारणले मानिसमा आउने चरम निराशाले मानिस आत्महत्या गर्न उद्यत हुन्छ।
 
समाजशास्त्री दुर्खाइमले एक शताब्दीअघि नै आत्महत्याको सामाजिक सिद्धान्त प्रतिवादन गरेका थिए। उनका अनुसार मानिस जब आफ्नो सामाजिक समूहसँग संलग्न नभएको वा एक्लिएको अनुभव गर्छ तब उसमा आत्महत्याको जोखिम बढ्छ। समाजमा निश्चित सामूहिक नियम नभएको अवस्थामा पनि आत्महत्या बढी हुने उनले बताएका छन्।
 
पहिलेपहिले आत्महत्यालाई सामाजिक समस्याका रुपमा हेरिए पनि यो मानसिक समस्या हो भन्नेमा अधिकांश सहमत छन्। मेन्टल हेल्थ नेपालका अनुसार मानसिक रोगबाट पीडित व्यक्तिमा आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ।

मनोविज्ञ डाक्टर गोपीलाल न्यौपानेका अनुसार मानिसले जब आफू पटक–पटक असफल भएको अनुभव गर्छ तब उसमा आत्महत्याको सोच विकसित हुन सक्छ।

न्यौपाने भन्छन्, “समाजको ठूलो हिस्सामा डिप्रेसन छ, नेपालीको दैनिक जीवन सहज छैन, सामाजिक सुरक्षा र आशाको सञ्चार गराउने क्रियाकलाप भइरहेका छैनन्। यो निकै गम्भीर विषय हो।”

उनका अनुसार कुनै पनि व्यक्तिले जीवनमा आइपरेका समस्यासँग जुधेर अगाडि बढ्न सक्दैन तब उसमा निराशा र अवसादका लक्षणहरु देखा पर्न थाल्छन्। यस्तो निराशा बढ्दै जाँदा पनि मानिस आत्महत्या गर्छ।
 
उनी भन्छन्, “हामीकहाँ शिक्षाले अवसरको ढोका खोल्दैन, सामाजिक सुरक्षा दिन सरकार असफल छ। सडक, कार्यालय, घर सार्वजनिक स्थल कतै पनि आसलाग्दा गतिविधि छैनन्। आर्थिक कारणले दैनिक गुजारा धौ धौ छ। यस्ता कारणले पनि डिप्रेसन गराउँछ।”

मेन्टल हेल्थ नेपालका अनुसार डिप्रेसनका कारण आत्महत्या गर्नेको संख्या १५ देखि २० प्रतिशत छ। त्यस्तै स्क्रिजोफ्रेनियाका कारण पनि मानिसले आत्महत्या गर्छन्। आत्तिने रोगबाट पनि आत्महत्या गरेको देखिन्छ।

त्यस्तै व्यक्तित्वसम्बन्धी समस्या, लागूपदार्थ सेवन पनि आत्महत्याका कारण बन्न पुग्छन्।

प्रतिक्रिया