‘बडीमालिका’ स्वर्गको एक टुक्रा (तस्बिरसहित)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/badimalika.jpg

धनगढी – मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले देशका बिभिन्न ठाउँहरुबाट बडीमालिका माताको दर्शन गर्न जानेहरु यति बेला भिड लागेको छ।  

धार्मिक आस्थाको केन्द्र बडीमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा  हुने गर्दछ। त्यस दिन सबै तिर्थालुहरु बडीमालीकाको चुचुरोमा पुगिसकेका हुन्छन्। बडीमालिका जानेहरुको लस्करले यति खेर मालिका पुग्ने पहाडका बाटोहरु रङ्गीविरङ्गी देखिएका छन्। 

समुद्रिक सतहबाट चार हजार दुई सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुग्न सात दिनको पैदल यात्रामा हजारांै भक्तालुहरु यात्रामा निस्किएका छन्। झरी होस् कि जाडो तीर्थालुहरु मौसमको खासै परवाह गर्दैनन्। १४ हजार फीट उचाईमा बडीमालिकाको यात्रालाई दुष्कर मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट भुलिने तिर्थालु बताउँछन् ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा भगवान महादेवकी अर्धाङ्गीनी सतीदेवी होमिएर देह त्याग गरिसकेपछि महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर हिँड्दा मल्लागीरी पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवी उत्पत्ति भएको र पछि मालिकादेवी शक्तिपीठ बडीमालिकाका रुपमा स्थापित भएको बताइन्छ। 



बादल भन्दा माथि उचाईमा रहेको बडीमालिका अरू समयमा प्रायः सुनसान हुन्छ । ठाडो हेर्दैमा टोपी खस्ने भीर छ । त्यही भीरमा भारी बोकेर उकालो लाग्दै गरेका मान्छेहरुको लस्कर रहरलाग्दो देखिन्छ । सिमसिमे झरी होस या मुसलधारे पानी, त्यसैमा कठ्याङ्ग्रिदो जाडो, केही प्रवाह हुँदैन त्यहाँ पुगेकालाई। एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्कोतिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध पारेपछि त्यस्ता झरी र वर्षाले के नै मन कुँडाउन सक्थ्यो र ! 

बडीमालिका पुग्ने भीर यस्तो छ कि, बाटोमा एउटा मात्र पाइला राम्ररी अटाउँछ। अर्को खुट्टाको समन्वय नमिले चिप्लेर गुल्टिने सम्भावना रहन्छ। भीरमा हराइने, जंगलमा चिप्ला बाटामा पछारिँदै हिंड्नुपर्ने, ओरालो झर्ने बेलामा पनि बाटो पत्ता लगाउनै मुस्किल हुने गर्छ।

‘सडक नभए पनि केबलकार बनाइदिए जोखिमले भरिएको उकालो र ओरालो हिँड्नुपर्दैन थियो,’ दार्चुलाका ज्ञानेन्द्र सिंहले भने। स्थानीयबासी भने यो बाटो सजिलै हिँडिरहेका हुन्छन्, सायद अभ्यस्त भएर होला। पहिलोपटक पुग्नेलाई भने मुटुमा ढ्यांग्रो नै ठोकिन्छ। 



बडीमालिका दर्शन र पूजाका लागि पहिले राजा त्यसपछि प्रधानसेनापति जेठ महिनामै पुग्ने गर्थे। अहिले पृतनापति जेठमै पुग्छन्, तर हेलिकप्टरमा। ‘उनीहरू पनि पैदल पुग्ने भइदिएको भए सडक सुविधा सहज बन्थ्यो कि,’ सिंहले भने। 

बडीमालिका माईको दर्शनका लागि देश विदेशबाट थुप्रै तिर्थालु पुग्ने गर्दछन। विशेष गरी बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला हुम्ला, जुम्ला, कालिकोट, कैलाली, कंचनपुरबाट अत्यधिक तिथार्लु पुग्ने गर्दछन्। काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ। 



यसरी पुग्न सकिन्छ बडीमालिका 

बडीमालीकाको सौन्दर्य नियाल्न त्यति सजिलो भने छैन। धनगढीबाट बसको यात्रा गर्नुपर्छ। दोस्रो दिन सिलगढीदेखि बाजुराको तिपाडासम्म ५ घण्टाको जीप यात्रापछि जरङ्गामा बास बस्नु पर्दछ। र तेस्रो दिन करालीचौर हुँदै चौथो दिन बडीमालिकाको त्रिवेणी पुगिन्छ। पाँचौं दिन बडीमालिका मन्दिर आरोहण गर्न सकिन्छ। 

बडीमालिका जान ठूल्ठूला पहाड चढेर जानु पर्छ। उचाईमा भएका कारण तिर्थालु र पर्यटकको यात्रा कठिन हुने गर्छ। त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मन्दिरमा नुहाएर बडीमालिकाको दर्शन गर्ने परम्परा छ। मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास रहिआएको छ ।

बडीमालिकामाइको दर्शन गर्नाले मनले मागेको कुरा पुरा हुने धार्मीक विश्वास रहेको छ। जनैपूर्णिको अघिल्लो चतुर्दशीका दिन बडीमालिका लगायत बाजुरा जिल्लाका बढालेक, बुढीनन्दा, दुनालेक, शाहिमाण्डौ, भवानीमाण्डौ लगायतका क्षेत्रमा रहेका भगवतीका मन्दिरमा एकै साथ पूजा गरिन्छ। 



तिर्थालुहरुले चोखो तेलमा मात्र पाकेका खानेकुरा खाई यात्रा अवधिभर आधा दिन ब्रत बस्ने र भगवती कै ध्यान गर्ने गर्दछन्। भगवतीको ध्यान गर्दा दुखीलाई सुःख, निःसन्तानलाई सन्तान, अनि गरीबलाई धन लाभ हुने धार्मिक विश्वास छ। यहि विशेषता र आस्थाका कारण बडीमालिका भगवतीको दर्शनका लागि बाजुराका मात्र नभई अन्य जिल्लाका दर्शनार्थी पनि पूजाका लागि आउने गरेका पुजारी भानुभक्त पाध्यायले बताए।

यो क्षेत्र धार्मिक महत्वको मात्र नभई प्राकृतिक सुन्दरताले समेत भरिपूर्ण छ। यहाँ एक सय ४० भन्दा बढी जातका फूल, एक सय ३० जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, २२ वटा घाँसे मैदान, तीन वटा नदीको संगम रहेको पवित्र धाम त्रिवेणी र देशका दर्जनौं जिल्लाहरुलाई नियाल्न सकिने अग्ला–अग्ला हिमश्रृङ्खला रहेका छन्। जसले त्यहाँ पुग्नेलाई मन्त्रमुग्ध पार्ने गर्दछन्।



धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको गहना बडीमालिका क्षेत्रको विकासका लागि सरकारी पहल भने अझै भएको पाइँदैन। सुःख र खुसी प्राप्तीका लागि भन्दै दर्शनार्थीहरुले सुन चाँदी र अन्य बहुमुल्य गरगहना चढाउने गर्दछन। तर, ति समान सरकारी ढुकुटीमा भने गएको देखिँदैन। 

१४ हजार फिटभन्दा माथि रहेको बडीमालिका भगवतीको मन्दिरमा बैशाख पूर्णिमा अर्थात गंगादशहराका बेला पनि पूजा गरिन्छ। त्यस अवरमा नेपाली सेनाको विशिष्ट अर्थात सरकारी अधिकारीबाटसमेत पूजा  गर्ने गरिन्छ। 





















प्रतिक्रिया