मीमांसा : आत्माको खोजी कि पागलपन ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/mimansha_drama.jpg

दराजमा मनोविज्ञानका किताबको खात। नजिकै टेबलमाथि डाक्टर हरिहर सिग्देलको शव। उनको हत्या वा आत्महत्या स्पष्ट छैन। प्रहरीले निगरानी गरिरहेका छन्। अर्को कक्षमा डा. अतुल चौलागाईं गहिरो चिन्तामा छन्। 

डा. अतुल पटकपटक डा. हरिहरको शवसँग साक्षात्कार गर्छु भनेर जिद्दी गर्छन्। प्रहरी जवान उनलाई सम्झाउन खोज्छन्। डाक्टर अतुल हरिहरसँग कुरा गर्छु भन्न छाड्दैनन्। उनी घटना अध्ययन गरिरहेका इन्स्पेक्टरलाई आफू डा. अतुलसँग सम्मोहनका माध्यमबाट कुरा गर्न सक्ने बताउँछन्। तर, सम्मोहनको प्रयास भने असफल हुन्छ। डा.अतुल आफूले सत्य बोलिरहेको दाबी गर्छन्। प्रमाणस्वरूप डा. हरिहरको नोटबुक हेर्न प्रयास गर्छन्। इन्स्पेक्टरले उक्त नोटबुक भेट्टाउँछन्। 

दुवै डाक्टर एउटा ‘मिमांसा’ को खोजीमा छन्। उनीहरूको उद्देश्य हो आत्माको खोजी गर्नु। यसका लागि एकतर्फ अध्ययन भइरहेको छ भने अर्कोतर्फ उनीहरू मनोरोगीको उपचारमा छन्। निरीक्षणका क्रममा उनीहरूले एउटा यस्तो बिरामी भेट्टाउँछन्, जसले उसकी बितेकी श्रीमतीसँग साक्षात्कार गरेको भान उनीहरूलाई हुन्छ। 



आत्मासँगको साक्षात्कार सम्भव हुन सक्छ कि भन्ने क्रममा डाक्टर हरिहरले आफ्नै सहायक डाक्टर अतुलमा सम्मोहन प्रयोग गर्छन्। सम्मोहनका क्रममा उनको साक्षात्कार अतुलकी श्रीमतीको आत्मासँग हुन्छ जो धेरै वर्षअघि बितिसकेकी छिन्। मञ्चमा उनलाई नदेखिए पनि नेपथ्यमा उनको आवाज सुनिन्छ। 

नाटकमा आत्माको खोजी झन् रहस्यमयी बन्न पुग्छ। सम्मोहनपछि अतुलकी श्रीमतीको आत्मा वा अतुलको सुषुप्त चाहना प्रकट भएका हुन् भन्ने स्पष्ट हुँदैन। 

दोस्रो पटकको साक्षात्कारमा जसको आत्माले मुक्ति पाएको हुँदैन, उनीहरू त्यसरी नै रुमलिन्छन् भन्ने पत्ता लाग्छ। डा. हरिहर आत्मालोकमा आफू जस्तै कोही मान्छे आए हुने भन्छन्। तेस्रो पटकको साक्षात्कार अझ छोटो हुन्छ। नाटकमा अतुलकी श्रीमतीको आत्माले अरू आत्मासँग सात्क्षात्कार गर्न नदिएका कारण डा. हरिहर आफैं मृत्यु रोजेर आफ्ना सहायकलाई अरू कोहीलाई सम्मोहनमा पारी बोलाउन आदेश दिन्छन्।
 
मृत्युवरण गरेका हरिहरको आत्मालाई अतुल बोलाउन सफल हुन्छन् त ? अनि उनीहरूको खोज सफल हुन्छ ? यी दुवै जिज्ञासाको उत्तर पाउन ‘मीमांसा हेर्नैपर्ने हुन्छ। 

नाटकको प्रारम्भमा पात्रहरूको भूमिका अनुसन्धान कार्यमा सीमित हुन्छ। यस्ता दृश्यले दर्शकको आकर्षित हुन सक्दैनन्। 

अर्को पक्ष नाटकमा नारीको उपस्थिति छैन। डाक्टर हरिहरको मृत्युको कारण अर्को डक्टरको श्रीमती भनिएको छ। तर नाटकमा महिलाको प्रत्यक्ष उपस्थिति छैन। कतै यो फेरि पनि हाम्रै अवचेतनमा रहेको पितृसत्ताकै अवशेष त हैन ? किन डक्टरकी श्रीमतीले मुक्ति पाएकी छैनन् ? के उसको योग्यता परमात्मासँग मिल्ने छैन ? यलाई हामीले कसरी हेर्ने ?



शंकर लामिछानेको कथा ‘आत्माको मीमांसा’ मा आधारित ‘मीमांसा’ मा नाटकमा पात्रहरूको अभिनय अब्बल छ। कलाकार सुनिल पोखरेलको टिम प्रभावकारी रुपमा जमेको छ। निर्देशकीय कलामा प्रवीण खतिवडाको आलोचना गर्ने ठाउँ धेरै छैनन्। 

सन् २६ मार्च १९९७ मा अमेरिकास्थित सान डियागो काउन्टीमा सेरिफहरूले ३९ जनाको शव भेटे। अनुसन्धान गर्दै जाँदा मार्सल एप्पल ह्वाइट र बोनी नेटल्सले स्थापना गरेको हेभन गेट नामक धार्मिक सम्प्रदायले स्वर्ग जाने नाममा विष सेवन गरेर आत्महत्या गरेका रहेछन्। 

नाटकमा डाक्टर मृतात्मा भेट्नलाई आत्महत्या गर्छन्। नाटक र माथिको घटनामा समानान्तर के छ भने दुवै नियोजित हुन्। आत्महत्यालाई हामीले कसरी लिने ? नाटकले यसको उद्घाटन गर्दैन। रहस्यको पत्रैपत्रमा प्रश्न छाडेर अन्त्य हुन्छ।





प्रतिक्रिया