लुम्बिनी गुरुयोजना ८२ प्रतिशत पुरा 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/lumbini.jpg

भैरहवा – चार दशकदेखि चर्चामा रहेको लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पुरा भएको लुम्बिनी विकास कोषको बोर्ड बैठकले निश्कर्ष निकालेको छ।

बोर्डका अध्यक्षसमेत रहेका नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको कोषका सदस्य सचिव सरोज भट्टराईले बताए।

उनले भने, ‘राति अबेरसम्म बसेको बैठकले गुरुयोजनाको विषयमा गम्भीर छलफल गरी ८२ प्रतिशत काम सम्पन्न भएको निश्कर्ष निकालेको छ। यसको अन्तिम निष्कर्ष भने कन्सलट्यान्सीले दिन्छ । ’

बैठकमा प्रा.केन्जो टांगेको गुरुयोजना, बृहत्तर लुम्बिनी क्षेत्रको विकास कसरी गर्ने, लुम्बिनी क्षेत्रमा भएका उत्खनन कार्यलाई कसरी प्रभावकारी र विश्वसनीय बनाउने, चार्जिङ स्टेशनलाई कसरी उपयोग गर्ने, लुम्बिनीमा पर्यटकको बसाई कसरी लम्ब्याउने लगायतका प्रस्तावमाथि छलफल भएको थियो।

बैठकमा कोषका अध्यक्ष समेत रहेका मन्त्री भट्टराईले लुम्बिनीको विकासकोलागि सबै कार्यकारणी समिति एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए।

बैठकमा बृहत्तर लुम्बिनी गुरुयोजना कामकालागि करिब २ सय अर्ब रकम आवश्यक पर्ने र त्यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो। सदस्यसचिव भट्टराईका अनुसार बृहत्तर लुम्बिनी गुरुयोजना अन्तर्गत रामग्रामकोलागि जग्गा खरिद सहित ७ अर्ब १९ करोड, तिलौराकोटमा जग्गा खरिदकोलागि मात्रै ५ अर्ब, त्यसैगरी देवदह, सैनामैना, लुम्बिनीक्षेत्रमा २३३ वटा पुरातात्विक क्षेत्रको उत्खनन गर्न, पहिचान गर्न, विकास गर्न र संरक्षण गर्न उक्त रकम खर्चिने बताइएको छ। 

मन्त्री अध्यक्ष हुने कोषमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिव पदाधिकारी र  ५ जना कार्यकारीणी सदस्य रहने व्यवस्था छ। विगत २ बर्षदेखि सदस्यसचिवको जिम्मेवारी योजना अधिकृतले नै हेर्दै आएका छन्। कोषको कार्यकारीणी समिति राजनीतिक नियुक्तीका आधारमा हुने गर्दछ।
 
कोषको बैठकमा पहिलो पटक मुख्यमन्त्री र प्रदेश मन्त्री

लुम्बिनी विकास कोषको बोर्ड बैठकमा पहिलो पटक प्रदेश सरकारका मुख्यमन्त्री र पर्यटन मन्त्री सहभागी भएका छन्। संघीय सरकार अन्तरगत पर्ने लुम्बिनी विकास कोषसंग प्रदेश सरकारको समन्वय र सहकार्य नभएको भनि बारम्बार चर्चा चलिरहेको बेला नवनियुक्त मन्त्री भट्टराईले कोषको पहिलो बैठकमा नै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र पर्यटन, उद्योग, बन तथा वातवरण मन्त्री लिला गिरीलाई आमन्त्रीत सदस्यको रुपमा आमन्त्रण गरिएको थियो। बैठकमा मुख्यमन्त्री पोखरेल र मन्त्री गिरीले लुम्बिनीको विकासकोलागि प्रदेश सरकारले सदैव महत्वपूर्ण रुपमा सहयोग गर्ने बताएका थिए।




प्रतिक्रिया