सहकारीमा लागू भएको सन्दर्भ ब्याजदर स्थगित गर्न माग

/assets/plugins/bower_components/fileman/Uploads/nepalsamaya.jpg

फाइल तस्बिर

काठमाडौं- काठमाडौंका सहकारीहरुले अहिले लागू भएको सन्दर्भ ब्याजदर तत्काल स्थगित गर्न माग गरेका छन्।

विहीबार जिल्ला सहकारी सँघले आयोजना गरेको सहकारीमा सन्दर्भ ब्याजदर विषयक अन्तक्र्रियामा सहभागि भएका ११ सयभन्दा बढी सहकारीकर्मीहरुले सन्दर्भ ब्याजदर लागू भएपछि धेरै सहकारीहरु समस्यामा पर्ने भएकोले ब्याजदर तत्कालको लागि स्थगित गर्न माग गरेका हुन्।

कार्यक्रममा सहकारीकर्मीहरुले यसरी सन्दर्भ ब्याजदर समय नै नदिई अपर्झट लागू गरिँदा सहकारीमा ठूलो समस्या आउने दाबी गर्दै सहकारी अभियानको भूमिका कमजोर भएको आरोप लगाए।

उनीहरुले ग्रामीण भेगका सहकारी र सहर केन्द्रित सहकारीको ब्याजदर फरक फरक गर्नुपर्ने, ब्याजदर तत्काल लागू नगरेर केही समय दिइनुपर्ने, कम्तीमा लघुवित्तको ब्याजदर सरह ब्याज कायम गर्नुपर्ने लगायतका माग राखेका थिए।

कार्यक्रममा सहकारी महासँघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेले अहिलेको सहकारी ऐन नियम र कानुनले कुनै पनि हालतमा १६ प्रतिशत भन्दा बढीको ब्याजदर तोक्न नमिल्ने स्पष्ट पारे। उनले भने, ‘सहकारी संस्थाहरुबाट नमुनाको रुपमा लिइएको ब्याजदर नै कम आएकोले सोही आधारमा टेकेर ब्याजदर निर्धारण गरेको हो।’

उनले भने, ‘राष्ट्रिय सहकारी महासँघले साढे १७ प्रतिशत ब्याजदर कायम गर्नुपर्छ भनेर अडान राखेको हो तर सबैले पठाएको ब्याजदर १६ प्रतिशत भन्दा कम नै थियो मैले कुन आधारमा अडानलाई टिकाइ राख्ने ? त्यसैले १६ प्रतिशतमा सहमत गर्न बाध्य भएको हुँ। धेरैपटक यो ब्याजदर ठिक छैन भनेर मैले असहमति जनाएको थिए तर अल्पमतमा परिएकोले सहमति गरेँ।’

त्यसैगरी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सँघ (नेफ्स्कुन) का अध्यक्ष डिवी बस्नेतले आफूले एक सय ७५ वटा सहकारीहरुको ब्याज नमुनाको रुपमा सङ्कलन गर्दा ति सहकारीहरुको ब्याजदर १४ प्रतिशत भन्दा बढी नभएकोले नेफ्स्कुनको तर्फबाट सोही ब्याजदर सिफारिस गरेको स्पष्ट पारे।

उनले पाँचपटक मिटिङ भएपछि अभियानको तर्फबाट सन्दर्भ ब्याजदर तोक्न रोकिएको भन्ने गुनासो आयो, त्यसैले बाटो फुकाउन पनि सहमति गर्न बाध्य भएको बताए।

‘सहकारी अभियानले एउटा सहमतिमा पुगेर म्यान्डेड दिनुहोस्, सोहीे म्यान्डेड बोकेर पुन समितिमा गएर छलफल गर्छौँ’ उनले भने।

उनले सो समितिमा छलफलका लागि बहुद्देश्यीय केन्द्रीय सहकारी सँघले १६.६ प्रतिशत, नेफ्स्कुनले १४.६२ प्रतिशत, सहकारी बैंकले १३.९ प्रतिशत र वाणिज्य बैंकहरुको १२.२३ प्रतिशत ब्याज रहेको थियो भने राष्ट्रिय सहकारी महासँघले १७.५ प्रतिशत कायम गर्नको लागि सिफारिस गरेको स्पष्ट पारे।   

उनले प्राविधिक समितिले हिसाब गरेर निकाल्दा १४.७२ निस्कियो त्यसमा हामीले  सहमति गरेनौँ, तर पछि बाध्य बनाइयो र १६ प्रतिशतमा सहमत भएको हो।‘सेवा शुल्क २ प्रतिशत लिने र पहिलेको ऋणको हकमा निरन्तरता दिने भन्ने माग हाम्रो हो।’ बस्नेतले भने।

बहुद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी अभियानका अग्रजहरुले सहकारी नाफा खान हुँदैन भनेर लविङ गरेको र सोही सुझाब अनुरुप १६ प्रतिशत ब्याजदर तोकिएको स्पष्ट पारे।

उनले सहकारी ऐन र नियममा नै समस्या भएकोले पहिले यसलाई परिवर्तन गर्नुपर्ने बताए।



प्रतिक्रिया