फेरि ह्वात्तै घट्यो शेयर मार्केट

/assets/plugins/bower_components/fileman/Uploads/nepse.jpeg

काठमाडौं- केही दिनयता सन्तोषजनक रुपमा बढेको शेयर मार्केटमा फेरि भारी गिरावट आएको छ।

केन्द्रीय बैकको नयाँ निर्देशन र पूँजीगत लाभकरको विवादका कारण यो साता २५.२८ अंकले गिरावट आएको हो।

गत बिहीबार १२६३.८४ अंकबाट सुरु भएको बजार साताको अन्तिम दिन १२३८.५६ अंकमा झर्यो।

साताको अन्तिम दिन बजार ९.९२ अङ्कले घटेपछि सूचकमा थप दबाब परेको हो। 

साताको सुरुमा पूँजीगत लाभकरको दबाब परेको बजारलाई साताको अन्त्यमा केन्द्रीय बैकको निर्देशनले प्रभावित बनाएको इन्भेष्टरहरुको बुझाई छ।

साताको सुरुमा पूँजीगत लाभकर सुल्झिन नसक्दा लगानीकर्ता दबाबमा परेका थिए।

साताको मध्येतिर अर्थ मन्त्रालयले पूँजीगत लाभकरको विषय टुङ्ग्याउन नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएपछि लगानीकर्ता केही उत्साही देखिएका थिए।

तर केन्द्रीय बैकले दिएको निर्देशनले नाफामा २५ प्रतिशशत गिरावट आउने अनुमान गरिएपछि लगानीकर्ताको मनोबल घटेको थियो।

बिहीबार १६६ कम्पनीका १८ लाख ७७ हजार कित्ता शेयर ४५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ।

सबैभन्दा बढी रसुवागढीको नौ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

कारोबार रकमकै आधारमा सान्जेन जलविद्युत कम्पनी दोस्रो भएको छ।

यो कम्पनीको पाँच करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

दुवै कम्पनीको शेयर कारोबार रकम बढी भए पनि मूल्य भने घटेको छ। रसुवागढीको शेयर मूल्य करिब १० प्रतिशत घट्यो भने सान्जेनको मूल्य करिब पाँच प्रतिशत घटेको छ। 

कारोबारमा आएका सबै उपसूचकमा घटेका छन्।

यसरी ओरालो लाग्ने कारोबारमा जलविद्युत उपसूचक २.७४ प्रतिशतले घटेको छ भने लघुवित्तको उपसूचक १.३२ प्रतिशतले घटेको छ।



प्रतिक्रिया