प्रदेश २ मा डिएसपीसहित २८० प्रहरी कारबाहीमा

/assets/plugins/bower_components/fileman/Uploads/pradesh_prahari_karyalay.jpg

जनकपुरधाम- प्रदेश २ मा विभित्र तहमा कार्यरत २ सय ८० प्रहरी कारबाहीमा परेका छन्। आचरण र सङ्गठन हित विपरित काम गरेको भन्दै एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित २ सय ८० प्रहरी विभागीय कारबाहीमा परेका हुन्।

विभागीय नियम विपरित र अमर्यादित क्रियाकलाप गर्ने प्रहरीलाई विभागीय कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। राम्रो काम गर्नेलाई तत्काल पुरस्कार र नियम विपरित काम गर्नेलाई दण्डित गर्ने नीतिअन्तर्गत २०७५/०७६ मा उनीहरु कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए।

मादक पदार्थ सेवन, सङ्गठनप्रति गैरजिम्मेवार र कर्तव्य पुरा नगर्नुका साथै अमर्यादित क्रियाकलाप गरेको भन्दै अधिकांश तल्लो तहका प्रहरी विभागीय कारबाहीमा परेको महतोको भनाइ छ।

प्रदेश २ को आठ जिल्लाबाट एक प्रहरी नायब उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायब निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी नियम विपरित काम गर्ने तीनजना नायब निरीक्षकसहित १४ जनालाई विभागले सचेत गराएको छ भने तीन प्रहरी निरीक्षकसहित १ सय ४० जनालाई नसिहत दिइएको छ। कार्यालयले जनाएअनुसार विभित्र दर्जाका २१ जना प्रहरीको ग्रेड घटाइएको छ भने १२ जनाको ग्रेड रोक्का गरिएको छ।

यसैगरी २४ जना प्रहरीको सुरुको स्केल घटाइएको, ११ जनाको बढुवा रोक्का गरिएको, १८ जनालाई सेवाबाट हटाइएको, ३१ जनालाई निलम्बन र ९ जनालाई स्वतः निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

यस अवधिमा सङ्गठनको अनुशासन विपरित काम गर्ने कारबाहीमा परेका छन् भने राम्रो काम गर्नेलाई विभागले पुरस्कृतसमेत गरेको छ। राम्रो काम गरेको भन्दै एक वरिष्ठ प्रहरी उपरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायब निरीक्षक, ३५ प्रहरी सहायक निरीक्षक, ६२ हवल्दार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगी पुरस्कृत भएको प्रवक्ता महतोले बताए।

प्रदेश २ मा विगतको भन्दा विभागीय कारबाहीमा पर्ने प्रहरीको सङ्ख्यामा कमी आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयले कारबाहीमा पर्ने प्रहरीको सङ्ख्यात्मक विवरण दिए पनि नाम भने खुलाएको छैन ।



प्रतिक्रिया