किन दाहाल पूर्वराजाभित्र शत्रु खोज्दैछन् ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/prachanda_gyanendra.jpg

काठमाडौं- पुष्पकमल दाहाल सत्तारुढ नेकपाका अध्यक्ष मात्रै होइनन् अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीपछिका शक्तिशाली नेता पनि हुन्। 

मुलुकको कार्यकारी जिम्मेवारी बहन गरिसकेका शक्तिका खेलाडी दाहालको राजनीतिक हैसियतका कारण पनि उनका अभिव्यक्ति चासोका विषय हुन्छन् सर्वसाधारणसम्मका लागि। 

तर बेलाबेलामा उनले दिने अभिव्यक्ति निकै कमजोर मात्र हैन विवादास्पद पनि हुन्छन्। पछिल्लो समय उनले दिएका अभिव्यक्तिकाे व्यापक आलाेचना भइरहेको छ। 

पहिलो, ‘हेग लगे हिरो बन्थें’ र दोस्रो ‘पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जनुबाट लखट्ने’ चेतावनी। 

‘हेग लगे हिरो हुन्छु’ भन्ने उनको अभिव्यक्तिले मिडियामा राम्रै ‘स्पेस’ पायो तर, मजाकको विषयका रुपमा। बरु हेगस्थित अन्तर्राष्ट्रिय युद्ध अदालतबारे थाहा नपाएका विद्यार्थीले भने थोरै भए पनि जानकारी पाए। यहाँनिर बुझ्नुपर्ने के हो भने हेगमा युद्ध अपराधीलाई लगिन्छ न कि हिरो वा नायकलाई।

केहीले सत्य निरूपण तथा मेलमिलाप आयोग नेतृत्वमा आफूले चाहेको व्यक्तिलाई नियुक्त गर्ने सहमतिबाट उत्साहित भएका दाहालले यस्तो अभिव्यक्ति दिएको विश्लेषण गरे।

मुलुकमा संघीय गणतन्त्रात्मक व्यवस्था ल्याउनमा कांग्रेस र तत्कालीन माओवादीको ठूलो भूमिका छ। कांग्रेसले अगुवाइ नगरेको भए विद्रोही माओवादी शान्ति प्रक्रियामा आउने थिएन। तत्कालीन एमाले जो अहिले सत्ताको मुख्य केन्द्रमा छ, उसको ठूलो समूह विद्रोहीलाई दबाउने नीतिमा थियो त्यतिबेला। 

द्वन्द्वकालमा मानवअधिकार उल्लंघनका घटना हुनुमा त्यतिबेला सत्तामा रहेको कांग्रेस र विद्रोही माओवादी जिम्मेवार रहेको तथ्य जगजाहेरै छ। 

अतः संक्रमणकालीन न्यायका सन्दर्भमा दाहाल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एकै कित्तामा उभिन्छन्। किनकि उनीहरू दुवैलाई आफू वा आफू निकट व्यक्तिहरु युद्ध अपराधी घोषित होलान् भन्ने त्रास छ।

दुवै नेता सकेसम्म संक्रमणकालीन न्यायिक प्रक्रियालाई टुंगोमा पुर्‍याउन चाहँदैनन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पछिल्लो पाँच वर्षका गतिविधिले यही पुष्टि गरेको छ। 
 

एउटा दुष्मन खोजेर त्यसलाई गाली गर्नै पर्ने कम्युनिष्ट परम्परा निर्वाह गर्नकै लागि दाहालले पूर्व राजालाई तारो बनाएका हुन सक्छन्।



अहिले आयोगहरूमा नयाँ नियुक्ति प्रक्रिया पनि दलीय भागबन्डामा भयो भने आफूलाई हेग लैजाने बाटो बन्द हुने दाहालको बुझाइ हुनसक्छ। दुवै आयोगमा तत्कालीन माओवादी र कांग्रेसका मान्छेलाई नियुक्त गर्न ओली सरकार सहमत भएको बुझिएको छ।

युद्ध अपराधीलाई हेग लैजान न नेपालका केही अधिकारकर्मीले बुझेजस्तो सजिलो छ न दाहालले भाषण गरेजस्तो हिरो बन्न। यसका आफ्नै विधि र प्रक्रियाहरू छन्। 

दोस्रो, पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट लखट्ने दाहालको चेतावनी। पूर्वराजा ज्ञानेन्द्र सामान्य नागरिकका रूपमा छन् यतिबेला। 

शान्तिपूर्ण रूपमा देशका विभिन्न ठाउँमा भ्रमण गर्न र अभिव्यक्ति दिन उनलाई वर्तमान संविधानको कुनै प्रावधानले बन्देज लगाएको छैन। उनको अभिव्यक्तिले कुनै दल वा व्यक्ति विशेषको मानमर्दन गरेको पनि देखिँदैन। 

न त उनीमाथि युद्ध अपराधको आरोप छ। द्वन्द्वकालीन घटनामा उनीमाथि दोष लगाउने आधार पनि छैन। हो, उनले केही समय नेपालको कार्यकारी अधिकार लिए। तर कुनै तानाशाहीको जस्तो दमन गरेर सत्तामा बसिरहेनन्। २४० वर्षदेखि शाहवंशले गरिरहेको राजकाज शान्तिपूर्ण रूपमा नेपाली जनतालाई हस्तान्तरण गरेर उनले उदाहरणीय बन्ने प्रयास गरे। 

पूर्वराष्ट्र प्रमुखका हैसियतमा बेलाबेलामा उनले समसामयिक विषयमा चासो देखाउनु अस्वाभाविक हैन। यसैलाई आधार बनाएर दुई तिहाइ जनमत प्राप्त नेकपाका अध्यक्षद्वयमध्येका एक दाहाल
किन उत्ताउलो बने त? 

एक, सरकार अलोकप्रिय बन्दै जानु। अध्यक्ष दाहालको पार्टी दुई तिहाइ बहुमतसहित सरकारमा छ। सरकारले कुनै निर्णय गर्न र कार्यान्वयन गर्न ठूलो अवरोध कतैबाट छैन। तर पनि सरकारले जनअपेक्षा पूरा गरिरहेको छैन। 

होली वाइन काण्ड, निर्मला हत्या काण्ड, साढे ३३ किलो सुनकाण्ड, यातयातमा सिन्डिकेट, भारतबाट आयातित तरकारी र फलफूलको परीक्षण जस्ता मुद्दामा वर्तमान सरकार विफल भयो। 
भ्रष्टाचार रोकिएन। महँगी बढ्दा जनताको ढाड सेकियो। सुशासन र पारदर्शिता नेताको भाषणमै सीमित छ। 

अर्कोतिर, नेताहरूको जीवनशैली झन् विलासी भएको छ। नेताको कार्यशैलीले जनता वाक्कदिक्क छन्, नेताहरु निकै आलोचित छन्।

यस्तो अवस्थामा दाहालले कसको आलोचना गरुन् त ? कांग्रेसको? आफ्नै आन्तरिक कारणले प्रतिपक्षीको भूमिका समेत निर्वाह गर्न नसकेको कांग्रेसको आलोचना गर्न उनीसँग कुनै एजेन्डा नै छैन। आफ्नै दलको आलोचना गर्ने कुरा आएन। भारत र अमेरिकाको आलोचना गर्दा फेरि सत्ता र शक्तिमा पुगिन्न भन्ने भय छ। 

त्यसैले जनताका अगाडि ‘हिरो’ बन्न केही न केही बोल्नैपर्‍यो। 

त्यसैले उनले आलोचना गर्ने ‘उपयुक्त पात्र’ पूर्वराजा ज्ञानेन्द्रलाई देखे। पूर्वराजालाई जथाभावी भन्दा जनताबाट सहानुभूति पाइन्छ भन्ने उनमा भ्रम छ। 

त्यही भ्रमका कारण दाहालले केही दिनअघि रामेछापमा आयोजित कार्यक्रममा ‘पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट धपाउने’ चेतावनी दिएका हुन्।

दुई, नेपालमा राजतन्त्र समर्थकको जमात पनि छ। पुराना पञ्चहरू मात्रै होइन, नेपाली कांग्रेसको एउटा कित्ता र कम्युनिस्ट पार्टीका केही उच्च नेताहरू ‘हिन्दू राष्ट्र र राष्ट्रिय एकता लागि राजसंस्था चाहिन्छ’ भनी घुमाउरो पाराले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन्। छिमेकी भारतमा नरेन्द्र मोदीको दोस्रो इनिङसँगै उनीहरुमा एक किसिमको उत्साह थपिएकै छ। 

पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारसप्रति नकारात्मक भए पनि पूर्व युवराज्ञी हिमानी र उनका सन्तानप्रति उदार भाव राख्ने जनता धेरै छन्। पछिल्ला दिनमा हिमानीका गतिविधिप्रति सर्वसाधारण र मिडियाको चासोले पनि यसलाई पुष्टि गर्छ। त्यसैले हिमानीका गतिविधि दाहालका लागि टाउको दुखाइ बनेको हुन सक्छ। 

यद्यपि, नेपालको अहिलेसम्मको राजनीतिक ‘कोर्स’ उल्टो फर्केर राजतन्त्र आउने सम्भावना टाढा टाढासम्म पनि देखिँदैन।

कुनै न कुनै स्थायी दुश्मन खोज्नै पर्ने र त्यसलाई गाली गर्नै पर्ने कम्युनिस्ट परम्परा निर्वाह गर्नकै लागि दाहालले पूर्व राजालाई तारो बनाएका हुन सक्छन्। तर, यसबाट उनको हैसियत कसै गरी पनि बढेको छैन। हिरो बन्न गाली वा हिंसा होइन सत्कार्य गर्नुपर्छ।




प्रतिक्रिया