तम्घासमाथि रेसुंगाको शिर (फोटो फिचर)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/resunga-copy_1.jpg

भैरहवा - तम्घासमाथि रेसुंगाको वन, सँगै हुन पाइएन निर्मया, न्याउली सरी रुन्छ मेरो मन ।।

गायिका मुना थापा र गायक सन्तोष केसीको स्वर रहेको उक्त गीतले केही वर्षअगाडि लोकदोहरी गीत मन पराउनेहरुको मनमा कब्जा जमाएको थियो ।
 
न्याउली सरी रुन्छ मेरो मन भन्ने गीति एल्बममा समेटिएको उक्त गीत मायाप्रेममा आधारित भए तापनि प्राकृतिक दृष्टिले अत्यन्तै मनोरम सुन्दर बजार तम्घासमाथि रहेको रेसुंगाको वनलाई शब्द शब्दमा जोड दिएको छ । 

यसैगरी तीन दशकअगाडि गायक/कवि भेषबहादुर कुँवर (प्रयासी) ले गाएको गुरदुमको भीरैमा.... भन्ने गीतले पनि रेसुंगाको चर्चा गरेको थियो । 

उक्त ठाउँको राष्ट्रिय कलाकार तथा कविले मात्रै होइन बेलाबेला राष्ट्रिय राजनीतिमा स्थापित नेताहरुले पनि चर्चा गर्ने गरेका छन् । 

समुद्री सतहदेखि २ हजार ३ सय ४७ मिटर उचाइमा रहेको रेसुंगा शिखरको पूर्वतर्फ माछापुच्छ्रे र धौलागिरी हिमालको सेताम्य हिमशृंखला, तल काखमा तम्घासको बजार छ। एकातर्फ साउने र चौताराको जंगल अनि भाडागाउँको सुन्तलाबारीको मनोरम दृश्य जति हेरे पनि अघाइँदैन। 



ऐतिहासीकता

रेसुंगाको जंगलमा तपस्यारत शशिधर स्वामीका बारेमा सुनेपछि १८५० को दशकमा तत्कालीन श्री ५ रणबहादुरले स्वामीलाई काठमाडौं बोलाएका थिए । रणबहादुरले स्वामी शशिधरको दर्शन पछि आफू उसै दिनदेखि शिष्यका रुपमा रहने बताएको इतिहासमा उल्लेख छ । जोसमनि सन्त परम्पराका प्रवर्तक मानिने शशिधर स्वामीपछि लक्ष्मीनारयणले उक्त ठाउँमा तपस्या गरेका थिए । 

लक्ष्मीनारायणले तपस्या गर्दा श्री ३ जंगबहादर राणा रेसुंगा पुगी उनीसँग आशीर्वाद लिएको इतिहासमा उल्लेख छ। पछि छविलाल, ठाकुरप्रसाद, कमलापतिले तपस्या गरे । उनीहरुको देहवासपश्चात केही वर्ष रेसुंगामा सुनसान भयो । पछि १९५० मा कालीमाटी काठमाडौंमा जन्मिएका यदुकानन्द रिजालले तपस्या गरे । उनको तपस्याबाट प्रभावित भई तत्कालीन श्री ३ जुद्ध शमसेरले त्यतिबेला रेसुंगामा दैनिक सयौं ब्राह्मणद्वारा वेदपाठ, हवन, पुराणवाचन गराए । 




इतिहासका जानकारसमेत रहेका स्थानीय बासिन्दा शेरजंगबहादुर बस्नेत भन्छन्, ‘प्रभु यदुकानन्दको पालामा रेसुंगामा सिंहदरबारजस्तै चहलपहल भएको इतिहासमा उल्लेख छ । समय कालक्रममा रेसुंगामा जंगबहादुरदेखि बिपीसम्मका देशका मुख्य हर्ताकर्ताहरु रेसुंगा आएको देखिन्छ ।’

यदुकानन्दले तम्घासमा सदरमुकाम राख्न हुँदैन भन्ने मत राखेका थिए। नजिकै सदरमुकाम हुँदा रेसंगाको महत्त्व घट्ने बताएका थिए । तर सरकारले २००९ सालमा गुल्मी जिल्लाको सदरमुकामका रुपमा तम्घास घोषणा गरेपछि उनी निराश हुँदै गएका थिए । २०१६ सालमा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री र तत्कालीन राजा महेन्द्रसँगै तम्घास गएका थिए । 



तम्घास पुगेका राजा महेन्द्र रेसुंगा नगई बिपीलाई पठाएपछि यदुकानन्दले असन्तुष्ट भई आफ्नो रुप परिवर्तन गरी सर्वांङ्ग भई डोकोभित्र बसेर बिपीसँग असन्तुष्टि व्यक्त गरेका थिए भन्ने बताइन्छ ।  पछि यदुकानन्दले रेसुंगामा आफैं आगो लगाई त्यहाँबाट काठमाडौं हिँडेका बताइन्छ । आगोले ध्वस्त भएको रेसुंगा ०४२ सालसम्म अस्तव्यस्त नै भयो । 

०४२ सालमा योगी नरहरिनाथले उक्त ठाउँमा कोटिहोम महायज्ञ सम्पन्न गरेपछि रेसुंगामा पुनर्जागरण आएको हो । अहिले उक्त क्षेत्रमा स्वामी तदर्थनन्दले तपस्या गरिरहेका छन् । गुल्मी दरबार देवीस्थानमा जन्मिएका तारा कार्की (तदर्थनन्द) १६ वर्षदेखि काँचो फल मात्रै खाएर दिनरात तपस्या गरिरहेका छन् । 



महत्त्वपूर्ण स्थल

हरेक वर्ष साउनको एकादशी, औंसी र कार्तिकको एकादशीमा विशेष मेला लाग्ने उक्त स्थलमा रेसुंगा यज्ञशाला, सिद्धस्थान, रेसुंगा मठ, रेसुंगा टावर, महापोखरी, सानो रेसुंगा, गौशाला, साउनेको मन्दिर, लाली गुराँस र खर्सुको जंगल दर्शनीय ठाउँ हुन् । महापोखरीमा साउनभर विशेष मेला लाग्ने गर्दछ । उक्त पोखरीमा नुहाउनाले पापमुक्त हुने विश्वासले गर्दा टाढाटाढाका तीर्थालुहरु आउँछन् । गौशालामा गाईको बथान, जोगी र साधुसन्तहरुको चहलपहल पनि अवलोकनयोग्य छ ।


 
यदुकानन्दले १९८४ सालमा सुरु गरेको अखण्ड धुनी दिनरात चलिरहेको यज्ञशालाका सेवक दोलनाथ आचार्यले बताए । 

पोखरीदेखि आधा घन्टा पैदल यात्रा गरेपछि सिद्धस्थान पुग्न सकिन्छ । बस्नेत थरका व्यक्तिले अनिवार्य पूजा गर्नुपर्ने प्रचलन रहेको सिद्धस्थानमा बस्नेतहरुले प्रसादका रुपमा खिर खुवाउने चलन छ । यसैगरी मागेको बर पूरा गराउनका लागि बलि पनि चढाउने परम्परा छ । उक्त पदमार्ग अहिले व्यवस्थित रुपले निर्माण भइरहेको छ । रेसुंगा टावरबाट आकाश खुलेका बेला भाडागाउँको सुन्तला खेती, तम्घास बजार, मुसीकोट, पराल्मी, विरबास, टक्सार, चौरासीको फाँट, आँपचौर, शान्तिपुर, गुरदुमको भीर, साउनेको जंगल र चौताराको गौशाला अत्यन्तै आकर्षक देखिन्छन् । 



समस्या 

रुरु रेसुंगा क्षेत्र विकास समिति र रेसंगा संरक्षण समितीगरी दुई समितीले गर्दा पनि उक्त क्षेत्रमा पर्याप्त विकास हुन सकेको छैन। दुई समितिबीचको द्वन्द्वले रेसुंगा जस्तो महत्त्वपूर्ण स्थलको विकास हुन नसकेको हो। 

तम्घासदेखि सवारी साधनमा २० मिनेटको यात्रा गरेपछि रेसुंगा पुग्न सकिन्छ। तर सवारी साधनको पार्किङ स्थल नहुँदा समस्या हुने गरेको छ। घनाघोर जंगल रहेको उक्त ठाउँमा बाटो घाटो विस्तार भइरहे पनि व्यवस्थित हुन सकेको छैन।










प्रतिक्रिया