'नेकपाको एकता कसैले खल्बल्याउन सक्दैन'

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/bishnu_poudel.jpg

भैरहवा – नेकपाका महासचिव विष्णु प्रसाद पौडेलले नेकपाको एकतालाई कसैले पनि खल्बल्याउन नसक्ने दाबी गरेका छन्।

पार्टीको एकतामा दरार ल्याउने गरी केही गलत र अपुष्ट प्रचारबाजी भएको बताउँदै उनले एकतालाई कसैले पनि खल्बल्याउन नसक्ने बताएका हुन्। आफ्नो संसदीय निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ (बुटवल) मा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने , ‘इतिहासबाट पाठ सिक्दै पार्टी एकता परिपक्व र मजबुत ढंगले गरिएको छ। हरेक निर्णय सहमतीका साथ भएकोले अब पछाडि फर्र्किएर चिन्ता गर्ने दिन नेकपामा आउँदैन। तपाईहरु ढुक्क भएर एकीकृत पार्टीको निर्देशन अनुसार काममा खटिनुहोस्। ’

महासचिव पौडेलले विगतमा हतारमा काम गर्ने अनि फुर्सदमा पछुताउने काम भएको उल्लेख गर्दै अहिले ढिला भएपनि कहिल्यै नपछुताउनेगरी काम सम्पन्न भइरहेको बताए। उनले भने, ‘एउटै स्कुलिङमा हुर्केका बीच त विवाद हुन्छ। हामी त दुईथरी स्कुलिङबाट हुर्कीएका हौं। यस्तोमा स–साना अन्तरविरोध र विवाद हुनु सामान्य हो । यसले फरक पार्दैन । वास्ता नगरौं।’ 

महासचिव पौडेलले पार्टी अध्यक्ष दुईटा भएपनि  सोच र मान्यता एकै भएको तर्क गरे। उनले भने,  ‘उहाँहरुको दुईटा टाउको भएपनि एउटै शरीर छ । त्यसमा धेरै चिन्ता नगरौं।’ 

कालिगण्डकीको पानी बुटवल आउने निश्चित 
https://www.nicasiabank.com/

रुपन्देही क्षेत्र नं २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदसमेत रहेका पूर्व अर्थमन्त्री पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कसैले रोकेर नरोकिने बताए। उनले भने, ‘ प्रदेश ५ का तराईका तीन जिल्लाको सिंचाईका लागि कोशेढुंगाको रुपमा रहेको उक्त परियोजना जसरी पनि सफल हुन्छ । यो कसैले रोकेर रोकिदैन। ’

महासचिव पौडेलले डाईभर्सन परियोजनाका विषयमा अलग धारणा राखेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई आफैंले ‘कन्भिन्स’ गरेर परियोजना सफल पार्ने दाबी समेत गरे। उनले भने ‘गण्डकी प्रदेशबाट विरोधका आवाजहरु आएका छन् । त्यहाँका मुख्यमन्त्रीलाई मनाउने जिम्मा मेरो भयो । परियोजना सफल भएरै छाड्छ ।’ 

निर्वाचन क्षेत्र पूर्वाधार विकासको रकम शिक्षामा

सांसद पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम शैक्षिक क्षेत्रको पूर्वाधारमा लगानी गर्ने बताएका छन्। उनले शिक्षाको विकास भएमा अन्य क्षेत्रको विकास स्वतः हुने बताउँदै आफुले उक्त रकम शिक्षा क्षेत्रमा लगानी गर्नेगरी कार्यक्रम बनाएको बताए।

प्रतिक्रिया