जरसापले चम्काएको आँखा अस्पताल

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/nepal_eye_hospital.jpg

३७ वर्ष लामो सैन्य सेवाबाट निवृत्त भएपछि पूर्वउपरथी दमनबहादुर घलेको दैनिकी रमाइलो थियो। फौजी जीवनको व्यस्तताबाट मुक्त हुँदा उनलाई बेग्लै आनन्द महसुस भयो। नियमित गल्फ खेल्न थाले। साथीभाइ र आफन्तसँग रमाइलो गर्दै जीवनलाई व्यवस्थित र रमाइलो बनाउने योजना बुन्दै थिए उनी। 

‘भर्खर अवकाश भएकाले केही सोचेको थिइनँ। केही समय आराम गरेर सुरक्षा तथा सामाजिक क्षेत्रमा केही गर्नुपर्ला भन्ने लागेको थियो। तर त्यस्तो योजना केही थिएन’, घले भन्छन्।

एक दिन वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले गल्फ क्लबमै घलेसँग ‘सरप्राइज अफर’ गरे– ‘लामो समय सैन्य सेवामा रहेर मुलुकलाई योगदान दिनुभयो। अब सामाजिक काममा लाग्नुपर्‍यो।’ नेपाल आँखा अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेका मैनालीको प्रस्ताव थियो, ‘नेपालकै जेठो आँखा अस्पताललाई तपार्इंले सम्हाल्नुपर्‍यो।’ घलेले भने, ‘म फौजी मान्छे। यो काममा कस्तो होला ? परिवारसँग छलफल गरेर निर्णय दिन्छु।’ 

घरमा पुगेपछि दिमागमा आँखा अस्पताल घुम्न थालेको अनुभव उनी सुनाउँछन्। परिवार र आफन्तजनबाट उनलाई प्रोत्साहन मिल्यो। अनि उनले आँखा जस्तो महत्त्वपूर्ण र संवेदनशील अंगको उपचार हुने अस्पतालमा योगदान गर्दा उचित हुने निष्कर्ष निकाले। 

घले केही दिनमै प्रमुख कार्यकारी अधिकृतका रुपमा त्रिपुरेश्वरस्थित आँखा अस्पताल प्रवेश गरे। त्यहाँको अवस्था लथालिंग थियो। कहाँबाट सुधार गर्ने, कसरी समाल्ने ? घलेले भने, ‘सुरुमा अलमलिएँ। फौजी मान्छेले अस्पताल कसरी सम्हाल्न सक्छ भनेर भित्रैबाट असहयोग र विरोध पनि भयो।’ 

तर घलेले त्यहाँको अस्तव्यस्त अवस्थालाई छोटो समयमै कुशलतासाथ सम्हाले। केही महिनामै अस्पतालको मुहार फेरियो। सेतो मार्बलको भुइँ, चम्किलो सिसा, सुन्दर र शान्त बगैंचा, जताततै सफा। 

चिकित्सक, स्वास्थ्यकर्मी मात्र होइन, त्यहाँ पुग्ने सबैले भन्न थालेका छन्, जरसापले चम्काएको आँखा अस्पताल। तीन वर्षका लागि नियुक्त घलेलाई व्यवस्थापन र अस्पताल परिवारले घर फर्किन दिएनन्। उनी दोस्रो कार्यकालका लागि नियुक्त भए। ६ वर्षमा नेपाल आँखा अस्पताललाई एउटा साँच्चिकै नमुना अस्पताल बनाएका छन् उनले। प्रविधि, पूर्वाधार, गुणस्तरीय सेवाले त्रिपुरेश्वरको आँखा अस्पताल नमुना बन्न पुगेको छ। 

सुधारमा शून्यबाट आरम्भ

नेपाली सेनामा ३७ वर्ष सेवा गरेपछि घले आँखा अस्पतालसँग जोडिए। उनी भन्छन्, ‘जीवनको अमूल्य समय मैले देशका लागि सुम्पेको छु। अवकाशपछि कुनै ठाउँ वा संघसंस्थासँग जोडिने सोच थिएन। तर कताकताबाट फरक सेवामा जोडिएँ।’ 

नेपालको पहिलो आँखा अस्पताल पुरानो नीतिनियममा चलिरहेको थियो। सरसफाइ कमी थियो। व्यवस्थापनमा लापरबाही देखिन्थ्यो भने चिकित्सक कर्मचारीमा अनुशासनको कमी थियो। 

अस्पताल र सैन्य सेवा दुई फरक क्षेत्र हुन्। सुरुमा उनलाई अस्पतालमा के हुँदैछ र समस्या समाधान कताबाट गर्ने भन्ने पत्ता लगाउन गाह्रो भयो। अस्पतालको प्रणाली बुझ्न समय लाग्यो। उनले भने, ‘जुन किसिमको फरक व्यवहार सैन्य सेवामा थियो, त्यो अस्पतालमा मिल्ने थिएन। यहाँका कर्मचारी फरक थिए, पात्र फरक थिए। त्यसैकारण पहिलो शून्यबाटै काम थालें।’ 

शल्यक्रिया ४ बाट २४

व्यवस्थापनको सिद्धान्त सबै क्षेत्रमा एउटै हो। तर क्षेत्रअनुसार कसरी लागू गर्ने भन्ने बुझ्न आवश्यक छ। आफूसँग स्रोतसाधन भने हुनुपर्छ। अस्पतालमा दर्ता गर्दा एकजना बिरामीले ५० देखि ८० रुपैयाँ तिर्छन्। त्यति पैसाले अस्पताल व्यवस्थापन बलियो हुन सक्दैन। आम्दानीका लागि अस्पतालमा शल्यक्रिया बढाउनुपर्ने थियो। 

पहिले दिनहुँ ४ वटा मात्र शल्यक्रिया हुन्थ्यो। अहिले मानव स्रोत र साधन बढाएर दैनिक शल्यक्रिया गर्ने बिरामीको संख्या बढाइएको छ। अब अस्पतालले एक दिनमा २५ वटासम्म शल्यक्रिया गर्ने क्षमता राख्छ। 

नेतृत्व र व्यवस्थापन सैन्य सेवामा ब्रेड र बटर नै हुन्। उनी भन्छन्,  ‘त्यसलाई थोरै यहाँको क्षेत्र र पात्र हेरेर व्यवस्थापन गरें। सुरुमा केही नौलो र असजिलो भयो। तैपनि पहिले आफूलाई व्यवस्थापन गरें अनि अस्पतालको व्यवस्थापन गरेँ।’ 

घले प्रवेश गर्दा अस्पतालका कोठा र हल व्यवस्थित थिएनन्। अस्पताल पछाडिको बगैंचामा फोहोरको डंगुर थियो। तर आज अस्पतालमा आउने मानिसहरु स्वच्छ हावामा रमाउँछन्। चलचित्र सुटिङका लागि पनि अस्पतालको बगैंचा प्रयोग हुन थालेको छ।

अपरेसन थिएटर पनि नयाँ बन्यो। घले भन्छन्, ‘अपरेसन आइस्याट युनिभर्सल नामक क्यानेडियन संस्थासँग सहकार्य गरेर ‘दब्लु एच ओ’ को स्तरमा सञ्चालन गरेका छौँ। नेपाल आँखा अस्पतालको अपरेसन थिएटरलाई बाहिरको प्रदूषणले केही असर गर्दैन। झ्यालढोका सबै एयर टाइट छ, भित्री अक्सिजन एसीबाट हुन्छ।’ 



सुधारका क्रममा भेटिएका चुनौती 

अस्पताल प्रवेशपछि आजको दिनसम्म आउँदा उनले धेरै चुनौती सामना गर्नुपर्‍यो। अस्पतालमा अनुशासनको कमी थियो भने कर्मचारीमा काम गर्ने आचार नीति नै थिएन। अस्पताल स्वार्थी भावनासहित चलेको थियो। 

अहिले भुइँतलामा ओपीडी सहित विशेष क्लिनिकको व्यवस्था छ। हरेक व्यक्तिले अस्पताल छिर्ने बित्तिकै सरकारी अस्पताल हो भन्ने सोच्न पनि सक्दैनन्। जसले अस्पतालका हरेक कर्मचारीलाई काम गर्ने उत्साह थपिदएको छ। 

आँखासँग सम्बन्धित उपकरण धेरै महँगो हुने उनी बताउँछन्। हरेक ३–५ वर्षमा नयाँ संस्करणको उपकरण आवश्यक पर्छ। एउटा सानो सामान एकदेखि दुई करोड मूल्य पर्ने हुन्छ। त्यही कारणले नयाँ उपकरण अस्पतालमा भित्र्याउन चूनौतीपूर्ण काम थियो। ग्लोक्मा, रेटिना, अक्लो प्लास्टि, पिड्याटिक, कर्निया जस्ता सबै महत्त्वपूर्ण उपचार नेपाल आँखा अस्पतालमै उपचार हुन्छ। 

परिवर्तनका लागि मानव स्रोतसाधनको महत्त्वपूर्ण भूमिका हुन्छ। मानव स्रोतको ग्रहणशक्ति बढाउन स्वदेश र विदेशमा विभिन्न एक्सपोजर सिप र तालिममा पठाउने व्यवस्था गरियो।

आँखा अस्पतालमा सबैभन्दा खड्केको अर्को विषय अन्तर्राष्ट्रिय सहकार्य थियो।  अहिले जापान, मलेसिया र क्यानडासँग सहकार्य अघि बढेको छ। अपरेसन आस्याट युनिभर्सल क्यानेडियन संस्था हो। यो संस्थाको सहकार्य आँखा सम्बन्धित मात्र नभएर विश्वभर नै छ। यही संस्थाले आँखा अस्पतालको अपरेसन थिएटर, पूर्वाधार विकास गर्न सहयोग गर्दै आएको छ।



खुसी छन् घले 

घले भन्छन्, सुरुमा जे जति नौलो र असजिलो महुसुस भए पनि अहिले आफूले गरेको काम आँखा अगाडि देख्न पाउँदा ज्यादै खुसी लाग्छ। उनले भने, ‘वरिष्ठ अधिवक्ता मैनाली, सचिव मोहनप्रसाद पोखरेल, कार्य समितिका सम्पूर्ण सदस्यहरु आ–आफ्नो क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्व छन्। सबैबाट ठूलो सहयोग पाएँ। हामी सबै एउटा छाता मुनि गोलबन्द भएर लागि परेको अवस्था छ।’ 

प्रयासअनुरुप अस्पतालले मुहार फेर्न पाउँदा मन हर्षित छ। देशको सबैभन्दा जेठो आँखा अस्पतालका रूपमा आजभन्दा ४५ वर्ष अगाडि त्रिपुरेश्वरमा नेपाल आँखा अस्पताल स्थापना भएको थियो। देशमा छुट्टै आँखा अस्पतालको आवश्यकता महसुस गरी २०३० सालमा यसको विधिवत् स्थापना भएको हो।




प्रतिक्रिया