काठमाडौंका पँधेरा : संवर्द्धन खै ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/August/padhero.jpg

काठमाडौं - चाबहिल चक्रपथमा कुनै बेला तीन वटा लहरै ढुंगेधारा थिए। ५० को दशकसम्म आसपासका धेरै बासिन्दाको खानेपानीको स्रोत थिए ती धारा। 

सहरीकरणका कारण एउटा धारा पुरिएको छ। मूल क्षेत्रमा ठुलठूला भवन बनेकाले बाँकी दुईवटा धाराबाट पनि पर्याप्त पानी आउँदैन । तर पनि साँझबिहान पानी थाप्नेको भीड लाग्छ।

घरधनीभन्दा भाडामा बस्ने पुग्छन् त्यहाँ पानी थाप्न र लुगा धुन ।  यसरी त्यो धारा प्रयोग गर्नेमध्येकी एक हुन् चिना राई । उनले भनिन्, ‘कहिले बोरिङको मेसिन बिग्रन्छ, कहिले पानी आउँदैन । कहिले घरबेटीले पानी दिन गाह्रो मान्छन्, के गर्नु ? काठमाडौंको बसाइ निकै सास्तीपूर्ण छ ।’

‘यो पानी पिउँदैनौं, खाना बनाउन र भाँडा माझ्न प्रयोग गर्छौं’, जार भर्दै गरेकी सुनिता शेर्पाले भनिन्, 'काठमाडौंमा बस्न थालेको दुई महिनामात्र भएको छ । यी पँधेरा पनि पुर्खाले छाडेका छन् र प्रयोग गर्ने पाइयो, नत्र यो काठमाडौंमा कसरी सक्नु ?’

कालीकोटकी सुनिता सिम्खडा काठमाडौं आएको २ महिना भयो । धुम्बाराहीस्थित ३ फिट गहिरो कुवाबाट पानी निकालेर जारमा भर्दै थिइन् उनी । ‘काठमाडौं जति सोचको थिएँ, त्योभन्दा भिन्न लाग्यो’, उनले भनिन्।

 काठमाडौं सुविधा सम्पन्न होला भन्ने अनुमान थियो उनको । तर, यो अनुभव उनलाई तितो रह्यो । पानीको समस्या रहेका बेला यी पँधेराले राहत दिएको ठम्याइ सुनिताको छ । कुवामा साँझबिहान धेरै भीड हुन्छ। काठमाडौंमा पानीको समस्या अत्यासलाग्दो छ। वर्षायाममा मुहानको पानी बढे पनि पँधेरामा फोहोर हुन्छ । त्यसैले पँधेराको पानी पिउन योग्य छैन ।
 
पहिलेपहिले काठमाडौं अहिले जस्तो घना बस्ती थिएन । रूख र बोटबिरुवा प्रशस्त भएका कारण पनि मुहान फुटेर आउँथ्यो। 

इतिहासविद् दिनेशराज पन्तका अनुसार हाल अस्तित्वमा रहेका यी पँधेरा लिच्छविकालीन हुन् । काठमाडौंका ढुंगेधारा र कुवा मानदेवका पालादेखि निर्माण हुन थालेको उनको भनाइ छ । उनी भन्छन्, ‘सहरी विकासका नाममा पुरातात्त्विक पँधेराको अस्तित्व लोप हुँदै गएको छ । पानीको हाहाकार रहेका बेला ऐतिहासिक धाराले राहत दिइरहेका छन् तर संरक्षण नहुँदा अहिले लोप हुन थालेका छन् ।’ 
https://www.nicasiabank.com/



पँधेराको संरक्षण गर्ने कसले ?

चाबहिलको पँधेरो जीर्ण छ । पँधेरो भत्किएपछि दुईवटा अस्थायी पाइप राखिएको छ । मुहानबाट आएको पानी निष्कासन हुने ठाउँसमेत छैन । एकातर्फ जनता पानीको हाहाकारमा छन् भने अर्कोतर्फ यस्ता प्राकृतिक स्रोतको उचित संरक्षण हुन सकेको छैन । धुम्बाराहीस्थित पँधेराको पनि यस्तै समस्या छ । 

सहरीकरणका कारण पँधेरा र ढुंगेधारा लोप भइसकेका छन् । भएका पनि व्यवस्थित छैनन् । भाटभटेनी, मध्यबानेश्वर, पाटन, ज्ञानेश्वर, भक्तपुरका विभिन्न ठाउँमा सीमित मात्र पँधेरा अस्तित्वमा छन् । 

यस्ता प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको आधिकारिक तथ्यांक सरकारी निकायसँग छैन । काठमाडौं महानगरपालिका सम्पदा संरक्षण विकास विभागका प्रमुख सुरेशकुमार राईले महानगरपालिकासँग कुनै तथ्यांक नभएको बताए । स्थानीयको पहल वा अपिल भएमा मात्रै केही कदम लिने गरेको उनले बताए । 

पुराना पुरातात्त्विक यस्ता सम्पदाको संरक्षण र संवर्द्धन हालसम्म नहुनु लज्जास्पद विषय छ । आवश्यकतामा प्रयोग आउने यस्ता धाराको उपयोगिता बुझेर स्थानीय पनि पँधेरा संरक्षणबारे चासो वा जागरूक नदेखिएमा चाँडै यी बाँकी रहेको पँधेरा पनि मासिएर जाने छन्।

प्रतिक्रिया