सिद्धबाबाको कुहिरे भीर : सधैँ जोखिममा यात्रा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/IMG_2167.jpg

भैरहवा- हिउँद होस् वा बर्खा, सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने जोकोहीका लागि पनि ५ किलोमिटर यो सडकको यात्रा सहज हुँदैन। सिद्धबाबाको नाम सुन्दा अहिले धेरेको मुटुको काप्न थालेको छ।

सिद्धबाबा क्षेत्रको कमजोर धरातल भएको चुरेको कारण यस्तो भएको हो।

सिद्धबाबा सडकखण्डको कुहिरे भीरबाट खस्ने पहिरोले यात्रुलाई सधैं त्रसित बनाइरहन्छ। पहिरो हटाउन र मर्मत गर्न वार्षिक ५० लाखभन्दा धरै खर्च भइरहे पनि त्यो प्रभावकारी बन्न सकेको छैन।

त्यहाँको पहिरोका बारेमा सरकार प्रमुख, मन्त्री, नेता, सचिवसम्मले कुरा उठाइरहन्छन्।  सिद्धबाबाको विषयमा मिडियामा पनि बारम्बार चर्चा भइरहन्छ।

हरेक जसो यात्रु त्यो सडकखण्ड पार गरेपछि घरमा फोन गरेर भन्ने गर्छन्, ‘कुहिरे भीर काटियो चिन्ता नगर्नु।’

रामापिथेकसको अवशेष प्राप्त क्षेत्र

बुटवल हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँचीका लागि नियमित सवारी ओहोरदोहर गर्ने सिद्धबाबाको एक किलोमिटर सडकखण्ड रुपन्देही र ४ किलोमिटर सडकखण्ड पाल्पामा पर्छ।

सिद्धबाबा शिव पूजनका लागि प्रसिद्ध स्थल हो। सोमबार र शनिबार विशेष पूजाआजा हुने उक्त स्थानमा बिहे, व्रतबन्ध र ठूलाठूला यज्ञ पनि हुन्छन्। सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङका अनुसार प्रत्येक वर्ष ७० हजारभन्दा बढी भक्तजनले सिद्धबाबामा पूजाआजा गर्छन्।

भैरहवाको ४२ डिग्री गर्मीमा अत्तालिएको मान्छे एकाएक सिद्धबाबा पुग्दा सिरेसिरे हावा चल्दा दंग पर्छ। सिद्धबाबा क्षेत्र १ करोड १० लाख वर्ष पुरानो आदिम मानव रामापिथेकसको बंगारा भेटिएको स्थल हो।

सिद्धबाबाको कुहिरे भीर काटेर सडक खोल्ने काम तत्कालीन पाल्पा गौडाको सेनाको अधिकृत प्रतिमान चन्द बोहराले गरेका हुन्। उनी आफंै गैंती, बेल्चा, कोदाली, सावल, खन्ती लिएर महिनौं सेनाका जवानसहित उक्त सडक खन्न सक्रिय थिए।

रोकिएन मानवीय क्षति

०१८ सालदेखि खन्न सुरु गरिएको उक्त सडक खण्डमा २०२८ सालदेखि सवारी साधनको आवागमन हुन थालेको हो। अहिले सानाठूला गरी दैनिक १५ सयको हाराहारीमा सवारी आवतजावत गर्छन्। तर यात्रा सुरक्षित छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक पृथ्वीनारायण काफ्लेका अनुसार सिद्धबाबा क्षेत्रमा हरेक वर्ष ३–४ जनाले कुहिरेभीरकै कारण दुर्घटनामा ज्यान गुमाइरहेका छन्।

आर्थिक वर्ष ७०।७१ मा सिद्धबाबा क्षेत्रमा ११ जनाको मृत्यु भएको छ भने ५ वटा बससहित ११ सवारीसाधनमा क्षति भएको छ। आर्थिक वर्ष ०७१।७२ मा ४ वटा बस ३ वटा ट्रक, एउटा जिप सिद्धबाबामा पुरिएका छन्। यस्तै ३ वटा मोटरसाइकल पनि पहिरोले बगाएको छ।

सवारीसाधन मात्रै होइन ५ जनाले अकालमा ज्यान गुमाउनुपरेको छ।  आर्थिक वर्ष ७२।७३ मा ४ वटा सवारीसाधनमा क्षति भएको छ भने ४ जनाको ज्यान गएको छ।  आर्थिक वर्ष ०७३।७४ मा एउटा ट्रक। एउटा बस र दुईवटा मोटरसाइकलमा पुरिएका छन् भने २ जनाको ज्यान गएको छ। 

आर्थिक वर्ष ०७४।०७५ मा उक्त क्षेत्रमा २ वटा दुर्घटना भएकोमा ४ जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए। यसैगरी गत आर्थिक वर्षमा ३ वटा दुर्घटना भएकोमा ३ जनाको ज्यान गएको र एक जना गम्भीर घाइते भएका छन्।

गत असार २८ गते लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा सवार निस्ती गाउपालिका–९ का ३१ वर्षीय धनबहादुर सुनारीको कुहिरे भीरबाट खसेको पहिरोमा परी ज्यान गयो। गत वर्ष साउन ६ गते तानसेन नगरपालिका–७ बस्ने माधव कुमाल र उनका छोरा उमेश कुमालको लु २१ प ९६०८ नम्बरको मोटरसाइकलमा यात्रा गर्ने क्रममा कुहिरे भीरबाट खसेको ढुंगामा परी ज्यान गएको थियो।

त्यसअिघ सिद्धबाबामा पूजा आजा गरेर फर्किंदै गरेका  पाल्पा तानसेन–७ अनिल श्रेष्ठ, नयाँ अटो विद्युतीय रिक्सा किनेपछि त्यसको पूजा गर्न पुगेकी बुटवल–६ की लक्ष्मीनगरीकी भगवती रायमाझीको पनि उक्त क्षेत्रमा दुघर्टनामा परी मृत्यु भयो। कुहिरे भीरले ०२८ सालयता सडक सुचारु भए तापनि यसबीचमा धेरैको अकालमा ज्यान लिएको छ।

गुल्मीको बलेटक्सारबाट छोराको बिहेको सपिङ गर्न सुनैली हिँडेका तिलकराम भण्डारीको घटनास्थलमा ज्यान गयो। उनकी पत्नी राधिका भण्डारी घाइते भइन्। ना ३ ख ६१९१ नम्बरको ट्रकका चालक तिनाउ गाउँपालिका–४ पाल्पाका माधव रानाको पनि कुहिरे भीरले नै ज्यान लियो।

२०७२ साल असार २ गते पाल्पाबाट फर्किंदै गरेका प्रसूति रोग विशेषज्ञ यशोदा कोचर र तरुण कोचर दम्पतीको लु १ ज २७० नम्बरको सेतो निजी जिप्सी गाडीसँगै कुहिरे भीरबाट झरेको पहिरोले किचेर ज्यान लियो।

सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङ भन्छन्, ‘यहाँको चुरे पर्वत कमजोर छ। धेरै पानी पर्दा पनि माटोले ठाउँ छाड्छ, पानी परेपछि चरक्क घाम लाग्यो भने पनि ठाउँ छाड्छ अनि पहिरो खस्न थाल्छ।’

समाधान

पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओली नेतृत्वको सरकारले सुरुङमार्ग निर्माणको अध्ययनका लागि करिब आधा करोड बजेट विनियोजन गरेको थियो। अहिले पनि ओली सरकारले सिद्धबाबा सडकलाई लक्षित गरी बजेट व्यवस्थापन गरेको छ।

रुपन्देहीका सांसदहरु विष्णुप्रसाद पौड्याल, घनश्याम भुसाल, बालकृष्ण खाण, पाल्पाका सांसद सोमप्रसाद पाण्डे, गुल्मीका सांसद तथा संघीय मन्त्रीद्वय प्रदीप ज्ञवाली र गोकर्ण विस्ट तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री लिला गिरी, सुदर्शन बराल र प्रदेश सांसद बसन्त घर्ती, हरि नेपाल हरेक कार्यक्रममा सिद्धबाबा सडकको चर्चा गर्दछन्। उनीहरु सडकको समस्या र समाधान दुबै बिषयमा बारम्बार बताइरहेका पनि छन्।

सिद्धबाबादेखि दोभानको हेटबक्ससम्म सुरुङ मार्ग निमार्ण गर्नका लागि अध्ययन भएको छ। ३.५  किलोमिटर सुरुङ मार्गका लागि बजेट धेरै लाग्ने भएकाले मन्त्रालय नै अलमलमा देखिन्छ। प्रारम्भिक अध्ययनअनुसार एक किलोमिटर सुरुङ निर्माणमा ४ अर्ब लाग्छ।

अर्कोतर्फ रुपन्देहीको चरङेमुडाबास–चौकी भन्ज्याङ–ज्यामिरे–झुम्सा सडक  सिद्धबाबाको विकल्प हुन सक्छ। पाल्पाको झुम्सादेखि चौकी भन्ज्याङ गाडी सञ्चालनमा रहे पनि रुपन्देहीतर्फको चौकी भन्ज्याङको मुडाबास सडक विस्तार हुन सकेको छैन। यो मार्गमा १६  किलोमिटर क्षेत्र ट्याक खोल्ने क्रममा छ।  सिद्धबाबा क्षेत्रमा विकल्पका रुपमा सुरुङमार्गको कुरा चलाइए पनि अझै सुरुङको प्रक्रिया अघि बढ्न सकेको छैन।

यसैगरी बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिको नुवाकोटबाट सिद्धार्थ राजमार्गमै पुगिन्छ।

यसैगरी बाँसटारी गोठादी खैरेनी मार्ग पनि अर्को वैकल्पिक बाटोको रुपमा रहेको छ। ६१ किलोमिटर  लामो रहेको यो मार्गमा पाल्पातिरका ट्र्याक खोलिँदैछ। रूपन्देहीको देवदहबाट जोड्ने योजना रहेको छ। यो मार्गले पाल्पाका अन्य ग्रामीण बस्तीलाई लाभ दिने छ।

यो मार्गलाई पाल्पाका ग्रामीण क्षेत्रसँग जोड्ने मार्गका रूपमा पनि सरकारले अघि सारेको हो। यसका अतिरीक्त हालकै बाटोमा यात्रा सुरक्षीत गराउन अन्य उपायसमेत अपनाउन सकिने विज्ञहरुको धारणा छ।  



प्रतिक्रिया