सरकारले चिन्दैन ‘मलेखा’ : कर्णालीमा ज्यानको बाजी लगाउँछन् विद्यार्थी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Karnali12.jpg

सुर्खेत- ‘कर्णाली उर्लिएको दिन डुङ्गा चलाउन सकिदैन, अन्य दिनमा भने ज्यानको बाजी थापेर स्कुल आउँछु।’ कैलाली मोहन्याल गाउँपालिकाले-३ मलेखाकी भृकुटी सलामी भन्छिन् ‘गाउँमा माविसम्म पढाई हुने स्कुल छैन, सुर्खेत आउनु हाम्रो बाध्यता हो।’

सुर्खेतको चौकुने गाउँपालिका-४ विजौरास्थति जगनाथ माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययरत सलामी बर्खा लागेपछि भने विद्यालयमा नियमित हुन पाउँदिनन्। ‘न कर्णाली नदीमा पुल छ, न त बहाव बढेपछि डुङ्गा खियाउन सकिन्छ।’ उनी भन्छिन् ‘जसका कारण बर्खामा कक्षामा नियमित हुन पाउँदिन।’ 

त्यस्तै उनका सहपाटी दिपेन्द्र आलेमगर पनि नदीमा पुल नहुँदा बर्खा लागेपछि कक्षामा नियमित हुन पाउँदैनन्। ‘अन्य मौसममा डराई-डराई कर्णाली पार गर्छौँ, नदी बढेको दिन त पढाई छोड्नुको विकल्प हुँदैन।’ आलेमगर भन्छन्, ‘विद्यालय पुग्न ज्यानको बाजी थाप्ने हाम्रो दुःख कसले बुझ्ला।’ विद्यालय जान नपाएको दिन साथीहरुको सहयोग लिनुपर्ने उनी बताउँछन्।

सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत खगिसरा सलामीका दुःख पनि दिपेन्द्रको भन्दा कम छैनन्। ‘डुङ्गा चलाउन नजान्दा कयौं पटक नदीको किनारमै मर्दामर्दै बाँचेका छौँ।’ नदी पार गर्दाका दुःख सम्झिदै भन्छिन् ‘धेरै पटक कापी किताव कर्णालीमा बगे।’

यसरी ज्यानको बाजी थापेर विद्यालय जाने भृकुटी, दिपेन्द्र र खगिसरा मात्रै होइन, मलेखाका ६०/७० विद्यार्थीले दैनिक यस्तै पीडा भोग्छन्। उनीहरुका अनुसार जोखिमका कारण कतिपय सहपाटीले माध्यमिक तहसम्म पढाई पुरा गर्न पाएका छैनन्। 

जगनाथ माध्यमिक विद्यालय विजौरा शिक्षक ओमप्रकाश बास्तोलाका अनुसार मलेखाबाट करिव ७० बढी विद्यार्थी ज्यान जोखिममा राखेर विद्यालय आउने गरेका छन्।

यो वर्षदेखि मलेखामा कक्षा ६ सम्म पढाई भए पनि त्यहाँका विद्यार्थीहरु पनि बिजौरामै आउने गरेका छन्। बास्तोलका अनुसार अहिले कक्षा ६ मा मात्रै मलेखाका १६ जना विद्यार्थी अध्ययनरत छन्।

सरकारले चिन्दैन ‘मलेखा’

अहिले देशमा तीन तहका सरकार छन्। संघ र प्रदेश त अलि टाढा छन् तर गाउँगाउँमा पुगेका सिंहदरवार अर्थात् स्थानीय सरकारले पनि नागरिकका समस्यालाई सम्बोधन गर्न सकेका छैनन्।

जसको एउटा उदाहरण हो कैलालीको ‘मलेखा’ बस्ती। सुर्खेतसँग सिमाना जोडिएको मोहन्याल गाउँपालिका–३ मलेखामा मावि तहको विद्यालय छैन।

मगर समुदायको बाहुल्यता रहेको उक्त बस्तीमा प्राथमिक तहसम्म पढाई हुने एउटा विद्यालय त छ तर त्यसको अवस्था पनि निकै दयनिय देखिन्छ। एकातिर माध्यमिक तहसम्म पढाई हुने विद्यालय नहुनु अर्काेतर्फ प्राथमिक तहमा पनि गुणस्तरीय पढाई नहुँदा जोखिम मोलेर मलेखाका विद्यार्थीहरु छिमेकी जिल्ला सुर्खेत आउने गरेका छन्।

कतिपयले भने ५ कक्षाभन्दा माथि अध्ययन नगरेको स्थानीय बताउँछन्। तर आर्थिक अवस्था राम्रो भएका विद्याथीहरु भने अध्यनकै लागि धनगढी पुग्ने गरेको स्थानीय नन्दा सलामी बताउँछिन्।

यता जनप्रतिनिधिहरुले भने वारपारका बस्तीलाई जोड्न झोलुङ्गे पुल बनाउने बाचा गर्दै आएका छन्। सुर्खेतबाट निर्वाचित तत्कालीन सांसद एवम् २०७१ सालमा तत्कालिन सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट पुलको सर्बे समेत गराएका थिए। 

त्यस्तै २०७४ मा आएर सुर्खेतबाट निर्वाचित संघीय सांसद नवराज रावत र कर्णाली प्रदेश सभाका सांसद विन्दमान विष्टले सर्बेका लागि अनुगमन समेत गरेका थिए। 

तर अहिलेसम्म आइपुग्दा पनि तीनै तहका सरकारले पुल निर्माणमा ध्यान दिएका छैनन्। पुल नहुँदा स्थानीयले किनमेल र अन्य कामका लागि जोखिम मोलेर कर्णाली तर्न बाध्य भएका छन्। 
यता वडा नं. ३ का वडाध्यक्ष नन्दराम गिरीले भने बजेट अभावका कारण पुल निर्माण गर्न नसकिएको बताए। 

‘कम्तीमा ८ कक्षासम्म अध्ययन गराउन सकिन्छ कि भनेर पहल गरेकै छु तर गाउँमा स्रोत साधनको अभाव छ।’ उनले भने ‘बालबालिकाको बाध्यता बुझेका छौँ तर केही गर्न सकिएको छैन।’



विद्यालय जान कर्णाली नदी तर्दै विद्यार्थीहरु। तस्बिर सौजन्य : ओमप्रकाश बास्तोला



प्रतिक्रिया