संसदीय समितिले थाल्यो बाढी प्रभावित क्षेत्रको निरीक्षण

/assets/plugins/bower_components/fileman/Uploads/badhi_prabahit.jpg

जनकपुरधाम- संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेश २ मा बाढीबाट भएको जनधनको क्षतिबारे स्थलगत निरीक्षण सुरु गरेको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न समितिका सदस्यहरु शनिबार जनकपुर पुगेका हुन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जनकपुर विमानस्थलमा समितिका सदस्यहरुलाई बाढीपछि धनुषामा देखिएका समस्याबारे जानकारी गराएका थिए।

समितिका सदस्यहरुलाई जानकारी गराउने क्रममा कँणेलले बाढीबाट धनुषामा ११ हजार मानिस प्रभावित भएको र हालसम्म राहत अपुग रहेको बताएका थिए। क्षतिको पूर्ण विवरण अझै संकलन हुन नसकेको र दुई दिनभित्र विवरण संकलन गरेर राहतका लागि संघीय सरकारलाई पठाउने उनले संसदीय टोलीलाई जानकारी गराए।

कमला नदीको पश्चिमी तटबन्ध तीनसय मिटरभन्दा बढी भत्किएकोलेल अब बाढी आउँदा सम्हाल्नसक्ने अवस्था नरहने बताएका थिए। यसअघि संघीय सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको टोलीलाई पनि तटबन्ध निर्माण गर्न तत्काल रकम उपलब्ध गराउन आग्रह गरेको उनले सुनाए।
https://www.nicasiabank.com/

बाढीपीडित हालसम्म विस्थापित रहेको भन्दै प्रमुख जिल्ला अधिकारी कँणेलले तत्काल पुर्नस्थापनातर्फ ध्यान दिनुपर्नेमा जोड दिए। प्रदेश सरकारले उपलब्ध गराएको १० लाखबाट सबै बाढीपीडितलाई राहत पुर्याउन नसकिएको उनको भनाइ थियो।

समितिका सदस्य तथा सांसद देवेन्द्रराज कंडेलले भारतीय बाँधले पनि डुबान भएको भन्दै प्रमुख जिल्ला अधिकारी कँणेलसँग जिज्ञासा राखेका थिए। तर कंडेलको जिज्ञासापछि प्रमुख जिल्ला अधिकारीले त्यहाँ उपस्थिति सञ्चारकर्मीलाई बाहिर जान भने। पत्रकारहरु बाहिर निस्केपछि मात्र प्रमुख जिल्ला अधिकारीले भारतीय बाँधको विषयमा संसदीय टोलीलाई जानकारी गराए।

प्रदेश २ को आठ जिल्लामा बाढी प्रभावित क्षेत्रको निरीक्षण पश्चात संसदीय समितिले सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ।

प्रतिक्रिया