कोशी ब्यारेजको आयु सकिएको ३८ वर्ष, ब्यारेज भन्दा बस्ती होचो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Koshi_Barrage.jpg

 
इटहरी- आइतबार बिहान सप्तकोशीका ५६ वटै ढोका पहिलोपटक खुल्ला गरिएपछि यो समाचार नेपालभर हेडलाइन बन्यो।

शनिबार साँझ सप्तकोशीमा ३ लाख ३८ हजा क्युसेक प्रतिसेकेन्डको बहाब आएको जिल्ला प्रशाशन सुनसरीले बताएको थियो। 

सप्तकोशीमा पानीको बहाब बढ्नासाथ स्थानीयमा डर पस्नुमा दुईटा कारण छन्। पहिलो कारण सप्तकोशी व्यारेजको आयु सकिनु हो भने दोस्रो कारण बेलाबेला सप्तकोशीले गर्ने व्यापक क्षति। सबैभन्दा धेरै डर चाँहि व्यारेजको आयु सकिएकोमा भएको कोशी क्षेत्रका स्थानीयहरु बताउँछन्।

सप्तकोशी ब्यारेज बनेको ६३ वर्ष भयो। तर यो ब्यारेजको आयु भने २५ वर्ष मात्रै हो। अर्थात् आफ्नो आयुभन्दा तीन दशक बढी समय भइसकेको छ सप्तकोशीको ब्यारेज बनेको समय। सन् १९५६ मा बनेको ब्यारेज नेपाल–भारतको सन १९५४ अप्रिल २५ मा भएको अलोकप्रिय कोसी सम्झौतापछि बनेको थियो।

११ सय ५० मिटर लामो यो ब्यारेज सुनसरी र सप्तरी जिल्ला जोड्छ भने यो पूर्वपश्चिम राजमार्गकै एक अङ्ग हो। ५६ वटा पानी नियन्त्रण गर्ने ढोका रहेको यो ब्यारेजमा दैनिक सयौँ गाडीहरू ओहोरदोहोर गर्छन्।

अनुमान गर्न नसकिने कोशीको क्षति

सप्तकोशीमा धेरै पटक २ लाख भन्दामाथि ३ लाख क्युसेक हाराहारीसम्म पानीको बहाब हुन्छ। ३ लाख बढि हुँदा पनि यो वर्ष कुनै क्षति भएन। २०६५ भदौ २ गते भने २ लाख मुनिको बहाबमै सप्तकोशीमा ठूलो क्षति भएको थियो। पश्चिम कुसाहामा बाँध फुट्टा ५० हजार नेपाली र तीस लाख भारतीयहरु विस्थापित भएको द थर्डपोल डट नेटले लेखेको छ। 

व्यारेजको सुरुवाती क्षमता १२ लाख क्युसेक भए पनि हालको अवस्थामा ६ लाख क्युसेक रहेको प्राविधिकहरुलाई उदृत गर्दै काठमाण्डौ पोस्टले २०१७ जुलाइ ११ मा लेखेको छ।

सप्तकोशीको बहाब धेरै हुँदा धेरै क्षति र थोरै हुँदा थोरै क्षति नहुने बताउँछन् इटहरीका प्राध्यापक अर्जुन उप्रेती। सप्तकोशीको बहाब बारेमा विज्ञहरुसँगको अध्ययन गरेको अनुभव भएका उप्रेती भन्छन्, ‘सप्तकोशीमा २–३ लाख क्युसेक पानीले असर गर्ने हैन। असर पानी बग्दा भन्दा बाँधमा हिर्काएर कटान हुँदा हुने हो।’

२०६५ मा थोरै बहाबमा पनि धेरै क्षति हुनु बाँधमा भत्किनु मुख्य कारण भएको र अरुबेला धेरै बहाबमा पनि कम क्षति हुनुमा सप्तकोशीको बाँधमा असर नपुगेको भएको उप्रेतीले बताए। 

भारतीय बेवास्ताले मर्मत भएन ब्यारेज

स्थानीय जानकार तथा विभिन्न विज्ञहरूले कोशी ब्यारेजको पुलको आयु सकिएको भन्दै नेपाल सरकारलाई ताकेता गरे पनि अझै कुनै प्रगति भएको छैन।

धरानबाट निर्वाचित पूर्व सांसद कुन्ता शर्मा भारतले नै सम्पूर्ण मर्मत संभार र पुनः निर्माण गर्ने सम्झौता विपरीत पुलको आयु सकिएको बर्षौ हुँदा पनि कुनै काम नभएको बताउँछिन्। आफूले सांसद हुँदा पनि सरकारलाई पटकपटक आग्रह गरे पनि कुनै काम नभएको शर्माको भनाइ छ। 

शर्मा मात्रै हैन सप्तकोशी ब्यारेजका बारेमा चासो र सरोकार राख्ने धेरैले आवाज उठाए पनि सम्बोधन हुन नसकेको नेकपा सुनसरीका नेता वसन्त सुवेदी बताउँछन्। इनरुवा घर भएका सुवेदीले भारतले सम्झौता बमोजिम व्यारेको मर्मतसंभार नभएकाले दैनिक जोखिममा यात्रा हुँदै आएको छ।  

कोसी सम्झौता अनुसार ब्यारेजको सम्पूर्ण मर्मतसम्भार लागायतका खर्च र जिम्मेवारीको काम भारत सरकारको हो। तर, सोही अनुरूप कामहरू नहुँदा कोशी ब्यारेजको आयु सकिएपनि यसको मर्मत संभारमा कुनै पनि प्रगति हुन नसकेको यसका जानकारहरू बताउँछन्। 

बालुवा थुप्रिएर ब्यारेज भन्दा बस्ती होचो बन्दै

कोसी ब्यारेजमा आएर अड्किने बालुवा र सेडिमेन्टका कारण ब्यारेजको उचाई बस्ती भन्दा अग्लो हुँदै गएको स्थानीयको भनाइ छ।

कोसी गाँउपालिकाका अजय यादव आफूले थाहा पाउँदा कोसी ब्यारेज भन्दा बस्ती अग्लो भए पनि पछिल्ला वर्षमा ब्यारेज क्रमशः अग्लो हुँदै गएको बताउँछन्। बस्ती होचो भएकाले पानीको सतह बढेपछि ढोका नखोल्दा नेपाली कृषकहरूको बाली र बस्ती हरेक वर्ष डुबानमा पर्ने गर्छन्। 

स्थानीय अजय यादवको भनाइको एक भारतीय अखबारको समाचारले पनि पुष्टि गरेको छ।

फाइनान्सियल एक्सप्रेसले सन् २००८ को सेप्टेम्बर १ मा लेखेको छ, ‘सन १९८१ मै आफ्नो अवधि सकिएको कोसी ब्यारेज आसपासका क्षेत्र भन्दा तीन मिटर अग्लो रहेको छ।’ सन २००८ मै आसपासको क्षेत्र भन्दा तीन मिटर अग्लो रहेको ब्यारेजको उचाहि पछिल्लो दशकमा झनै बढेको हुनसक्ने धेरैको अनुमान छ। 




प्रतिक्रिया