बाढीपहिरोमा १२ जनाको मृत्यु, राजधानीको जनजीवन अस्तव्यस्त

/assets/plugins/bower_components/fileman/Uploads/Kathmandu.jpg

बल्खु खाेला (शेषकान्त पण्डितकाे फेसबुकबाट)

काठमाडौं- पूर्वी र मध्य नेपालमा आएको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन् । यस्तै राजधानी काठमाडौंका कैयन् ठाउँ डुबानमा परेका छन् । तराईमा बाढीले जनजीवन अस्तव्यस्त भएको छ । कतिपय बस्ती डुबानमा पर्दा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।

काठमाडौंको मूलपानीमा अर्काको घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त वौद्धका डिएसपी नरेन्द्र चन्दका अनुसार मूलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।

चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया शर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु मजदुरी गरी गुजारा गर्दै आएका थिए ।

त्यस्तै कलंकीनजिक बल्खु खाेलाले बगाएर एकजनाकाे मृत्यु भएकाे छ । मृतकबारे थप विवरण आउन बाँकी छ ।

गृह मन्त्रालयका अनुसार पहिरोले घर पुर्दा भोजपुरमा २ जनाको ज्यान गएको छ भने काभ्रेको बनेपामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । यस्तै ललितपुर, सिन्धुली, रामेछाप र पर्सा एक एक जनाको मृत्यु भएको छ ।

काभ्रेको बनेपा नगरपालिका-३ चुलातालमा घर भत्किँदा एक परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया गोमा दंगाल र उनकी नातिनी सहावी दंगाल रहेको प्रहरीले जनाएको छ। घर भत्कँदा दुईजना घाइते भएका छन्। घाइतेका स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै भोजपुरमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ। भोजपुरको पश्चिमी टेम्केमयूँङ गाउँपालिका वडा नं। ९ लेखर्कमा पहिरोले पुरिएर १२ वर्षका जनक विकको मृत्यु भएको हो। बिहान करिब १० वजे शौचालय बसेकै बेला माथिबाट आएको पहिरोले बालकलाई पुरेको गाउँपालिका अध्यक्ष ध्रुब राईले जानकारी दिए।  भोजपुरको रामप्रसाद राई गाउँपालिका-७ बासिखोरा बस्ने जगतबहादुर राईको फुसको छानो भएको एकतले कच्ची घरअगाडिको गारो भत्किँदा मृत्यु भएको हो ।

रामेछापमा पहिरोका कारण ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ। उनलाई बिहान गोठमा भैँसी दोहिरहेको अवस्थामा पहिरोले पुरेको थियो । पहिरोका कारण ललितपुरको बागमती गाउँपालिकामा र सिन्धुलीमा एक–एक जनाको मृत्यु भएको छ । पर्सामा डुबेर एक जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित खहरे नुवाखोलाले ९ वर्षे दिवन राईलाई बगाएको छ। बिहान ९ बजेतिर विद्यालय जाने क्रममा उनलाई खोलाले बगाएको थियो । यस्तै बिहीबार साँझ मोरङको विराटनगरमा एक युवकलाई खोलाले बगाएको थियो। सुनसरीमा एक व्यक्तिलाई बाढीले बगाएको छ ।

पहिरोमा परी खोटाङमा तीन जना बेपत्ता भएका छन् । मोरङ, सुनसरी र पाँचथरमा एकएक जनालाई बाढीले बगाएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–३ बाघपच्याङमा विष्णु राईको घर पुरिँदा उनकी पत्नी रेखा र चार वर्षीय तथा डेढ वर्षीय छोरा बेपत्ता भएका छन् ।

रौतहटको लालबकैया नदीले बगाउँदा ईशनाथ नगरपालिका–३ औरैयाका रामपुकार पटेल बेपत्ता छन् । मोटरसाइकल चढेर भारततर्फ जाँदा उनलाई खोलाले बगाएको थियो । मोटरसाइकल भने फेला परेको छ । महोत्तरीको बलवा नगरपालिका-२ बदियामा घाँस काट्न जाने क्रममा खोला तर्दा ७० वर्षीय हमिद मिया बेपत्ता भएका छन् । बलवा नगरपालिका-२ का हनिफ बैठालाई रातु खोलाले बगाएको छ ।

महोत्तरीको रातु खोलामा आएको बाढीले एक वृद्धलाई बगाएको छ । महोत्तरीको बलवा नगरपालिका–२ बस्ने ७२ वर्षीय हबिब मियाँलाई बगाएको हो । बेपत्ता सबैको खोजी जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, जनकपुर, बारा, रौतहट, सर्लाही, सिन्धुली, उदयपुर, सिरहा, पर्सा, मकवानपुर, चितवनलगायतका जनजीवन प्रभावित भएको छ । खेतीपातीको समयमा पानी परेकाले पहाडी क्षेत्रमा भने किसानहरू रझेरै खेतीपातीमा व्यस्त छन् ।

राजधानीबासी प्रभावित

वर्षाले राजधानीका हनुमन्ते, मनहरा, बागमती, विष्णुमतीमा नदीको बहाव बढेको छ। नदीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी त्रसित भएका छन् । यस्तै बिहानै देखिको अविरल वर्षाका कारण राजधानीका धेरै मानिस घरबाट बाहिर निस्किएका छैनन् । अनामनगरस्थित सिंहदबारको पर्खाल भत्किएको छ । यस्तै कलंकीस्थित मालपोत कार्यालय र प्रहरी चौकी डुबानमा परेको छ ।

काठमाडौं-हेटौंडा सडक अवरुद्ध

निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले हेटौंडा हुँदै काठमाडौं जोड्ने चार वटै सडक अवरुद्ध भएको छ। सिस्नेरी र फाखेल हुँदै हेटौंडा-काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। वर्षाकै कारण आएको पहिरोका कारण हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक पनि चार दिनदेखि अवरुद्ध भएको छ।



प्रतिक्रिया