कृषिमन्त्री खनालले भने : ‘दूतावासको पत्र मैले नै प्रमलाई देखाएको हुँ’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/chakrapani_khanal-copy_1.jpg

काठमाडौं - कृषिमन्त्री चक्रपाणि खनालले भारतीय दूतावासले विषादी परीक्षण रद्द गर्नका लागि पठाएको पत्र आफैँले प्रधानमन्त्रीलाई देखाएको बताएका छन्। शुक्रबार कालीमाटीमा रहेको तरकारी तथा फलफूलको विषादी परीक्षण प्रयोगशाला हेर्न पुगेका मन्त्री खनालले विषादी प्रकरणमा भारतीय दूतावासले पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको दाबी गरेका छन्।

उनले भने, ‘म बाहिर थिएँ परराष्ट्रलाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो। प्रधानमन्त्री यसबारे अनभिज्ञ भएको थाहा पाएपछि मैले नै उहाँलाई पत्रबारे जानकारी दिएको हुँ।’

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत कृषि, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो।

प्रधानमन्त्री केपी ओलीले बिहीबार एक कार्यक्रममा दूतावासको पत्रबारे आफूलाई जानकारी नहुँदा सार्वजनिक रुपमा लज्जित हुनुपरेको भन्दै माफी मागेका थिए।

‘मैले भारतीय दूतावासबाट आएको पत्र कृषि मन्त्रालयमा भेटेको जानकारी प्रधानमन्त्रीलाई दिएपछि प्रधानमन्त्रीले खोई हेरौं त भन्नुभयो। मैले देखाएपछि उहाँले हेर्नुभयो र पत्र त आएको रहेछ, समयमा जानकारी भएन भनेर गुनासो गर्नुभयो’, मन्त्री खनालले भने।

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेपछि सरकार सर्वत्र आलोचना भएको थियो। तर सरकारले भने विषादी परीक्षणको लागि पुर्वाधारको विकास भइनसकेकोले तत्काल विषादी परीक्षण गर्न असम्भव भएको भन्दै सो निर्णयबाट पछि हटेको थियो।

केन्द्रीय ल्याबमा १६९ र अन्यत्र दुई समूहका विषादी परीक्षण हुने गरेको छ। परिक्षणपछि मन्त्री खनालले अर्गानोफस्फेट र कार्बामेट समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुने गरेको जुन तरकारीमा प्रयोग हुने विषादीको करिब ३३ प्रतिशत हिस्सा भएको र अरु परीक्षण गर्न भने केन्द्रीय प्रयोगशालामा नै आउनुपर्ने बाध्यता रहेको बताए।

साथै उनले केन्द्रीय प्रयोगशाखामा सबै समूहको विषादी परीक्षणको रिपोर्ट आउन दुई दिन भन्दा बढी समय लाग्ने र नेपाल आउने प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न सम्भव नभएको दाबी गरे।

विषादी परीक्षण गर्ने २ असारको निर्णयपछि पनि सरकारले प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न थालेको नभएर सर्टिफाइड सर्टिफिकेट खोजेको बताए। उनले अहिले तरकारीमा विषादीको प्रयोग भयावह नभएको समेत दाबी गरे। पछिल्लो पटक गरिएका २००० नमुना परीक्षणमा दुई वटाले मात्र पहेँलो लाइन क्रस गरेको र त्यो तरकारीलाई तत्काल नष्ट गरिएको उनले जानकारी दिए।




प्रतिक्रिया