झरीले खेतमै ल्याइदिन्छ माछा !  

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/fishing.jpg

इटहरी – पूर्वी तराईमा पछिल्ला दुई दिन धेरै पानी परिरहेको छ। झरीले प्रदेश १ को  राजधानी विराटनगर जलमग्न छ। झरी र डुबानमा अनिवार्य काममा जानुपर्नेबाहेक अन्य घरभित्रै बस्छन्।

इटहरी ६ पचरुखीकी अनिता चौधरी भने घरमा बस्दिनन्। उनी झरी र डुबान आउनासाथ जाल बोकेर माछा खोज्न निस्कन्छिन्। माछा खोज्न पोखरी र खोला भने जाँदिनन्। उनी आफ्नो घर आसपासका खेतमा पुग्छिन्।

‘धेरै पानी परेर खेत भरिँदा हाम्रा लागि माछा पनि आउँछ’, इटहरी पचरुखीको जलमग्न खेतमा जाल थापेर बसेकी अनिता भन्छिन्, ‘झरीमा भेला पार्न सजिलो पनि हुन्छ।’ एउटा ठूलो सिमे माछा र एक दर्जन साना झिँगे माछा संकलन गरेकी उनले भनिन्, ‘माछा बेच्न हैन खान जाल लिएर आएको। झरीको माछा मिठो हुन्छ।’

उनले सिमे माछा विषालु हुने भएकाले पकाउँदा ध्यान दिनुपर्ने बताइन्। उनले  झिँगे माछा भने सामान्य पकाइले पुग्ने बताइन्।
 
अनिता चौधरी जस्तै दर्के झरीमा एक हातमा छाता र अर्को हातमा जाली लिएर उभिएका श्रवण चौधरी पनि झरीले माछा ल्याउने बताउँछन्। उनी भन्छन्, ‘यो साल धेरै पानी नपरेर माछा थोरै मात्र भेला भयो।’

पोखरी र खोलाका माछाभन्दा खेतका झरीले ल्याउने माछा सफा हुने श्रवणको तर्क छ। ‘पोखरीमा जमेको पानी हुन्छ। त्यति राम्रो हुँदैन’, श्रवण भन्छन्, ‘खोलामा फोहोर हुन सक्छ तर झरीमा आएका माछा निकै सफा हुन्छन्।’
https://www.nicasiabank.com/

इटहरीको एक निजी विद्यालयमा पढाउने श्रवणले आफूले बाल्यकालदेखि नै झरीमा माछा सङ्कलन गर्दै आइरहेको बताउँछन्। ‘पानी धेरै पर्नु भनेको थारुहरूलाई खाने माछा खेतमै आउनु हो’, श्रवण भन्छन्।

अनिता चौधरी र श्रवण चौधरी मात्रै हैन, धेरै तराईका आदिवासीले झरीमा माछा खोज्ने गरेको बताउँछन् पूर्व प्राज्ञ राम धामी। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य धामी झरीमा माछा मार्नु थारुहरूको संस्कार भएको बताउँछन्। उनी भन्छन्, ‘ससाना झुपडी भएका थारुहरू आफ्नो घर डुबानमा परिरहँदा चिन्ता लिने भन्दा त्यो डुबानको पानीमा आएका माछाहरू भेला पारेर खुसी हुन्छन्।’

खेतमा डेर्णी, पोठी, चेँङा, पैवाँ जस्ता प्रजातिका माछा धेरै पाइने धामी बताउँछन्। अरू माछाभन्दा मिठो र स्थानीय हुने भएकाले यस्ता माछा मार्न धेरै लोभिने धामीको भनाइ छ।

मासु किन्नु नपर्ने र पोषिलो हुने भएकाले झरीमा माछा मार्ने चलन सदीयौँदेखि भएको धामी बताउँछन्। एकै लाइनमा धेरै जाल हुने भएकाले माछा धेरै भेला नभए पनि यसको स्वादका कारण धेरैले जाल हाल्ने बताउँदै धामी भन्छन्, ‘दुई तीन सय ग्राम सम्म एक जनाले भेला पार्छन्।’

पानी उम्रने वा जम्मा हुने माटोमा यस्ता माछा बगेर आउँछन्। आफैँ उम्रन्छन् वा झरीसँगै आउँछन् भन्ने बारेमा थारु समुदायमा फरकफरक मत छ। उनी भन्छन्, ‘सुख्खा खेतमा एक्कासि झरी परेपछि कसरी माछा आउँछन् भन्ने वारेमा वैज्ञानिक अध्येतासँगै बुझ्नुपर्छ।’

प्रतिक्रिया