दुई तिहाइको अर्थ : खानु विषादी, सुन्‍नु छौंडा !

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/shreekrishna_anuruddha_goutam7.jpg

एकाबिहानै एकजना पुराना साथीले फोन गरेर सोधे, 'के छ ?'
मैले भनें, 'गज्जब छ !'

अचम्म मान्दै उनले भने, 'तिम्रो यो बानी अचम्मको छ यार जहिल्यै गज्जब छ भन्छौ । धुलोधुँवा, पानी परे खाल्डाखुल्डी पहिल्याउँदै हिँड्नु छ, वरिपरि अरिंगालको गोलो छ, खानु छ विषादी र प्रतिदिन प्रधानमन्त्रीका, मन्त्रीका, सल्लाहकारका मुखबाट सुन्नु छ अपशब्द । तैपनि भन्छौ, गज्जब छ ।'

सरकारबारे नकारात्मक चर्चा बढी छन् अचेल र दिनप्रतिदिन बढ्दा छन् र यो नकारात्मकता सरकार स्वयंकै देन हो । नकारात्मक हुनुमा नकामका कामहरुको प्रभाव त छ नै बोलीवचनको ठूलो भूमिका छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैं सधैंजसो अरुलाई होच्याएरै बोल्छन् भन्ने कुरा जगजाहेर छ । 

हरेक व्यक्तिको निजत्व हुन्छ, वैयक्तिक प्रतिष्ठा हुन्छ, तर उनीलाई सकेसम्म कसैको मानमर्दन गर्नु हुँदैन भन्ने संज्ञान यतिका उमेर छिप्पिँदा पनि नभएको हुँदा अब होला भनेर कामना गर्नु निरर्थक हो । तथापि उनी देशकै कार्यकारी प्रमुख भएकाले चित्त बुझ्दैन, त्यसैले हरेक दिन हजारौं अक्षरले उनलाई सम्झाई बुझाइरहेका हुन्छन् । तर ओली भने नबुझ्न कृतसंकल्पित छन् ।

हरेक विषयका कम्तीमा दुई पाटा हुन्छन्, सकारात्मक र नकारात्मक । सरकारको कार्यप्रदर्शनका पनि दुवै पाटा छन् । सकारात्मक छँदै छैन भनेको होइन । एउटा सकारात्मक त पक्कै छ – यो दुई तिहाइको सरकार हो । चुनावका बेला मिठामिठा कुरा सुनेर नेपाली जनताले झुक्किएरै सही यो दुई तिहाइ पाएकै सरकार हो । हुन त दुई तिहाइ शक्ति हो तर शक्तिको दुरुपयोग भएपछि शक्ति, शक्ति नरहेर हास्यव्यंग्यको विषय बन्छ भन्ने दृष्टान्त आज स्वयं यही दुई तिहाइ बन्न गएको छ ।

दुई तिहाइबाहेक अरु सकारात्मक छन् भने पनि तिनलाई नकारात्मकले नराम्ररी थिचेको छ । नकारात्मकको तौल दिनहुँ बढ्दो छ र नकारात्मकमा अरु भार थप्ने कामचाहिँ प्रधानमन्त्री केपी शर्मा ओली स्वयं र उनका प्रियपात्रहरु गर्दै छन् । असार २२, २०७६ बिहान ६:४० बजेसम्म नकारात्मक भार थप्नेहरुको अग्रपंक्तिमा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा थिए र उनलाई पछ्याउँदै थिए, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई । तर २२ गते एकाबिहानै एउटा ट्विट पोस्ट गरेर उनीहरु दुवैलाई उछिन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले अभद्रता र अशिष्टतामा सेन्चुरी हानिदिए ।
 
विष्णु रिमाल र राजन भट्टराई दुवैसँग यदाकदा मेरो बोलचाल भएको हो । गोकुल बाँस्कोटालाई प्रत्यक्ष कतै देखें कि थाहा छैन । यसपालि उनी मन्त्री बन्नुभन्दा पहिला यो नाम र मुखमुद्राको कुनै मानिस छ भन्ने थाहा थिएन । यसर्थ बोलचाल हुने त कुरै भएन तर टिभीमा उनको अनुहार देख्नासाथ धेरै घरमा च्यानल स्किप गर्ने गरिन्छ भन्ने सुनेको छु । म टिभी विरलै हेर्छु । रिमाल र भट्टराई दुवै भेटेकै, यदाकदा सही, रामै्र बोलचाल भएकै मानिस हुन् । मलाई त सज्जन लाग्थे र उनीहरु प्रधानमन्त्रीका सल्लाहकारले पालन गर्नुपर्ने मर्यादासँग राम्ररी अवगत छन् भन्ने लाग्थ्यो । 

किनभने प्रधानमन्त्रीको सल्लाहकार भनेको प्रधानमन्त्रीलाई सल्लाह दिने पात्र हो, अरूलाई आफ्ना उपदेश पढाउनु उसको अधिकार क्षेत्रभित्र पर्दैन । प्रधानमन्त्रीका सल्लाहकारले चिन्ता गर्नुपर्ने विषय प्रधानमन्त्रीको राजनीतिक स्वास्थ्य हो। प्रधानमन्त्रीको प्रस्तुति हो । उनलाई दिने नीतिगत परामर्श हो ।
 
सल्लाहकार कार्यकारी पद होइन । परामर्श दिने हो, मान्नु–नमान्नु प्रधानमन्त्रीको तजबिज र विवेकमा भर पर्छ । सल्लाहकार भनेको हुक्केबैठके होइन अर्थात् उसले कोटेरीमा बस्न मिल्दैन । उसको कुनै प्रत्यक्ष राजनीतिक स्वार्थ हुँदैन, हुन हुँदैन । ऊ निजी सचिव होइन ।
 
सल्लाहकार सार्वजनिक रुपमा प्रधानमन्त्रीको प्रतिरक्षामा उपस्थित हुनुपर्ने प्रवक्ता होइन । सल्लाहकार प्रधानमन्त्रीको शुभचिन्तक हो र परामर्शदाता हो, ऊ पूर्णतया प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छ, हुनुपर्छ । त्यसैले सल्लाहकारहरु भइपरी आउने अवस्थामा बाहेक सार्वजनिक टीकाटिप्पणी गर्दै हिँड्दैनन्, हिँड्नु हुँदैन । जे सल्लाह दिने हो प्रधानमन्त्रीलाई सोझै दिने हो, ट्विट, फेसबुकमार्फत होइन । सल्लाहकार राजनीतिक समझ भएका विषय–विशेषज्ञ प्राज्ञ हुन् । त्यसैले उनीहरु पदीय हिसाबले 'हाई प्रोफाइल' भए पनि सार्वजनिक प्रस्तुतिमा सकेसम्म 'लो प्रोफाइल' मा रहनुपर्छ ।
https://www.nicasiabank.com/
 
वर्तमान प्रधानमन्त्रीका कति जना औपचारिक र अनौपचारिक सल्लाहकार छन् थाहा छैन । थाहा पाउनु जरुरी पनि छैन । उनी सल्लाह लिन्छन् भन्ने पनि लाग्दैन किनभने सल्लाह लिन्थे भने बिचरा रिमालले  छौंडा भन्ने स्तरमा ओर्लेर आलोचकविरुद्ध मुख छाड्दै आफू प्रधानमन्त्रीको नजिक भएको देखाउन ट्विटरको सहारा लिनुपर्ने थिएन । त्यसो हुँदैन थियो भने उनको सोझो पहुँचमा त प्रधानमन्त्री नै छन्, देशकै कार्यकारी प्रमुख । उनले प्रधानमन्त्रीसँगै बसेर आलोचनाको प्रत्युत्तर कसरी दिने भनेर रणनीतिक विचारविमर्श र परामर्श गर्न सक्थे । प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने सन्दर्भमा क्षमा माग्नुपर्छ भन्न सक्थे । तर यसरी बाहिरै अमर्यादित र क्षुद्रतम तरिका देख्दा कतै उनी नाममात्रका सल्लाहकार त होइनन् भन्ने शंका उत्पन्न भएको छ ।
  
सल्लाहकार रिमाललाई छौंडा जस्ता ओलीले प्रयोग गरिसकेका शब्दहरु पुनः प्रयोग गर्दा उनी दंग पर्छन् भन्ने लागेको हुन सक्छ । ओली आफैंले आफ्ना विरोधीहरुप्रति लक्षित गर्दै २०७३ सालमा यो शब्दको प्रयोग गरेका थिए । रिमालले सम्भवतः ओलीकै प्रिय शब्द भनेर यसको दोहोर्‍याएर प्रयोग गरेका हुन सक्छन् । यसले ओली 'खुसा' भए भएनन्, थाहा भएन तर उनलाई ओलीको नक्कल भने निकै महँगो पर्‍यो । किनभने विशेष गरेर सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्रै आन्तरिक–प्रतिपक्ष सशक्त हुँदै गएको सन्दर्भमा रिमालले ओलीप्रति आफ्नो अविचल निष्ठा प्रदर्शन गर्न आफ्नै पार्टीभित्रका आलोचकहरुलाई छौंडा भनेका हुन् भन्ने रुपमा लिइँदैछ ।

गालीका रुपमा चिनिने यो शब्द बोक्सीले आफ्ना सहयोगीलाई बिरालोमा रुपान्तर गरेर आफूले रिस साध्ने मानिसविरुद्ध प्रयोग गर्ने अर्थमा लिइन्छ । साथै, उनको यो कथनले एउटा गम्भीर बहस पनि सुरु भएको छ । बोक्सी यद्यपि एउटा अन्धविश्वास हो तर रिमालबाट थाहा हुन आयो, नेकपामा यसलाई विश्वासका रुपमा मान्यता दिइएको रहेछ । अर्थात् बोक्सी भनेर कुटपिट गरिएका र गरिने कुप्रथा र कुरीतिगत मान्यतासँग नेकपाको अभिमत मिल्दो रहेछ । रिमालले आलोचकलाई छौंडा भनिरहँदा उनले बोक्सीका रुपमा इंगित गरेका पात्र पनि पार्टीभित्रै छन् भन्न खोजेका होलान् । यसले रिमालको स्तरमात्र देखाएन यसका साथै पार्टीभित्र गहिरिँदो मतमतान्तर कति कटुतापूर्ण हुन पुगेको रहेछ भन्ने समेत देखिएको छ । 
 
साँच्चै भन्नुपर्दा कसैप्रतिको कटुतावश क्षुद्रतामा ओर्लिने र अशोभनीय सम्बोधन, नाम र उपनाम दिने चलन अचेल अलि बढी नै छ (यद्यपि जसलाई इंगित गरेर अपशब्द प्रयोग गरिन्छ उसलाई किञ्चित मानसिक पीडा होला तर स्तर भने प्रयोगकर्ताकै छर्लंग हुन्छ) । यसमा रिमाल एक्ला छैनन् र दुर्भाग्यवश यसको उत्पादन स्वयं प्रधानमन्त्री ओलीबाटै भइरहेको छ । मानिस बडाकै अनुकरण, अनुसरण गर्छन् । भनिन्छ नि, गुरुअनुसारकै चेला हुन्छन् । हाकिमअनुसारकै कारिन्दा । प्रधानमन्त्री ओली स्वयं दिनप्रतिदिन बुझिनसक्ना हुँदै गएका छन् । उनीबारे सार्वजनिक टीकाटिप्पणीहरु सुनिनसक्ना छन् । यहाँ लेखिनसक्ना छन् । 

अस्ति पनि सधैंजस्तै बेलुकीतिर घुम्न निस्कें । तर वासस्थानबाट अलि परै पुगिएछ । दर्के पानी पर्‍यो । एउटा पसलमा ओत लागें । पानी परेकोले अरू पनि ओत लागेका थिए । एकदुई जना परिचित थिए । त्यहाँ कुरा सुरु भयो भक्तपुरको घटनाको । छोरीले प्रेमीसँग मिलेर आमालाई मारेको, मराएको । बिस्तारै प्रसंग यति धेरै बेथिति किन भन्नेतर्फ मोडियो र सुरु भयो प्रधानमन्त्री ओलीका हालैका अभिव्यक्तिबारे अविरल चर्चा ।
 
चर्चैका बीच ओलीले आफू प्रधानमन्त्री बन्दा काठमाडौंका आधा मानिस मास्क लगाएर हिँड्ने गरेका तर डेढ वर्षपछि एउटै मानिसले पनि मास्क लगाउनु नपर्ने गरी काठमाडौं धुलोधुवाँरहित भएको भन्ने उद्घोष गरेको प्रसंग आयो । अहिले त वर्षात् सुरु भएको छ तर प्रधानमन्त्रीले त्यसो भनिरहँदा टन्टलापुर घाम लागेको थियो । धुलोधुवाँले सडकपेटीबाट हिँडी नसक्नु थियो । अधिकांश मानिस मास्क लगाएरै हिँडिरहेका थिए । जब प्रधानमन्त्रीको बोली फैलियो, प्रधानमन्त्री कसैका लागि हाँसोका विषय र कतिसम्म दुःखद भने कतिपयका लागि होस गुमेको पात्रका रुपमा चर्चाका विषयवस्तु बन्न पुगे ।
 
त्यस्तै विषादी जाँच गर्न तरकारी र फलफूल लिएर भारतबाट आएका ट्रकहरु सीमा नाकामा रोकिएको घटना । त्यो पनि राजपत्रमै प्रकाशित गरेर । त्यसलाई सर्वसाधारणले राम्रो मानेका थिए, सरकारको त्यो कदमलाई सकारात्मक रुपमा लिएका थिए । तर केही दिनपछि मन्त्रिपरिषद्कै निर्णयद्वारा परीक्षण नै नगरी भित्र्याउने आदेशले देशै स्तब्ध हुन पुग्यो । प्रधानमन्त्रीले भारतको दबाबमा नभएर परीक्षण उपकरण नभएकाले बिना परीक्षण भित्रिन दिएको भने तर उनको भनाइको प्रतिध्वनि मत्थर नहुँदै भारतीय दूतावासले परराष्ट्र र उद्योग मन्त्रालयलाई बिना जाँच सामग्री नेपाल भित्रिन दिनुपर्ने भनिएको पत्रको प्रतिलिपि सञ्चारमाध्यमहरुमा छ्याप्छ्याप्ती भयो ।
 
यसबाट प्रधानमन्त्रीले सग्लै ढाँटेको भन्ने ठहर त भयो नै जनसामान्यमा दुई किसिमको प्रभाव पर्‍यो । एक, सरकार भारतका सामु नझुक्नुपर्ने विषयमा झुक्यो र दुई, भारत नेपालीलाई विष खुवाउँदैछ भन्ने सन्देश पनि गयो । यस घटनाले सरकारको विश्वसनीयतामाथि त शंका उत्पन्न भयो नै, मुलुकमा भारतविरोधी भावना अरु प्रवद्र्धित भयो । राष्ट्रवादी भनेर भोट पाएका, राष्ट्रवादकै नारामुन्तिर दुई तिहाइ जुटाउने केपी शर्मा ओली नेपाली जनस्वास्थ्यका मामिला यति गैरजिम्मेवार हुन सक्छन् भनेर सायदै कसैले सोचेका थिए । के दुई तिहाइको अर्थ, खानु विषादी सुन्नु अपशब्द हो ?
 
नभए यस्ता मामिलामा विभिन्न थरीबाट, विभिन्न कोणबाट सार्वजनिक रुपमा एवं सत्ताधारी पार्टीभित्रै आलोचना हुनु कुन गलत कुरा भयो र, एकाबिहानै प्रधानमन्त्रीका सल्लाहकारको ट्विटबाट छौंडा छुट्यो ? लोकतन्त्रमा त आलोचनालाई सूचनाका रुपमा बुझ्नुपर्छ, यसले जनभावना कता ढल्किँदैछ भनेर अनुमान गर्न सहयोग पुग्छ । 
 

प्रतिक्रिया