मेलम्ची आयोजनालाई तिव्रता दिन मन्त्री मगरको आग्रह 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/Melamchi_Drinking_Water_Project_.jpg

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको कामलाई तिव्रता दिनेबारे छलफल गर्न सिंहदरबारमा उच्चस्तरीय बैठक बसेको छ।

बैठकले आयोजनालाई बिनाअवरोध समयमै सम्पन्न गर्न कार्यदलको प्रतिवेदनका सुझावहरुलाई आधार मानी समस्या समाधानका लागि आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ। 

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बुधबार खानेपानी मन्त्रालयमा सिन्धुपाल्चोकमा जनप्रतिनिधि र मन्त्रालयका सचिव सहभागी उच्चस्तरीय बैठक सम्पन्न भएको हो।

बैठकमा मन्त्री मगर, पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्यद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोपाल तामाङ र मेलम्ची खानेपानी आयोजना विकास समितिका उपकार्यकारी निर्देशक रामचन्द्र खरेल सहभागी थिए। 

बैठकमा मन्त्री मगरले मेलम्ची आम नेपालीहरुको सरोकार र राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाको बाँकी काम तिव्रताका साथ सम्पन्न गर्न आफू लागिरहेको जानकारी गराइन्। उनले आयोजनाको निर्माण कार्यमा देखिएको असहजता हटाउने काममा आवश्यक सहयोग गर्न बैठकमा सहभागी नेताहरुलाई आग्रह गरिन्।

बैठकमा मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न देखिएका समस्याहरुको समाधान कसरी गर्ने भन्ने एजेण्डामा छलफल भएको थियो।

गत डिसेम्वरमा आयोजना निर्माणको ठेक्का लिएको सिएमसी कम्पनिले काम छोडेपछि आयोजना प्रभावित हुँदै आएको थियो। यही २०७६ जेठ ६ गते नेपाल सरकारको मन्त्रीपरिषद बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक कामकाज गर्न मेलम्ची आयोजना विकास समितिलाई निर्देशन दिएको थियो। 

मन्त्रीपरिषदको निर्देशन बमोजिम आयोजनाले जेठ १७ गते निर्माणको बाँकी काम सम्पन्न गर्न टेण्डर आव्हान गरेको थियो।


तर, पूरानो ठेकेदार कम्पनि सिएमसीले कामदार, ढुवानीकर्ता र सह–ठेकेदारहरुलाई दिनुपर्ने भुक्तानी नदिएको भन्दै स्थानीयले आयोजनाको काम अवरुद्ध गरेपछि आयोजनाले मेलम्ची खानेपानी सिएमसी भुक्तानी, अवरोध, अध्ययन तथा सहजीकरण कार्यदल गठन गरेको थियो।



प्रतिक्रिया