विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/world.png

अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ।

पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको हो। उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन्।

मन्त्री हुँदा कृषि र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका पूर्वमन्त्री बेर्कात अहिले ७१ वर्षका भएका छन्। गलत शासन र अनियमितताको आरोप उनलाई लागेको छ। 



भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार बार्बेडोसमा सुरू भएको सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति आफू ‘आशावादी’ बनेको बताएका छन्। यसै बर्षको जनवरीमा भेनेजुयलाका राष्ट्रिय सभाका अध्यक्ष हुआँ गुएइदोले आफू देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राष्ट्रपति मदुरोमाथि प्रत्यक्ष चुनौति खडा भएको थियो। प्रतिपक्षी दलका नेता गुएइदोको घोषणालाई संयुक्त राज्य अमेरिकाले तत्काल समर्थन गरेको थियो भने यूरोपेली केही मुलुकसहित विभिन्न ५० मुलुकहरूले पनि अमेरिकी निर्णयलाई पछ्याएका थिए।



चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्वको अधिकार संरक्षणलाई थप मजबुत पार्ने भएको छ।

चीनले सन् २०१९ को पहिलो छ महिनामा छ हजार ५२९ एकल स्वामित्व उल्लङ्घनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मङ्गलबार एक पत्रकार सम्मेलनमा बताएको छ। सन् २०१९ को पहिलो छ महिनामा चीनमा कुल दुई लाख ३८ हजार अविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशत बढी हो।



जलवायु परिवर्तनका कारण विश्वको तापक्रममा वृद्धि हुने क्रमसँगै अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै व्यापक चुनौति आएको सोमबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अमेरिकी वैज्ञानिकले भनेका छन् हरेक पाँच माछामध्ये एकभन्दा बढी माछाको जलवायु परिवर्तनका कारण बढेको तापक्रमका कारण मृत्यु हुने गरेको छ। सन् २००४ देखि सन् २०१४ सम्म गरिएको अध्ययनमा पानीको सतहमा तापक्रमको वृद्धिका कारण औसतमा २० प्रतिशत माछाहरू मर्ने गरेका ‘नेचर क्लाइमेट चेन्ज जोर्नलमा’ प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ।


अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ। वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो। राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन।

बाढीबाट सडक तथा घरहरु डुबेका छन्। अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो। रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन्।


  
जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ। जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन्।

सन् २०१८ मा कार्यरत अपाङ्गता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६.३ प्रतिशतले कामका शिलशिलामा आफूहरूलाई समस्या पर्ने गरेको बताएका प्रतिवेदनमा उल्लेख छ। उनीहरूले काम र उपचारको सन्तुलन मिलाउन निकै कठिन पर्ने गरेको सर्वेक्षणकर्ताहरुले जनाएका छन्। 



सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साताहान्तमा भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले बताएका छन्।

राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको बताए। हकले यसै वर्ष त्यस क्षेत्रमा भएका विभिन्न आक्रमणमा कम्तीमा १४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए।



विश्व बैंकले ट्युनिसियालाई विकेन्द्रीकरण कार्यक्रममा सघाउन २१ लाख अमेरिकी डलर अनुदान दिएको छ।

उक्त सहयोगसम्बन्धी सम्झौतामा ट्युनिसियाको विकास, लगानी तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयमा हस्ताक्षर भएको ट्युनिस अफ्रिका प्रेसले जनाएको छ। विश्व बैंकको यस अनुदानबाट ट्युनिसियामा शक्तिको विकेन्द्रीकरणको प्रक्रियालाई सहयोग पुग्ने बताइएको छ।



दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता (आफ्टा) को घोषणा अफ्रिकी जनताका लागि निकै महत्वपूर्ण रहेको बताएका छन्।

नाइजरको नियामेमा सम्पन्न अफ्रिकी युनियनको बैठकमा सहभागी भएर केपटाउन पुगेका राष्ट्रपति रामाफोसाले पछिल्लो सम्झौताले अफ्रिकी मुलुकहरुको अर्थतन्त्रलाई नयाँ स्वरुप र प्रगतिपथमा लैजाने विश्वास व्यक्त गरे।

उनले भने, 'यो व्यापार सम्झौता अफ्रिकाका लागि कोशेढुंगा हो र ६० वर्षअघि अफ्रिकी युनियनको स्थापना गर्दा त्यसका संस्थापकहरुको साझा सोचको परिणामस्वरुप यो उपलब्धी भएको हो।'


 
चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ। उक्त घटनामा अरु २० जना घाइते भएका थिए।





प्रतिक्रिया