विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/world.png

आज विश्वभर के भयो हेर्नुहोस् मुख्य १० समाचार

१. उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २९ जनाको ज्यान गएको र अरु १५ यात्रु नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ ।
भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

२. अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् । 
ती सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन् ।

३. भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन् । आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो । 

भेनेजुयलाका सूचना तथा सञ्चारमन्त्री जर्ज रोड्रिगेजले ट्वीटरमार्फत लेखेको सन्देशमा सरकार र प्रतिपक्षी दलले नर्वेको मध्यस्थतामा वार्ता गर्न सहमत भएको पुष्टि गरेका छन् ।

४. बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ (आएजी) ले सोमबार जनाएको छ । 

कम्प्युटरका घुसपैठ (ह्याकर) हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो ।
आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ ।’

५. संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ ।

चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरानियम प्रशोधनको उच्च सीमालाई तोड्ने घोषणापछि आएको हो ।
‘तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बेइजिङमा भएको नियमित पत्रकार भेटमा भने ।
उनले भने, ‘अमेरिकाले इरानमाथि सिर्जना गरेको अत्यधिक दवाब इरानी आणविक सङ्कटको कारण हो ।’

६. जर्मनीले सिरियामा सैनिक पठाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट गरेको छ । सिरियामा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको सैनिक कारबाहीमा सघाउन अमेरिकाले केही दिनअघि जर्मनीलाई अनुरोध गरेको थियो ।
https://www.nicasiabank.com/

जर्मन सरकारका प्रवक्ता स्टिफेन साइबर्टले इस्लामिक स्टेट समूह विरुद्धको वृहद् गठबन्धनमा जर्मनी सहभागी रहेको र त्यसलाई निरन्तरता दिइने बताउँदै प्रत्यक्ष सैन्य परिचालन नगरिने स्पष्ट पारे ।
सिरियासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले जर्मनीका सञ्चार माध्यमलाई आइतबार प्रतिक्रिया दिँदै उत्तरी सिरियामा जर्मनीले आफ्ना सेना तैनाथ गरोस् भन्ने अमेरिकी चाहना रहेको बताएका थिए ।

७. चिनियाँ एक्सपोर्ट एम्पोर्ट बैंक (चाइना एक्जीम बैंक) ले ४६ वटा अफ्रिकी मुलुकमा सञ्चालित परियोजनाहरुका लागि ८७ अर्ब अमेरिकी डलर लगानी गरेको छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा अफ्रिकी मुलुकका आर्थिक तथा सामाजिक लाभका क्षेत्रमा बैंकले लगानी केन्द्रित गरेको छ ।

बैंकले स्वच्छ ऊर्जा, नवीन ऊर्जा र नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगसम्बन्धी परियोजनामा मद्दत गर्ने योजना अघि सारेको बैंकका डेपुटी गभर्नर सी पिङले बताए ।

८. इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबार विनाशकारी भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । 
इरानी भूकम्प मापन केन्द्रले ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । खुजेस्तान प्रान्तको मस्जिद सोलेमान क्षेत्रमा भूकम्प गएको हो । 

स्थानीय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण अरु २४ जना घाइते भएका छन् । स्थानीय समय अनुसार विहान ११.३० बजे भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।
संकट व्यवस्थापन केन्द्रले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । भूकम्पले ग्रामीण क्षेत्रका धेरै घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।  

९. अमेरिकाले आगामी सेप्टेम्बरमा हुनेगरी तय भएको अफगानी राष्ट्रपतीय निर्वाचनअघि नै तालिबानसँग कुनै किसिमको राजनीतिक सम्झौता हुने विश्वास व्यक्त गरेको छ । अमेरिकाले राजनीतिक सहमतिसँगै विदेशी सेना अफगानिस्तानबाट फिर्ता हुन थाल्ने जनाएको छ ।

जर्मनी र कतारको आयोजनामा पछिल्लो दुई दिने वार्ता भइरहेको हो । वार्तामा अफगानिस्तानका ७० जना प्रतिनिधिको सहभागिता छ । 

वार्तामा तालिबान विद्रोहीले महिलाको भूमिका, आर्थिक विकास र अल्पसंख्यकको भूमिकाका बारेमा पनि धारणा राखेको अफगानी प्रतिनिधिमण्डलकी सदस्य असिला वार्दाकले बताईन् ।

१०. नाइजेरियाको उत्तरी काट्सिना राज्यमा बन्दुकधारीहरुले गाउँमा आक्रमण गरी छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार आक्रमणकारीले काट्सिनाको काँकडा जिल्लाका माकेर्स, डान साबाउ र पावा गाउँमा हमला गरेका थिए । उनीहरुले बन्दुक र ग्रिनेड पड्काएर गाउँमा आतंक फैल्याएका प्रहरी प्रवक्ता गाम्बो इसाहले बताए ।
इसाहले प्रहरीको जवाफी कारबाहीमा केही आक्रमणकारी मारिएको दाबी गरे । उनले आक्रमणकारीको खोजी गरिरहेको पनि जानकारी दिए । 

प्रतिक्रिया