'ज्ञानेन्द्रबाहेक कसैले संविधान मानेनन्'

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/shree_shamsher_rana2.jpg

श्रीश शमशेर राणा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन बेला सूचना तथा सञ्चारमन्त्री थिए। उनी त्यतिबेला राजाका नजिकका सल्लाहकारमध्ये थिए। लामो समयसम्म पत्रकारितामा आबद्ध राणा अहिले पढलेखमै व्यस्त छन्। शाहीकालका शक्तिशाली मन्त्री राणासँग पछिल्लो राजनीतिक अवस्था, मिडिया विधेयक र राजसंस्थाबारे नेपाल समयका लागि बालकुमार नेपाल र मित्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश 

शाहीकालमा चर्चाको शिखरमा रहेका तपाईं यतिबेला गुपचुप हुनुहुन्छ, किन?

सधैँ प्रचार र चर्चामा आइँदैन। म एकपटक तीनमहिने मन्त्री भएँ। त्यतिबेला मेरो अडानका कारण मिडियाले धेरै स्पेस दिए। तर अहिले म राजनीतिभन्दा लेख्ने–पढ्ने काममै व्यस्त छु। पहिले पनि म लेखपढमै व्यस्त हुन्थेँ। पत्रकारितामार्फत विचार प्रकट गर्नु नै मेरो राजनीति हो। त्यो अहिले पनि गरिरहेको छु। राजतन्त्र अन्त्यपछिको १२ वर्ष अवधिमा निषेधको राजनीतिले गर्दा मैले कुनै लेख लेखेको छैन। त्यसैले म अहिले राजनीतिमा छैन भन्दा साथीभाइँ हाँस्छन्।

निषेधचाहिँ कसले गर्‍यो?

तपाईंहरूले। प्रदत्त व्यवस्थाका प्रवत्ताहरुले गरे। अहिलेको पत्रकारितामा यस्ता व्यक्ति प्रशस्त छन्।

आफ्ना विचार राख्न त पत्रकारिता प्रयोग गर्न सकिहाल्नुहुन्थ्यो नि ?

म मन्त्री बन्नुभन्दा केही समयअगाडिसम्म मेरो लेख छापिन्थ्यो। मन्त्री भएपछि पत्रकारहरू आउँथे, रेकर्ड गरेर लगेर छाप्थे। पछि पत्रकारहरूले ‘मैले त सकिनँ दाइ’ भनेर छाप्न छाडे। सितिमिति म पब्लिसिटी पनि खोज्दिनँ। किनभने कुन पत्रिका कुन खेमाको भन्ने मलाई थाहा छ। तर मिडियासम्बन्धी विधेयक अहिलेको सरकारलाई पनि सुहाएनछ। पत्रकार जगत् यसको विरोधमा छ।

मानिसहरू मन्त्री बन्न वर्षौं राजनीति गर्छन्, तर तपाईं त फुत्त बन्नुभएको थियो नि?

मेरो राजनीति नै पत्रकारिता परेछ। त्यसैकारणले मलाई महाराजाधिराजको कार्यकालको अन्तिम तीन महिना मन्त्री बन्ने मौका मिल्यो। म मन्त्री भएपछि पत्रकारहरुले सोधेका थिए, कस्तो लाग्यो? जबाफमा मैले दुःख लाग्यो भनेँ। महाराजाधिराजले मेरो ठाउँमा निर्वाचित मन्त्री खोजिबक्सेको थियो। तर म निर्वाचित थिइनँ।

तपाईं राजाको मन्त्री नभएको भए अहिले जनताको मन्त्री बन्नुहुन्थ्यो कि ?

जनताको मन्त्री बन्न त चुनाव लड्नुपर्‍यो, पार्टीमा ज्वाइन गर्नुपरो नि। म त ०४७ सालमा आएको बहुदलीय व्यवस्थासँगै असहमत हो। त्यसैले जनताको मन्त्री बन्न सक्ने कुरै भएन।

तपाईलाई राजाले किन मन्त्री बनाएको होला ?

महाराजधिराजबाट निगाह भयो। यसकारणले बनाएको भनेर कारण जनाइएन। राजाका सचिवले एक रात फोन गरेर मन्त्री लिन्छस् भन्नुभयो। हुन्छ भनेँ। भोलिपल्ट नाम निस्कियो।

तपाईंलाई त्यस्तो समयमा मन्त्री भएर ठूलो काम गर्न सकिन्छ भन्ने विश्वास थियो?

राजाको शासन फेल खाएपछि रायमाझी आयोग गठन भयो। तैंले राजालाई सहयोग गरिस् नि भनेर सोधे। संविधानअनुसार धारा २७ बमोजिम राजा एकताको प्रतीक र संविधानको संरक्षक हुने प्रावधान थियो। राष्ट्रिय एकतामा खलल आयो, संविधानमा आँच आयो सहयोग गर भनेकाले मैले राजालाई सहयोग गरेको जबाफ दिएँ। मैले उल्टो आयोगलाई सोधें, तपाईंहरूले किन राजालाई सहयोग गर्नुभएन भनेर ? राजासँग मिल्ने, संविधान मान्ने अनि राजाले जे गरे पनि गलत गर्‍यो भन्ने मान्यताले हामी यो अवस्थामा आइपुगेका हौँ।

तपाईलाई राजनीतिज्ञ भन्ने कि पत्रकार?

जसरी बुझ्नुस्। म एमए पास गरेर नोकरी खोज्दै पत्रकारितामा पसेको हुँ। मेरो लेखन अंग्रेजीमा थियो थियो। त्यतिखेर त्रिविमा फस्ट डिभिजन आयो भने पढाउन आइज भन्थे। मलाई पढाउने पेसा मन परेको थिएन। म राम्रो नेपाली बोल्न र लेख्न सक्दिनथेँ। मजस्ता अर्धांग्रेजले नेपालमा के काम पाउनु? डेढ वर्ष मैले गोल्डमेडल झुन्ड्याएर नोकरी खोजेँ।

साथी सुवर्ण क्षेत्रीले राइजिङ नेपालमा जान सल्लाह दिए। त्यहाँ वरुणशमशेर राणा सम्पादक रहेछन्। लेख भने। मैले लेखेँ। त्यसबेला पञ्चायत सुहाउँदो भएर होला मेरो लेख छापियो। एक वर्षपछि मनोरञ्जन जोशी राइजिङ नपालको सम्पादक भएपछि मैले नोकरी पाएँ। पत्रकारिता मेरो रुचि हो। मन लागेको कुरा लेख्न पाइने र विभिन्न ठाउँमा जान पाइने भएकाले।
https://www.nicasiabank.com/

तपाईहरुले त्यस बेला ल्याउन लागेको विधेयक र अहिलेकोमा के फरक छ?

राजाले लिइबक्सेका बेला एउटा विधेयक आएको थियो। तर सबैले त्यो अपुरो छ भनेर लेखिरहे। प्रेस काउन्सिल जाँदा सँगै रहेको पत्रकार महासंघको कार्यालय पस्न सक्ने अवस्थामा थिएनँ। महासंघले त्यसको विरोध गरिरहेको थियो। तैपनि सबैको सहभागितामा एउटा विधेयक लेखिँदै थियो, पछि क्याबिनेटमा गएर थन्कियो।

तपाई एन्टी करेन्ट विचार भएको मान्छे हो?

किन करेन्टको विरोध गर्नु? मैले आफ्नो इमेज बढाउन पत्रकारिता गरेको होइन। नागरिक कर्तव्य मात्र पूरा गरेको हुँ। मैले राइजिङ नेपाल छाडेर निजी पत्रिकामा काम गरें। त्यो बेला जनमत संग्रह घोषणा भएको थियो। सुधारसहितको पञ्चायतको पक्षमा लेखें। अरु कोही कांग्रेस थिए कोही कम्युनिस्ट। तर मेरो पत्रिकामा बिपीदेखि सिपीसम्मको अन्तर्वार्ता निस्कन्थ्यो। त्यो बेला मैले अगाडि सारेको विचार अहिले कुनै परिवर्तन छैन। विचार आफ्नो दिने हो। एन्टी करेन्ट जान आवश्यक छैन।

२०६२/०६३  सालको आन्दोलन हुनुमा राजसंस्था र सल्लाहकार असफल भएर हो किन जनता जागेर हो ?

वर्षौंदेखि राजा देखाएर जनता तर्साउने र जनता देखाएर राजा तर्साउने राजनीतिको प्रभाव थियो त्यो। यसमा पछि विदेशी शक्ति पस्यो। राज्यले धानेन। २००७  सालदेखिको राजनीति हेर्दा यही बुझिन्छ।

भनेपछि नेपालमा राजतन्त्रको अन्त्य विदेशीका कारण भएको हो?

त्यत्रा मानिस सडकमा थिए। सडकको जिम्मा पार्टीहरूले लिएका हुन्। नेता भएपछि कार्यकर्ता त सडकमा आउँछन् नै। फेरि भाटा कसेर ल्याएको त हामीलाई थाहै छ नि। आन्दोलनमा विदेशी सहयोग थिएन भनेर भन्न त सक्दैनौँ।

देशमा राजतन्त्र फर्कने सम्भावना कति छ?

तपाईंहरु राजाका कुरा गर्नुहुन्छ। म संविधानको कुरा गर्छु। आन्दोलनले मागेको विघटित संसद् पुनर्स्थापना हो। नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२७ को प्रयोग निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले राजालाई प्रयोग गर्न लगाएका हुन्। त्यो धारामा संविधानमा परेको गाँठो फुकाउने अधिकार राजालाई थियो। अनि राजाले सहयोग नपाएपछि धारा २७ मा टेक्न बाध्य भएका हुन्। यो धारा विफल भएपछि संसद् पुनर्स्थापना माग राजा ज्ञानेन्द्रले पूरा गरिबक्सेको हो। त्यसपछि संवैधानिकता गुमेको देखिन्छ।

त्यसपछि नेता संविधानभन्दा माथि भए। यसो हुनु भनेको सामन्ती युगको राजाजस्तै हो। अहिलेको अवस्था पनि यस्तै छ। संवैधानिक सर्वोच्चता गुमेको छ। अहिले चार थरी मिलेर नयाँ राजाले जे भने त्यही भएको छ। तपाईंहरूले चुनेर पठाएका प्रतिनिधिले त संविधान जारी गरेनन्। पार्टीले ह्विप जारी गरे त्यहीअनुसार भयो। सार्वभौमसत्ता सम्पन्न मुलुकको ठेक्का नेताले पाएका छन्।  तर राजा त कहिल्यै असंवैधानिक थिएनन्।

उतिबेलाका भन्दा अहिलेका राजा खराब भए?

भारतले २००७ सालको क्रान्तिमा झन्डै ४८ घण्टासम्म राणा र कांग्रेसलाई हैदरवाद हाउसमा भेट्न दिएन। त्यहाँबाट फर्केर आएपछि राजा त्रिभुवनले जे गरेका भए पनि हुन्थ्यो नि। तर नेपाल टेक्नेबित्तिकै राजाले ‘तिम्रा बाउन बाजेलाई हाम्रा बाउबाजेले दिएको अधिकार फिर्ता लेऊ’ भने। यसलाई भन्छन् संवैधानिक निरन्तरता। राजा संविधानबमोजिम चलेका छन्। तर आफूलाई फाइदा भए ठिक र नभए बेठिक भनेर अपव्याख्या गर्ने काम भयो। संविधान अनुकूलको पो राजनीति हुन्छ। आफू अनुकूलको राजनीति त होइन।

अरु राजा उदार थिए, तर ज्ञानेन्द्र अलि अनुदार भएका कारण राजतन्त्र अन्त्य भएको भन्ने छ नि ?

राजा किङ इन पार्लियामेन्टको अवस्थामा थिए। राजाले संविधान समात्ने। तर नेताहरु विदेश गएर कर्तुत गर्ने काममा लागे।

राजा ज्ञानेन्द्र किङ इन पावर भएर असफल भएका हुन् भन्ने आरोप छ नि ?

त्यो हुन नदिन त संवैधानिक बाटो थियो। संविधान खतरामा पर्‍यो भनेपछि त संसदीय सहमति हुनुपर्थ्यो। तर त्यसो हुन पाएन।

प्रतिक्रिया