अवकास प्राप्त कर्मचारीलाई उपचार खर्च नदिन निर्देशन

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/Rajya_bebastha.jpeg

काठमाडौं- संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बाट अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च उपलब्ध गराउने प्रावधान सो विधेयकबाट तत्काल हटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो। 

गलत सन्देश दिने गरी आएको सो प्रावधान विधेयकबाट तत्काल हटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनु भयो। समितिले कर्मचारीहरुको संख्या नबढाउन तर सेवा, सुविधा थप गर्न पनि सरकारलाई सचेत गराएको छ।

बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले अवकाश पाएका कर्मचारीहरुलाई पनि उपचार खर्च उपलब्ध गराउने प्रावधानप्रति आपत्ति जनाएका थिए।

समितिका सदस्य एवम् कांग्रेस सांसद डा. डिला संग्रौलाले अवकाश पाएका कर्मचारीहरुलाई विरामी खर्च उपलब्ध गराउने सरकारको सो प्रस्ताव युक्तिसंगत, तर्कसम्मत र न्यायसम्मत नभएकाले पनि मान्य नहुने दाबी गरिन्।

सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले कर्मचारी घटाउन र उनीहरुलाई अनावश्यक सेवा, सुविधा दिने काम नगर्न सरकारलाई सचेत गराईन्। उनले कर्मचारीहरुलाई तालिमलगायतका व्यवस्था गरेर दक्ष बनाउनुपर्ने तर अवकाश पाएका कर्मचारीहरुलाई पनि उपचार खर्च दिने काम भने गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराईन्।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजकिशोर यादवले कर्मचारीहरुलाई भ्रष्टिकरण बनाउने गरी राखिएको सो प्रावधान तत्काल हटाउन सरकारसँग माग गरे। उनले कर्मचारीहरुको संख्या कटौति गर्न र उनीहरुलाई सेवा, सुविधा थप गरेर सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराए।

संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अवकाश पाएका कर्मचारीलाई पनि उपचार खर्च दिने व्यवस्था गरेकोमा सांसदहरुको आपत्ति छ।



प्रतिक्रिया