कालिकोटमा युद्धको झल्को : युवाहरुले गाउँ छोडे, खेत बाँझै

/assets/plugins/bower_components/fileman/Uploads/Kalikot.jpg

सुर्खेत- कालिकोटमा विप्लवका नेता कार्यकर्ता खोज्न प्रहरीले सर्च अप्रेशन थालेको छ। जिल्लाका ९ वटै स्थानीय तहमा हतियारसहित प्रहरी सर्च अभियान सुरु भएपछि युवाहरुले गाउँ छोडेका छन्।

प्रहरीले युवाहरु देखेपछि सोधपुछ गर्ने, त्रास देखाउने र जबरजस्ती विप्लवको कार्यकर्ता भएको आरोप लगाउने जस्ता क्रियाकलाप गरेपछि पक्राउ पर्ने डरले युवाहरुले गाउँ छोडेका हुन्।

‘हप्ता दिन भयो, प्रहरीले खेतबारीमा आएर सोधपुछ र केरकार गर्न थालेको हो।’ नाम नबताउने सर्तमा नरहरिनाथका एक स्थानीयले भने ‘पक्राउ परिने डरले युवाहरुले गाउँ छोडेका हुन्।’

युद्धको झल्को दिनेगरी हतियारसहित प्रहरी घरघरमा पस्ने, बाटोघाटो, खेतबारीमा घण्टौंसम्म केरकार गर्ने, जबरजस्ती विप्लवको कार्यकर्ता भएको आरोप लगाउनेलगायतका क्रियाकलापले युवाहरु गाउँमा बस्न सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ। युवाहरुले गाउँ छोडेपछि रोपाई समेत प्रभावित भएको छ।

रोपारहरुलाई समेत खेतमै पुगेर अनावश्यक दुःख दिन थालेपछि युवाहरु रोपाईमा पनि जान छोडेका छन्। युवाहरु गाउँ छोडेपछि खेत बाँझै रहने चिन्ता बढेको स्थानीयको भनाई छ।

https://www.nicasiabank.com/
यता प्रहरीले भने असार १० गते विप्लव समूहले नरहरिनाथ गाउँपालिकामा आगजनी गरेपछि सर्च अप्रेशन गरेको बताएको छ। कालिकोटका प्रहरी प्रमुख (डिएसपी) विनोद शर्माले विप्लवका कार्यकर्ता खोज्न ९ वटै स्थानीय तहमा प्रहरी परिचालन गरिएको बताए।

विप्लवले अन्य स्थानीय तहमा पनि आगजनी, तोडफोड लगायतका सरकारी सम्पत्तिमा भौतिक क्षति पुर्याउने भन्दै प्रहरी परिचालन गरिएको डिएसपी शर्माको भनाई छ।

यता विप्लव नेतृत्वको समूहले भने प्रहरीको ज्यादती विरुद्ध स्थानीयले प्रतिकार गर्ने बताएको छ। विप्लवका जिल्ला सेक्रेटरी रणदीपका अनुसार प्रहरीले गाउँमा गस्ती बढाए प्रतिकारमा उत्रिन बाध्य हुने बताए।

प्रहरीले युवाहरुलाई अनावश्यक दुख दिने र जनतालाई आतंकित बनाइरहेको भन्दै उनले प्रहरीको ज्यादतीविरुद्ध जनताले प्रतिकार गर्ने तर्क गरे।

कालिकोटका धेरै स्थानीय तहका युवाहरु विप्लवमा आस्थावान देखिन्छन्। मालकोट गाउँपालिका विप्लवका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को घर भएको स्थान हो। बन्दको अवज्ञा गरेको भन्दै विप्लवले गएको असार १० गते राती नरहरिनाथ गाउँपालिकाको कार्यालय, वडा नं. ५ र ६ मा आगजनी गरेको थियो।

प्रतिक्रिया