ट्राफिक प्रहरीको सकस : कारबाही नगर्न जनप्रतिनिधिकै आउँछ दबाब

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/traffic.jpg

जनकपुरधाम – सडक व्यवस्थापनमा जुटेका ट्राफिक प्रहरीले दुई दिनअघि जनकपुरको विमानस्थल चोक नजिक नियम मिचेर सवारी चलाइरहेका १४ जनलाई नियन्त्रणमा लियो। 

मोटरसाइकल चलाइरहेका उनीहरु मध्ये कोहीसँग सवारी चालक अनुमतिपत्र थिएन भने कतिपयले हेलमेट प्रयोग गरेका थिएनन्। सवारी सञ्चालन नियमविपरित मोटरसाइकल चलाइरहेका उनीहरुलाई ड्युटीमा रहेका ट्राफिक प्रहरीले कारबाही गर्नु स्वभाविक थियो।

तर नियम मिचेर मोटरसाइकल चलाउने १४ जना मध्ये दुई जनालाई मात्र ट्राफिक प्रहरीले कारबाही गर्न सक्यो। कारण थियो नियन्त्रणमा लिए लगत्तै कारबाही नगर्न ती ट्राफिक प्रहरीलाई दबाब दिँदै आएको फोन। फोन गर्नेहरु मध्ये कोही जनप्रतिनिधि थिए भने कोही ठुलाबडा। 

‘करिब १४ वर्ष उमेर भएको एक युवकलाई हामीले रोक्यौं,’ नाम उल्लेख नगर्ने शर्तमा एक ट्राफिक प्रहरीले भने, ‘उसँग सवारी चालक अनुमति पत्र र बिल बुक केही थिएन। जरिवाना गर्न सुरसारमात्र कसेका थियौं, फोन आइहाल्यो।’

‘फोन गर्ने व्यक्तिले तपाईले कसलाई समाउनु भएको छ थाह छ? आक्रामक शैलीमा रबाफ झारिरहेका थिए,’ ती ट्राफिक प्रहरीले थपे, ‘तपाईले नियन्त्रणमा लिएको मानिस मेरो छोरा हो। म उपमहानगरपालिको वडामा निर्वाचित सदस्य हुँ। उसलाई तत्काल छोडिदिनु पर्यो।’

‘जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले नै यसरी दबाब दिन थालेपछि कसरी कार्यान्वयन हुन्छ त ट्राफिक नियम,’ ट्राफिक प्रहरीले प्रश्न गरे।

यसैगरी अर्का एकजना ट्राफिक प्रहरीले एकैदिन १४ जनालाई नियन्त्रणमा लिएपनि दुईजनलाई मात्र कारबाही गर्न सकेको दुखेसो पोखे। नियम मिचेर सवारी चलाएकाहरुलाई कारबाही गर्न खोज्दा कारबाही नगर्न व्यापक दबाब आउने गरेको उनको भनाइ छ।

‘जरिवाना लिनु हाम्रो रहर होइन, सबैले नियम पालना गरिदिए कारबाही गर्नुपर्ने अवस्था नै आउँदैन,’ ती ट्राफिक प्रहरीले भने, ‘यहाँसम्म कि लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउनेहरुलाई कारबाही गर्न खोज्दासमेत छोडिदिन दबाब आउँदो रहेछ।’ 

आफूहरुले सवारी सञ्चालनलाई व्यवस्थित बनाउन खोजेपनि अनावश्यक दबाब र सिफारिसले कठिनाई भएको उनले बताए। नियम मिचेर सवारी चलाउनेलाई सिफारिस गरेर प्रोत्साहन गर्ने काम कहीँकतैबाट नभइदिए आफूहरुलाई काम गर्न सहज हुने उनको भनाइ छ।

जनकपुरको चोकहरुमा यस्ता घटना अहिले समान्य झैं बनेको छ। नियम मिचेर मोटरसाइल चलाउनेलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई सकस भएको छ। 

सडकमै हिँडने छाडा चौपायले थप समस्या निम्त्यिाएको छ यहाँ। प्रमुख सरोकारवाला निकाय उपमहानगरपालिका कार्यालयले चासो नदिँदा छाडाचौपाया नियन्त्रण हुन नसकेपछि ट्रफिक नियम कार्यान्वयन गर्न यसले थप जटिलता थपेको ट्राफिक प्रहरीहरु बताउँछन्।

यसैगरी सडक छेउमा पेटी बनाइएको छ तर प्रयोग भने न्यून छ। सडकमा जेब्रा क्रसिङ छ तर त्यहाँ टेम्पो, ई–रिक्साहरु पार्किङ गरिएर राखिएका हुन्छन्। कमै पैदल यात्रीले जेब्रा क्रसिङ प्रयोग गरेका छन् । आफूहरुले सडकमा हिँड्न सिकाउने की सवारी जाँच गर्ने ट्राफिक प्रहरी भन्छन्। ट्राफिक प्रहरीले बेलाबेला सडक नियम पालना गर्नबारे सार्वजनिक रुपमै सूचना र सन्देशहरु दिएपनि पालना भने हुन सकेको छैन्।

प्रदेश २ को अस्थायी राजधानी भइसकेपछि जनकपुरमा सवारी साधनको चाप ह्वातै बढेर गएको छ। प्रदेश सरकाको मुख्यमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयहरु यहाँ भएपछि सवारी साधनको चाप बढेको हो।

सवारी साधनको चाप बढेपनि जनकपुरमा सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको संख्या अपुग छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाभर ट्राफिक प्रहरीको संख्या जम्मा ५०/५२ छ। जसमध्ये ३० जनालाई मात्र जनकपुरमा खटाइएको छ। जनकपुरमा सडक नियम कार्यान्वयन गर्न अहिलेको अवस्थामा न्यूनतम सयजना ट्राफिक प्रहरीको आवश्यकता रहेको ट्राफिक कार्यालयको भनाइ छ।




प्रतिक्रिया