'एसिड' पछिको जिन्दगी (भिडियो)

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/sangita_magar_wall-copy_1.jpg

एसएलसी तयारीको चटारो थियो। संगीता मगर झिसमिसेमै उठिन्। हतारहतार तयार भइन्। अनि लागिन् वसन्तपुरस्थित ट्युसन सेन्टरतिर। ट्युसन सेन्टर प्रवेश मात्र के गरेकी थिइन्, कसैले उनको मुहारमा एकाएक तातोपिरो झोल फालिदियो। उनले भनिन्, ‘अचानक के भयो मैले सोच्न सकिनँ। रुन कराउन थालेँ। असह्य पीडा भयो। सँगैको साथी पनि रुँदै भागी।’ 

संगीता रुँदैकराउँदै घरमा पुगिन्। आमाले के भयो के भयो भन्दै चिसो पानी छ्यापिदिनुभयो। पीडा कम भएन। उनले भनिन्, ‘आगोले पोलेजस्तो भयो। अनि मलाई अस्पताल लगियो। त्यहाँ उपचार भयो र केही राहत भयो। तर एसिडले जीवनमा लागेको घाउ कहिल्यै निको भएन।’ 

कहालीलाग्दो त्यो क्षण

२०७१ फागुन १० गते संगीताको जीवनमा भएको घटना अकल्पनीय थियो उनका लागि। त्यो घटनाले अहिले पनि संगीतालाई घरीघरी झस्काउँछ अनि पीडा हुन्छ। कुनै कसुरबिना नै आजीवन सजाय भोग्नुपरेको पीडा उनलाई छ। अपराध गर्नेहरु त जेल बसेर छुट्छन्, यो त जीवनभर छुटकारा नै नपाउने सजायजस्तो। कस्तो विडम्बना !

एसिडको घाउ त केही निको भयो होला। तर उनको मनमा कहिल्यै निको नहुने चोट लागेको छ। अनुहारको त्यो सुन्दरतामा पोतिएको दाग उनका लागि झनै पीडादायक छ। उनी भन्छिन्, ‘सायद अब चोट कहिल्यै निकै हुँदैन होला।’ 

कति रमाइलो थियो संगीताको त्यो कलकलाउँदो जीवन यात्रा। अहिले सम्झिँदा पनि उनलाई आनन्द लाग्छ। रामेछापमा जन्मेकी संगीता परिवारसँगै काठमाडौं आएर पढ्न थालिन्। व्यस्त सहर काठमाडौंमा उनका दिन रमाइला थिए। खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा रुचि राख्ने उनी सोतोकन कराँतेका ब्ल्याक बेल्ट पनि हुन्। 

पाँच वर्षपछि पनि संगीता भावुक हुँदै त्यही प्रश्न दोहोर्‍याउँछिन्, ‘मैले के अपराध गरेकी थिएँ र यस्तो सजाय भोग्ने ?’ कतैबाट पनि उनले यसको उत्तर पाएकी छैनन्। 

उनी अरु विद्यार्थी जस्तै सेन्ड अप सकाएर एसएलसी परीक्षाको तयारीमा थिइन्। परीक्षा बोर्डले एसएलसी चैतको ५ गते तोकेको थियो। संगीता भन्छिन्, ‘नमेटिने चोट रहेछ यो। केही गर्छु भनेर अगाडि बढ्न खोज्दा पनि त्यही घाउले घोच्छ अनि पोल्छ पलपलमा।’ 

एसिड आक्रमणपछि केही वर्ष निकै पीडा सहनुपर्‍यो उनले। जति प्रयास गर्दा पनि सहन नसक्ने र सम्हाल्न नसक्ने अवस्था भयो। जीवन नै समाप्त भएजस्तो लाग्यो। बाँच्नुको कुनै अर्थ देखिनन्। संगीता भन्छिन्, ‘परिवार र आफन्तले मलाई एकछिन पनि छाडेनन्। मैले भने आत्महत्या गर्ने ठाउँ खोजेर नै धेरै समय बिताएँ।’ 

यस घटनाले परिवारको खुसी बिथोलिदियो। संगीताको यो अवस्था देख्न नसकेर बुबा मानसिक रोगको सिकार बने। संगीता भन्छिन्, ‘त्यसरी हामीसँग बोल्ने रमाउने बुबा अहिले एकोहोरो हुनुहुन्छ, कोहीसँग बोल्नहुन्न। सुत्नु मात्र हुन्छ।’ 

खै त न्याय र क्षतिपूर्ति ?

एसिड आक्रमणको सिकार भएकाका  लागि समाज र राज्य दुवै त्यति संवेदनशील नभएको उनको अनुभव छ। संगीता भन्छिन्, ‘यो निकै जघन्य अपराध हो, जति सजाय दिए पनि कम हुन्छ। यसको पीडा भोग्नेलाई मात्र महसुस हुन्छ, देख्नेहरुलाई होइन।’
 
एसिड आक्रमणको सिकार भएकाहरु न्यायका लागि जीवनभर अड्डाअदालत धाउनुपर्ने अवस्था थप पीडादायक छ। संगीताले सजाय र क्षतिपूर्तिका लागि हालेको मुद्दा अहिले सर्वोच्चमा पुगेको छ। उनी भन्छिन्, ‘पाँच वर्ष भइसक्यो। न्यायका लागि कहिलेसम्म कुर्नुपर्ने?’

संगीतालाई अहिलेको कानुन नै फितलो लाग्छ। उनी भन्छिन्, ‘कानुनको धेरै कुरा म जान्दिनँ तर हाम्रो कानुन नै कडा नभएजस्तो लाग्छ। आठ दस वर्ष जेल बस्छ अनि जेलबाट निस्कँदा त्यो अपराधी फेरि बदलाको भाव बोकेर एसिड हान्न सडकमा निस्किन्छ। त्यसैले त्यस्ता अपराधीलाई आजन्म कैद हुनुपर्छ।’
 
अहिले पनि समाजमा बदला लिन वा दुस्मनी साँध्नका लागि एसिड प्रहार गर्ने आपराधिक घटना भइरहन्छन्। यसलाई निरुत्साहित गर्नका लागि कडाभन्दा कडा सजाय हुनुपर्छ। कानुनमा कडा सजाय र त्यहीअनुसारको प्रभावकारी कार्यान्वयन भयो भने यस्ता घटना कम भएर जान्छन्। यो अरुजस्तो सामान्य अपराध होइन। 

संगीतालाई मिलेको शक्ति 

बिस्तारै संगीतामा एउटा सकारात्मक शक्ति पलायो। त्यही शक्तिले उनलाई बाँच्ने साहस पनि प्रदान गर्‍यो। बाँचेर केही गर्ने अठोट गरिन् उनले। एसिड आक्रमणको त्यो कहालीलाग्दो घटना बिर्सेर संगीताले नयाँ ढंगले जीवन जिउने प्रयास गरेकी छिन्। परिवार र आफन्तको मायाले गर्दा आफू बाँच्न पाएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘परिवारको र आफन्तको मायाले नै मलाई बचाएको छ र म बाँचेकी छु।’ 

यो घटनाले घरपरिवार आफन्तलाई अझै नजिक बनाएको छ। पहिले दसैं वा कुनै चाडपर्वमा मात्र सँगै बस्ने, रमाइलो गर्ने हुन्थ्यो भने अहिले सबै आफन्त र परिवार सानो चाडपर्वमा पनि बसेर रमाइलो गर्छन्। उनी यसमा खुसी छिन्।

संगीता एसिड आक्रमणमा पर्नेहरुको उपचार, पुनर्स्थापना र क्षतिपूर्तिका लागि क्रियाशील छिन्। उनी भन्छिन्, ‘कसैको जीवनमा पनि यस्तो घटना नहोस्।’
https://www.nicasiabank.com/

वसन्तपुरको क्याफेमा संगीतालाई भेट्दा उनको अनुहारमा बेग्लै चमक र आत्मविश्वास थियो। मनमा गहिरो चोट भए पनि नयाँ जीवनमा उनी रमाउन खोजिरहेकी छिन्। सफ्ट ब्ल्यु टप्स र जिन्सको ज्याकेटमा चिटिक्क देखिएकी संगीताले भनिन्, ‘त्यो दुःखद घटनाले पनि मलाई एक खालको शक्ति प्रदान गरेको छ।’
 
अब संगीतालाई पहिलेजस्तो मर्न मन लाग्दैन। उनी भन्छिन्, ‘अब म अगाडि बढ्न चाहन्छु र मलाई कसैले पनि रोक्न सक्दैन। जे गर्छु राम्रो गर्छु। कसैसँग डराउँदिनँ। आफूजस्तै एसिड पीडितहरुलाई उपचार र न्याय दिलाउनका निम्ति लागिरहन्छु। व्यक्तिगत रुपमा एसिड पीडितहरुको उपचार र न्याय दिलाउने प्रयासमा छुँ।
 
हालैको एसिड आक्रमणमा परेकी जेनी खड्काको उपचार तथा पुनर्स्थापनाका लागि पनि संगीताले आफ्नै तवरले अभियान चलाएकी थिइन्। 


बदलाले निम्त्याएको बज्रपात

एसिड आक्रमणको कारण परिवारमा झगडा र बदलाको भावना थियो। साथै अपराधीले उनको भाइलाई ज्यान मार्ने धम्की पनि दिएका थिए।

एक शौचालयको झगडाले यति धेरै भयानक रुप लिन्छ, उनले सोचेकी थिइनन्। विवाद परेको डेढ वर्षपछि यस्तो घटना भयो। संगीता भन्छिन्, ‘डेढ वर्षपछि यो घटना हुनुले अपराधीले धेरै अगाडिदेखि नै तयारी गरेको भन्ने बुझिन्छ।’
 
आपसी झगडा प्रहरीसम्म पुगेर आफ्नो बेइज्जत भएको भन्दै अपराधीले मनमा बदलाको भावना पालेको अनुमान संगीताको छ। दाजुबहिनीको नाताको सम्मान नहुने गरी त्यसले यसो गर्छ भन्ने मैले कल्पना पनि गरेकी थिइन्।


हल्लाले दिएको पीडा

एसिडको घाउ आलो छँदै बजार हल्लाले संगीताको मन पीडा थपिएको थियो। आक्रमणपछिको २६ दिनमा मात्र अभियुक्त पक्राउ पर्‍यो। अपराधी सार्वजनिक गर्दा उनीहरुबीच प्रेम सम्बन्ध थियो भन्ने कुरा आयो, मिडियाले पनि त्यही लेखे। ‘यो बजार हल्लाले मलाई थप पीडा भयो’, संगीता भन्छिन्, ‘यसमा कुनै सत्यता थिएन। यो भ्रम मात्र थियो।’ 

एसिडले निम्त्याएको सकस

संगीताको नियमित स्वास्थ्यमा एसिडले नसोचेको सकस निम्त्याएको छ। छिट्टै बिरामी हुने, गर्मी र जाडो मौसम दुवै उनको दुस्मन बनेको छ। रुघा खोकी लाग्दा सास र्फेन गाह्रो हुने र जाडोमा घाउको छाला सुख्खा हुने समस्याहरु देखिन्छ।
 
उनले कान र नाकमा एउटा पाइप लगाइएकी छिन्। एसिडले बिगारेको छालामा मासु पलाउने क्रममा अनुहार र नाकको आकार नबिग्रियोस् र सास फेर्न सजिलो होस् भनेर त्यो पाइप राखिएको हो। तर त्यो पाइप नाक र कानमा बोकेर हिँड्न सजिलो छैन। सुत्दा घोच्ने र रुघा लाग्दा नाकमा त्यसले दुखाउँछ। यसका साथै एसिड आक्रमणपछि आँखा कमजोर हुने समस्या भएको छ। 

किन हुन्छ एसिड प्रहार ?

मनोविद् पदमराज जोशीका अनुसार यो सामान्य अपराध होइन। उनी भन्छन्, ‘कुनै पनि व्यक्तिको इच्छा पूरा हुन सकेन भने निराश, व्याकुल र ग्लानि महसुस हुन्छ। जब इच्छा हदभन्दा वढी हुन्छ र पूरा हुँदैन अनि आक्रमण र आत्महत्याको प्रयास गर्छन्।’
 
कानुनले मात्र यस्ता घटनाको उपचार सम्भव नहुने उनको तर्क छ। यसका लागि जनचेतना र परामर्श पनि प्रभावकारी हुने उनी बताउँछन्।
  
सामाजिक सिकाइको सिद्धान्तअनुसार समाज, चलचित्र र सामाजिक सञ्जालमा देखेका कामहरु व्यक्तिगत जीवनमा उतार्न खोज्नु नै अपराधिक मनसाय हुनु हो। आफूले भनेको अरुले नमानेमा वाक्क दिक्क मान्ने र आफ्नो खुशीको लागि अरुलाई दुःख दिनु  सताउनु मानसिक रुपमा स्वस्थ नहुनु हो। 

एसिडको खुला विक्री वितरणमा कुनै पनि खालको नियमन नहुँदा पनि यस्ता अपराधले प्रश्रय पाउने संगीताको भनाइ छ। उनी भन्छिन्, ‘जुन तरिकाले एसिड खरिद र बिक्रीमा खुला छोडेका छन्। यसमा नियन्त्रण र नियमन हुनुपर्छ।’ 

प्रतिक्रिया