विश्‍वमा आज : कहाँ के-के भयो ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/bishowma_aaja_world_news-copy_1.jpg

अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ। क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ। उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ। अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन्। अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको छ। गएको करिब दुई दशकयताकै शक्तिशाली मानिएको यस भूकम्पबाट भएको हुनसक्ने भौतिक तथा मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन। अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन्।



सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ। सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा उल्लेख छ। पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ। उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको सङ्ख्या कहाली लाग्दो रहेको बताएको छ । सन् २०१९ को जनवरीदेखि जुनसम्ममा विभिन्न खाले घटनामा गरी मेक्सिकोमा नौ र अफगानिस्तानमा छ पत्रकार मारिएका जनाइएको छ।



ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा  ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) ले बिहीबार बताएको छ। बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ। माछा मारी फर्किदै गरेका माझीहरूले दुर्घटनाग्रस्त डुङ्गाबाट चार जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। दुई जनाको ट्युनिसियाको जार्जिसमा यूएनएचसीआरको सहयोगमा उपचार भइरहेको छ भने एक जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ । भूमध्यसागरीय क्षेत्रका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोसेटलले भने, “आप्रवासीको सुरक्षाका लागि यथास्थितिले निरन्तरता पाउनु गलत हुनेछ । बुधबारको दुर्घटनामा कम्तीमा ८० जना डुबेको अपुष्ट समाचार यूएनएचसीआरले प्राप्त गरेको छ ।”



अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी प्रमुख हाजी लालाले शुक्रबार उक्त जानकारी दिए। मिवान्द जिल्लामा रहेको मिवान्द बजारमा अवस्थित एक प्रहरी चौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारीहरु गरेको जवाफी कारवाहीमा छ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका लालाले बताए।


  
अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाएका छन्। उनले ट्वीटर सन्देशमार्फत  भनेका छन्, “संयुक्त राज्य अमेरिकालाई एकतर्फीरूपमा क्युवाका अधिकारलाई बञ्चित गर्दै भेनेजुयलासँगको व्यापारिक गतिविधिलाई रोक्ने अधिकार छैनन् । नयाँ प्रतिबन्ध व्यापार नियमन तथा सार्वभौम मुलुकको सम्बन्धबारे अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।” अमेरिकी अर्थमन्त्रालयले बुधबार क्युवाको सरकारी कम्पनी क्युवामेटेल्सलगायतका सङ्घसंस्था तथा व्यक्तिमाथि भेनेजुयलासँगको व्यापारिक कारोबारमा संलग्न हुन नपाउने गरी नयाँ प्रतिबन्धको घोषणा गरेको थियो।



https://www.nicasiabank.com/
कार निर्माता विश्व प्रसिद्ध कम्पनी ज्यागुअर ल्याण्ड रोभरले आफ्नो विद्युतीय कारको निर्माणलाई इङ्ल्यान्डको मध्य क्षेत्रमा स्थापना गर्ने शुक्रबार जनाएको छ। कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेको छ, “ल्याण्ड रोभरका विद्युतीय कारको उत्पादनका लागि कम्पनीले इङ्ल्यान्डको मध्य क्षेत्रलाई छानेको छ । कम्पनीले कार निर्माणमार्फत बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनपछि बेलायतमा हजारौँ रोजगारीका अवसरलाई सिर्जना गरिनेछ जसले बेलायतको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्नेछ ।”



नाइजेरियाली सेनाले आतंकवादी संगठन बोको हरामका लडाकूले सैनिक शिविरमा गरेको आक्रमणलाई विफल तुल्याएको जनाएको छ । नाइजेरियाको बोर्नो राज्यमा बोको हरामले बिहीबार राति आक्रमण गरेका थिए । सेनाको जवाफी कारबाहीमा ठूलो संख्यामा बोको हरामका लडाकूहरु मारिएको पनि सेनाले दाबी गरेको छ । सेनाका ब्रिगेडियर जनरल बुलामा बिउले नाइजेरियाली वायुसेनाको सहयोगमा सैनिकले बोको हरामका लडाकूहरुलाई परास्त गरेको जानकारी दिए। बन्दुक–जडित ट्रकमा आएका बोको हरामका लडाकूहरुले सेनाको शिविरमा आक्रमणको प्रयास गरेका थिए । दुई दिनअघि पनि बोर्नोको छिमेकी राज्य योबेमा पनि बोको हरामका लडाकूले सैनिक शिविरमा असफल आक्रमण गरेका थिए ।


 
सोमाली सरकारले मध्यम इस्लामिक समूह अहलु सुन्ना वलिजामा (एएसडब्लुजे) मा आबद्ध लडाकूहरुलाई सोमालियाका सुरक्षा अंगहरुमा समायोजन गर्ने तयारी थालेको छ । सोमालियाका प्रधानमन्त्री हस्सन अलि खयरेले सोमालियाको गलमुदुग राज्यको राजधानी धुसामारेबमा उक्त कार्यक्रमको शुभारम्भ गरे।  त्यस अवसरमा प्रधानमन्त्री हस्सनले भने  'सोमालिया सरकार तपाइँहरुको पक्षमा छ। गलमुदुगमा राजनीतिक स्थायित्व बहाल गर्ने कार्यमा हामी पूर्ण प्रतिबद्ध छौं, त्यसमा सबैको सहयोग अति आवश्यक छ।'



सुडानमा महिनौंदेखिको प्रदर्शनको नेतृत्व गरिरहेका विपक्षी नेताहरु र सेनाबीच शक्ति बाँडफाँडमा नयाँ सहमति भएको छ। ऐतिहासिक मानिएको उक्त सहमतिसँगै आगामी तीन वर्षसम्म मुलुकको राष्ट्रपतिमा सेना र विपक्षी नेताहरुले आलोपालो नेतृत्व गर्नेछन्। इथियोपिया र अफ्रिकी युनियनको मध्यस्थतामा दुई दिनदेखि जारी वार्तामा उक्त सहमति भएको हो। सहमतिसँगै राजधानी खार्तुम र देशका प्रमुख शहरहरुमा खुशीयाली र समर्थनमा जुलुसहरु निस्किएका छन्। केही अघिदेखि भइरहेका वार्तामा मुलुकको नेतृत्व सेनाले गर्ने वा नागरिकले गर्ने भन्ने विषयमा मतान्तर थियो। अफ्रिकी युनियनका मध्यस्थकर्ता मोहमद अल हासेन लेबाटले दुबै पक्षबीच आगामी तीन वर्षका लागि सैनिक र नागरिकबाट आलोपालो राष्ट्रपति हुनेगरी सहमति भएको जानकारी दिए।



बेलायती राजपरिवारका सदस्य अधिराजकुमार ह्यारी र अधिराजकुमारी मेगनले आफ्नो नयाँ निवासको श्रृङ्गारका खातिर बेलायाती जनताले खाइनखाइ गरि राज्यलाइ तिरेको करबाट २४ लाख पाउण्डस्टर्लिङ खर्च गरेका छन्।

प्रतिक्रिया