चीनमा के गर्दैछन् प्रदेश ५ का मुख्यमन्त्री ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/sahnakar_pokharel.jpg

भैरहवा - दुईदिन अघि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन उडेका प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले चीनमा राजनीतिक भेटघाट र दुईपक्षीय सम्झौता तथा हस्ताक्षरलाई तिव्रता दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलको चीन भ्रमणलाई राजनीतिक वृतमा पनि अर्थपूर्ण रुपमा हेरिएको छ।

मुख्यमन्त्रीसंगै चीन पुगेका प्रेस सल्लाहकार शेरबहादुर के.सी.का अनुसार मुख्यमन्त्री पोखरेलले प्रदेश ५ संग चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। उक्त पत्रमा चीनियाँ सिचुवान प्रान्तका गभर्नर यीन ली ले हस्ताक्षर गरेका छन्।

सो अवसरमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलबाट छेन्दु सिधा उडानकोलागि दुबै देशले आवश्यक पहल गर्ने पनि सहमति भएको छ। यसैगरी गभर्नर ली लाई लुम्बिनी भ्रमणकोलागि निम्तो पनि मुख्यमन्त्री पोखरेलले दिएका छन्।

मुख्यमन्त्री-उपमहानिर्देशक भेट

नेकपाका प्रदेश ५ का इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलको चिनियाँ  कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङबीच समेत भेटवार्ता भएको छ। भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पूराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पुर्याएको बताएका छन्।

मुख्यमन्त्रीले पार्टी निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव नेकपाकालागि कामलाग्ने र चीनको विकास प्रयास पनि नेपालकालागि कामलाग्ने बताए।  सो अवसरमा  विआरआई मार्फत रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोडिने विषयमा पनि छलफल भएको थियो।
https://www.nicasiabank.com/

मुख्यमन्त्री-कृषि अनुसन्धान केन्द्र प्रमुख भेट

चिनियाँ राज्यहरुमा कृषि उत्पादनमा सीचुवान प्रान्त सबैभन्दा अगाडि आउँछ। मुख्यमन्त्री पोखरेल र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउपिन बीचपनि भेट भएको छ। भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउपिनले सिचुवानले कृषिको व्यवसायिक विकासमा पाएको सफलताबारे मुख्यमन्त्री सहितको नेपाली टोलीलाई जानकारी गराएका थिए।

त्यसैगरी भ्रमणका क्रममा सिचुवान प्रान्तको याआननगर र घोराही उपमहानगरपालिका तथा  गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ। मुख्य मन्त्री पोखरेल असार २५ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच पछिल्लो समय सतहमा आएका विवादका बेला ओलीका विश्वास पात्र पोखरेलको भ्रमणलाई लिएर राजनीतिक वृतमा अनेक अर्थ लाग्न थालेको छ। पोखरेल चीनबाट स्वदेश फर्किएपछि ओलीले पुनर्गठन गर्ने भनेको मन्त्री मण्डलमा पनि प्रभाव पर्ने अड्कलबाजी राजनीतिक विश्लेषकले गरिरहेका छन्।

प्रतिक्रिया