दैलेखमा पेट्रोलियम खानीको अन्वेषण : उत्खनन अन्योलमै

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/dailekh_petrol.jpg

सुर्खेत- दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण (विस्तृत अध्यय तथा अनुसन्धान) सुरु भएको छ।

तीन दशकदेखि दैलेखका विभिन्न ठाउँमा अनवरत रूपमा बग्दै आएको पेट्रोलियम पदार्थको अन्वेषण गर्ने चिनियाँ विशेषज्ञसहितको टोली आइतबार त्यहाँ पुगेको छ । विशेषज्ञ टोलीले भैरवी गाउँपालिका–१ शिरस्थान, पादुका, धुलेश्वर र दुल्लु नगरपालिका–१० को नाभीस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गर्नेछ।

अन्वेषणका लागि डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक दैलेख पुगेको छ। खानी तथा भूगर्भ विभागका प्राविधिक र चाइना जियोलोजिकल सर्भेको टोलीले पेट्रोलियम अन्वेषण सुरु गरेको विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले बताए। अन्वेषणपछि मात्रै पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने यकिन हुनेछ।

व्यावसायिक रुपमा उत्पादन गर्न सम्भव भए कुन क्षेत्रमा उत्खनन गर्दा सहज हुन्छ भनेर विस्तृत रुपमा थाहा पाउन अन्वेषण गर्न थालिएको उनको भनाइ छ।

टोलीले पेट्रोलियम पदार्थ रहेको क्षेत्रमा ड्रिलिङ गरेर साइट पहिचान गर्नेछ। प्रारम्भिक अध्ययनबाट यसअघि नै उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भइसकेको छ। एलपी रहेको पुष्टिपछि उत्खननका लागि योग्य छ वा छैन भनेर अन्वेषण गर्न थालिएको हो।

भारतले नाकाबन्दी गरेदेखि दैलेखको पेट्रोलियम पदार्थ उत्खननको चर्चा सुरु भएको थियो। पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ भने शिरस्थानमा जमिनमुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ।
 
नाकाबन्दीपछि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोलीले पेट्रोलियम पदार्थको प्रारम्भिक अध्ययन गरेको थियो। ६ सदस्यीय चाइना जियोलोजिकल सर्भे टोलीले गरेको प्रारम्भिक अध्ययनबाट दैलेखमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

एलपी ग्यास रहेको पुष्टि गरे पनि चार वर्षसम्म कुनै प्रक्रिया अघि बढ्न सकेको थिएन । अन्वेषण गरिए पनि खानीको उत्खनन भने अझै अन्योलमा छ । तर आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले भने अन्वेषणको कार्य सम्पन्न भएपछि पेट्रोलियम ग्यास उत्खनन कार्यलाई अघि बढाइने बताए । ‘अन्वेष्ण नै नगरी उत्खनन गर्दा लगानी खेल जान सक्छ’, मन्त्री यादवले भने, ‘अन्वेषणको प्रतिवेदन तयार भएपछि उत्खनन सुरु गछौँ ।’ 

पूर्वमन्त्री पाण्डेले भने आफूले सुरु गरेको कार्य विगतका सरकारले चासो नदिँदा अन्वेषणमा ढिलाइ भइरहेको बताए । 

पेट्रोलियम खानीको उत्खनन भए कर्णालीको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। यसअघि नेपालमा पेट्रोलियम खानीको विस्तृत सम्भाव्यता अध्ययन भएको छैन। ‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच तीन वर्षका लागि सम्झौता भएको थियो ।




प्रतिक्रिया