कस्तो होला प्रचण्डले  संकेत गरेको दुर्घटना ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/prachanda-copy_1.jpg

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको समझदारीबाट ब्याक भए दुर्घटना हुने चेतावनी दिएपछि राजनीति फेरि तरंगित भएको छ। 

नेकपा एकता प्रक्रिया अल्झिरहेका बेला प्रचण्डको यो चेतावनीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। तत्कालीन एमाले र माओवादी एक हुने क्रममा अध्यक्ष केपी ओलीसँग भएको  भएको 'भद्र समझदारी'मा गडबढ हुने खतरा महसुस गरेपछि प्रचण्ड अलि बेचैन जस्तो देखिएका छन्। त्यही आवेगमा यस्ता अभिव्यक्ति आएको अनुमान गर्न सकिन्छ।

चितवन पुगेका प्रचण्डले असार ९ र १० गते दुई दिन नै त्यहाँ आयोजित कार्यक्रममा एकताको समझदारी पालना नभए दुर्घटना हुने वा दुर्भाग्यपूर्ण हुने अभिव्यक्ति दिए। यसअघि  प्रधानमन्‍त्री केपी शर्मा ओली भारत जाँदा पनि प्रचण्डले 'सत्ताको नेतृत्व आलोपालो गर्ने' समझदारी भएको प्रसंग बाहिर ल्याएका थिए। 
 
प्रचण्डले भन्दै आएको भद्र समझदारी 'सत्ताको नेतृत्व दुवै अध्यक्षले आलोपालो गर्ने'भन्‍ने नै हो। साढे  दुई वर्ष ओली र साढे दुई वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने समझदारी भएको दाबी प्रचण्डले गर्दै आएका छन्। अर्का अध्यक्ष ओली यसमा मौन छन्।

ओली टिमको पछिल्लो बोली र व्यवहारबाट प्रचण्ड अलि  झस्किएको देखिन्छ। एकताको फिनिसिङमा देखिएको सकस, एकीकृत पार्टीको राजनीतिक लाइनमा चर्किएको लफडा, पाँच वर्ष नै ओली प्रधानमन्त्री हुनुपर्ने भन्दै ओली टिमबाट आएका अभिव्यक्ति, केही विवादित कदमका कारण सरकार अलोकप्रिय बन्दै गएको अवस्था लगायतको पृष्ठभूमिमा प्रचण्डबाट यस्तो चेतावनी आएको छ।
 
पार्टी एकताभन्दा पनि ओली टिमले माओवादीलाई 'मर्ज'गर्न खोजेको जस्तै व्यवहार देखाएको गुनासो माओवादीको एउटा तप्काले गर्न थालेको छ। ओलीलाई हिरो बनाउन मात्र हेपिएर र पेलिएर एमालेमा विलीन हुन नहुने तर्क प्रचण्ड वृत्तमा हावी हुन थालेको छ।
 
पछिल्लो समय अलि निराश र आक्रामकजस्तो देखिएका प्रचण्डको यो पहिले चेतावनी होइन। वैशाख २२ गते कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा प्रचण्डले आफू फेरि जंगल जान तयार रहेको अभिव्यक्ति दिएका थिए। २०७५ माघमा चितवन पुगेर प्रचण्डले आफूले फेरि फड्को मार्ने अभिव्यक्ति दिएपछि राजनीति तातेको थियो।
 
प्रचण्डका यी अभिव्यक्तिले केही अस्वाभाविक राजनीतिक घटनाक्रमको संकेत दिएको जस्तो देखिन्छ। यसबाट भित्रभित्रै एउटा रहस्यमय डिजाइन पाकिरहेको अनुमान पनि एउटा कोणबाट गर्न थालिएको छ। प्रचण्डका यी बोली र व्यवहारलाई विश्लेषण गर्ने हो भने अबको राजनीतिक कोर्स अहिलेकै लिकमा सीधा अघि नबढ्न पनि सक्छ । 

प्रयोगवादी प्रचण्ड : गोल हान्न सिपालु !

प्रचण्ड राजनीतिका विचित्र खेलाडी हुन्। राजनीतिमा नयाँ नयाँ समीकरण र सम्बन्ध बनाएर खेल्न रमाउने प्रयोगवादी पात्र हुन् प्रचण्ड ।

एकै खालको समीकरणमा टिकिरहने र एउटै भूमिकामा अडिने पात्र होइनन् उनी । मैदानमा मुभ गरिरहने र बेलाबेला झुक्याएर पनि गोल हान्न पनि सिपालु खेलाडी हुन्। भूमिगत अवस्थामा होस् वा खुला राजनीतिक यात्रामा उनको दोस्ती र दुश्मनीको सिलासिला निकै अनौठो खालको देखिन्छ।

भर नभएको एउटा अस्थिर नेताको आम आरोप प्रचण्डले खेप्दै आएका छन्। प्रचण्ड स्वयम् भने यसलाई समयले मागेको गतिशीलता र लचकता भनेर बचाउ गर्दै आएका छन्। राजनीतिक समीकरण बनाउने र भत्काउने खेलमा प्रचण्डबाट विगतमा भएका मुभहरु अस्वाभाविक र अचम्मलाग्दा छन्। 

नयाँ संविधान जारी भएपछि कांग्रेसलाई बाहेक गरेर केपी ओली नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने डिजाइन प्रचण्डले नै तयार गरेका थिए।  तर वर्ष दिन पनि नपुग्दै एमालेले भद्र सहमति तोडेको भन्दै प्रचण्ड रातारात कांग्रेससँग मिल्न बूढानीलकण्ठ पुगे।  कांग्रेसले एमालेविरुद्ध नयाँ गठबन्धन तयार गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाइदियो ।

देउवा नेतृत्वको सरकारमा सामेल भएकै अवस्थामा चुनावको मुखमा एमालेसँग चुनावी गठबन्धन गरेर प्रचण्डले सबैलाई चकित पारिदिएका थिए। एमालेसँग मिलेर चुनावमा सामेल भए, एकीकरण घोषणा पनि भयो तर एकता प्रक्रिया अहिलेसम्म टुंगिएको छैन। 

प्रचण्डका पछिल्ला धम्कीयुक्त अभिव्यक्तिले संकेत गरेका चार सम्भावना वा दुर्घटना यस्ता हुन सक्छन् । 

१.नयाँ समीकरणको सुरसार : कांग्रेससँगको उठबस  

पछिल्लो समय कांग्रेस नेतृत्वसँग प्रचण्डको उठबस बढेको छ। प्रचण्डबाट धम्की आउनु र कांग्रेससँगको संवाद सुमधुर हुँदै जानु संयोग मात्र होइन, यसले नयाँ समीकरणको सम्भावनालाई पनि संकेत गरेको छ। प्रचण्डको यो छटपटीमा कांग्रेसले खेल्न खोज्‍नु स्वाभाविक हो। किनभने राजनीतिमा सत्ताको खेल स्वाभाविक हो, गोल गर्ने प्रयास अनेक कोण र कुनाबाट हुन्छ।

एकतामा सम्मानजनक स्थान नभएर अलग हुनुपर्दा पनि  प्रचण्डले सत्ताको अंकगणितमा घाटा लाग्ने अवस्था आउँदैन। एकता प्रक्रिया भाँडिएर तत्कालीन माओवादी अलग भएमा  कांग्रेसले प्रचण्डलाई सघाउने अवस्था आउँछ। त्यो अवस्थामा दुईवटा सम्भावना हुन्छन्।

एउटा कांग्रेससहितको सरकार बन्‍ने र अर्को कांग्रेसको समर्थनमा माओवादी र मधेसवादी दलहरु मिलेर सरकार बनाउने र कांग्रेसले त्यसलाई फ्लोरबाट समर्थन गर्ने । आफू सरकारमा सहभागी नहुने र दुवै आन्दोलनकारी शक्तिलाई सरकारको जिम्मा लगाउनु एउटा नयाँ प्रयोग हुने र त्यसबाट कांग्रेसले खासै अपजस बेहोर्नु नपर्ने कांग्रेसको एउटा कित्ताको बुझाइ छ।

शुक्रबार (असार १३)आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकार ढाल्‍न कांग्रेसलाई गाह्रो नरहेको  अभिव्यक्ति दिए। अध्यक्ष प्रचण्डसँगको (असार १२) भेटवार्तापछि ओली सरकार ढालिदिने देउवाको धम्कीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

https://www.nicasiabank.com/
सत्ता राजनीतिमा अर्थ राख्‍ने अर्को फ्याक्टर भनेको मधेस शक्ति हो। मधेसवादी दलहरु ओलीसँग खासै प्रसन्‍न छैनन् । मधेसका मुद्दामा ओली उदासीन देखिएको आरोप मधेसवादी दलको छ । यो अवस्थामा प्रचण्डको सक्रियतामा मधेसवादीको सदभाव पनि स्वाभाविक रुपमा जोडिन सक्छ। मधेसका नेताहरुसँग प्रचण्ड भेटको सिलासिला बाक्लिएको छ। 

२.ओलीलाई गलाएर सत्तारोहण 

'प्रचण्ड धम्की' ले संकेत गरेको अर्को सम्भावना भनेको प्रचण्डको शीघ्र र स्वाभाविक सत्तारोहण पनि हो। ओलीलाई समयमै सत्ता हस्तान्तरणका लागि ओलीलाई बाध्य पार्नका लागि मनोवैज्ञानिक दबाब दिने सिर्जना गर्ने रणनीतिअनुसार प्रचण्डले सक्रियता बढाएका हुनसक्छन्।

पार्टीको आन्तरिक शक्ति संरचनामा कमजोर र सरकारमा पनि अलोकप्रिय हुँदै गएका ओलीलाई गलाएर सरकारको नेतृत्व छिटै आफ्नो हातमा लिने दाउमा प्रचण्ड छन्।  त्यसका लागि आन्तरिक पृष्ठभूमि तयार गर्न पनि प्रचण्डका यी बोली व्यवहारले सहयोग पुर्याउन सक्छन्।
 
यसका लागि पार्टीभित्रको आन्तरिक शक्ति संरचना आफू अनुकूल बनाउन उनी क्रियाशील छन्। पछिल्लो समय ओलीसँगको दुरी बढ्दै जाँदा प्रचण्ड र माधव नेपालबीच हिमचिम बढेको छ। माधव समूह आलोपालो प्रणालीअनुसार प्रचण्डलाई मौका दिनुपर्छ भन्‍ने पक्षमा छ। यसका लागि आगामी महाधिवेशनमा अध्यक्षका लागि साथ दिने वचन प्रचण्डबाट माधवले पाइसकेका छन्।

३.एकता भाँडिने, पार्टी फुट्ने 

'ओली- प्रचण्डको टकराव' को डरलाग्दो परिणाम भनेको एकता भाँडिने र र पार्टी फुट्ने हो । प्रचण्ड न पार्टीको एकता प्रक्रियासँग सन्तुष्ट छन् न त ओली नेतृत्वको सरकारसँग । प्रचण्डको यो छटपटीले एमाले र माओवादीबीचको एकता  'पावर डिल' को  एउटा जटिल सकसमा फसेको स्पस्ट देखिन्छ।

आन्तरिक कलह भुसको आगोजस्तै सल्किएको छ, यो दन्किने खतरा छ। बाँकी काम सकाएर गत जेठ ३ गते एकता प्रक्रिया सम्पन्‍न भएको घोषणा गर्ने भनिए पनि आन्तरिक विवादले त्यो सम्भव भएन। पार्टी एकीकरण भएको एक वर्ष बितिसक्दा पनि केन्द्रीय कमिटीको एकपटक पनि बैठक बस्‍न सकेको छैन र कार्य विभाजन भएको छैन। आन्तरिक भागबन्डा नमिलेकाले पोलिटब्युरो गठन हुन सकेको छैन । स्थायी समिति पनि शीर्ष नेतृत्वमा छायाजस्तै भएको छ । 

पार्टी फुटाएर अलग्गै दलको अस्तित्व हासिल गर्नका लागि केन्द्रीय समिति र संसद् दुवैतिर कम्तीमा चालीस प्रतिशत सदस्यहरु चाहिन्छ । यो अंकगणित सम्भव तुल्याउन त्यति सजिलो छैन । विभाजनका लागि आफु अनुकूलको अंक गणितको सुनिश्चितता र आफ्नो पोजिसनको सुरक्षा नभएसम्म प्रचण्ड यो जोखमपूर्ण विकल्पमा जाँदैनन् । किनकि यो उनका लागि निकै अप्रिय बाटो हुन सक्छ । यो विकल्प प्रचण्डका लागि जोखिमपूर्ण मात्र होइन, दुभाग्र्यपूर्ण हुनेछ।

४.मध्यावधिको चर्चा 

ओली विवेकभन्दा पनि 'मुड' मा मुभ हुने नेता हुन्। बोल्न उनी जति निर्भीक छन्, उनी एक्सनमा जान पनि डराउँदैनन्। आन्तरिक किचलो, प्रचण्डको किचकिच र बाहिरको दबाब थेग्‍न नसकेर ओली बाध्य भएर मध्यावधिमा जाने खतराको राजनीतिक बजारमा अनुमान हुन थालेको छ। दबाबमा प्रचण्ड वा अरु पात्रलाई सत्ता सुम्पनु भन्दा नयाँ जनादेश भन्दै ओलीले यो बाटो रोज्न सक्ने चर्चा छ । तर यो निकै खराब र पीडादायक बाटो बाटो हो।

यसले मुलुकमा फेरि अस्थितरता निम्त्याउनेछ। पार्टीको आन्तरिक किचलो व्यवस्थापन गर्न नसकेर बहुमत हुँदाहुँदै पनि मध्यावधिमा जाने पुरानै राजनीतिक रोग हो। २०५१ मा बहुमत हुँदाहुँदै तत्कालीन गिरिजाप्रसाद कोइरालाले मध्यावधि घोषणा गरेका थिए भने बहुमतको प्रधानमन्त्री रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि २०५९ मा पार्टी किचलोकै कारण मध्यावधि घोषणा गरेका थिए। यी दुवै मध्यावधिले मुलुकमा अस्थिरता निम्त्याएका थिए।

भूराजनीतिक गन्ध

यहाँ हुने मूल राजनीतिक घटनाक्रममा भूराजनीतिक स्वार्थ र सरोकारले पनि अर्थपूर्ण भूमिका खेल्ने गरेको छ। नेपालको आन्तरिक मामिलामा दुवै छिमेकी र अन्य शक्ति केन्द्रहरुले गहिरो चासो राख्दै आएका छन्। यो चासो कहिलेकाहीं चलखेल र हस्तक्षेपको तहमा प्रकट हुने गरेको छ। अहिले प्रचण्डमा देखिएको छटपटीमा भूराजनीतिक गन्ध महसुस भएको छ।

सानदार बहुमतका साथ फेरि सत्तामा उदाएका मोदीलाई जसरी पनि नेपाललाई आफ्नो होल्डमा राख्नुपर्ने चुनौती छ। त्यसका लागि उनले भावानात्मक, राजनीतिक र कूटनीतिक सबै अस्त्र प्रयोग गर्छन्।  नाकाबन्दीका बेला बिग्रेको सम्बन्ध सुधारेर नेपालसँग पुरानै भाइचारा बढाउने रणनीतिमा मोदी छन्। नाकाबन्दीका बेला चीनतिर बढी ढल्किएर ओलीले भारतसँग दुरी बढाएका थिए। त्यसबाट झस्किएका मोदी ओलीसँग अहिले त्यति प्रसन्न छैनन् । त्यसैले प्रचण्ड अघि बढ्न खोज्दा दक्षिण छिमेकबाट खासै आपत्ति र अलमल हुने सम्भावना छैन। चीनका लागि पनि पात्रभन्दा आफ्नो सामरिक स्वार्थ प्यारो हो । त्यो सम्बोधन हुने सर्तमा ओलीको ठाउँमा प्रचण्ड आउँदा असन्तुष्ट हुनुपर्ने कारण छैन। 

अमेरिकाले आफ्नो रक्षा रणनीतिमा नेपाललाई समेटेर  हालै इन्डोप्यासिफिक रणनीतिक  रिपोर्ट सार्वजनिक गरेपछि दुवै छिमेकीले नेपालमा सुरक्षा चासो थप बढाएका छन्। अमेरिकी सुरक्षा सरोकार हावी हुँदै गएको र दुवै छिमेकी त्यसमा थप सचेत बन्दै गएको यो सामरिक परिवेशले पनि ओलीलाई थप दबाब सिर्जना भएको छ । 

पहिले घरेलु वातावरण अनुकूल बनाउन क्रियाशील देखिएका प्रचण्ड छिमेक र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको सद्‌भा बटुलेर भूराजनीतिक सेटिङ मिलाउनतिर पनि सचेत देखिएका छन्। 

अन्त्यमा,

प्रचण्डका विगतका 'मुभ' हरु हेर्दा उनले फेरि अर्को फड्को मार्ने सम्भावना अस्वाभाविक नहुन सक्छ। किनभने त्यो फड्कोले प्रचण्डलाई खासै राजनीतिक घाटा नहोला । तर त्यसले मुलुकमा फेरि राजनीतिक अस्थिरताको अर्को शृंखला सुरु हुनेछ र संसदमा सत्ता समीकरणको फोहरी खेल ब्युँतिनेछ ।

त्यसैले शक्तिको तृष्णा मेट्न हतारमा अर्को फड्को मार्नेतिर भन्दा पनि  एकता प्रक्रियालाई छिटो टुंग्याएर मुलुकको राजनीतिलाई स्थिरता प्रदान गर्ने दिशामा प्रचण्डको सकारात्मक र साहसिक भूमिका हुनुपर्छ ।

प्रतिक्रिया