डडेलधुरा डायरी : जंगलको बीचमा म त रोएँ 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/sanam_story_photo.jpg

काठमाडौंका नेवार इनारको भ्यागुता जस्तै हुन्, यिनीहरु थानकोट काटेर जान पनि डराउँछन्। 

मेरो कानमा धेरै पटक ठोक्किएका शब्दहरु हुन्। आफैँलाई हेर्दा हो कि जस्तो पनि लाग्थ्यो। किनभने म राजधानीबाहिर खासै घुमेकी थिइनँ। एकपटक कलेजबाट पोखरा टुरमा गइयो। त्यसपछि कहीँ गएकी थिइनँ। तर अरुको कुरा सुन्दा र फेसबुकमा घुमेका तस्बिर हेर्दा जाऊँ जाऊँ लाग्थ्यो।

एक दिन च्याटमा मितिनीलाई जिस्काउँदै भनेँ, ‘ए डायना ! जाम हिँड डडेलधुरा घुम्न।’ म सायद जान्न भनेर होला उनले नि जिस्किँदै भनिन्, ‘ल जुम जुम सनम।’
 
यसमा मितिनी सिरियस भइन्। म आफूलाई पनि सुरुमा डडेलधुरा जान्छु जस्तो लागेको थिएन। काठमाडौं खाल्डोमा जन्मेहुर्केकी मेरा लागि डडेलधुरा घुम्ने सपना सजिलो थिएन।
 
केही दिनपछि फेरि मैले नै मितेनीसँग अलि सिरियस हुँदै भनेँ, ‘मैले साँच्चै भनेको डायना,  जाम डडेलधुरा गाउँ घुम्न। मलाई नि गाउँघरको कुरा थाहा पाउनु छ।’
 
अनि मेरो दिमागमा दौडिन थाल्यो डडेलधुरा। बिहान, दिउँसो, बेलुका, राति सपनामा पनि मेरा मन डडेलधुरातिर घुम्न थाल्यो। धेरै पटक आफैंलाई साध्थेँ, जाने हो त डडेलधुरा ? मनमनै जबाफ पनि आउँथ्यो, होइन जाने होइन। यस्तो गर्मीमा त्यति टाढा गारो हुन्छ।
 
अनि एक दिन घरमा आमा, बुबा र दिदीलाई भनेँ, ‘मितिनीले डडेलधुरा जाम भनेकी छ। म जाम् त ?’ आमा, बुबा र दिदीले पनि एकै स्वरमा हाँस्दै भने, ‘तँ डडेलधुरा जाने ?’ मैले नि भनिदिएँ, ‘हो म जाने पक्का।’ 

साथीभाइलाई सोधेँ र अफिसमा पनि कुरा गरे। एउटा मनले जा सनम जा भन्थ्यो अर्को मनले त्यति टाढा कसरी जान्छेस् सनम भन्दै डरान लगाउँथ्यो। 

केही दिनपछि डडेलधुरा जाने टुंगो लाग्यो। जेठ २३ गते जाने पक्का भयो। तयारी सुरु भयो। अनि मैले गुन्टा कस्न सुरु गरेँ। त्यसपछि मलाई जेठ २३ गते बिहान कहिले आउला जस्तो हुन लाग्यो। मनभित्र धेरै उत्सुकता अनि थोरै सकस पनि थियो। कति टाढा होला, ठाउँ कस्तो होला, कति हिँड्नुपर्ने होला ? गाउँघरको बसाइ खवाइ कस्तो होला ? यस्तै यस्तै प्रश्नले मेरो मन चञ्चल भइरहेको थियो।
 
जेठ २३ मध्यान्ह १२ बजे बसपार्क पुग्नुपर्ने टिकट थियो। हामी तीनजना केटी थियौं। म, मेरी मितिनी अनि अन्जना। अघिल्लो राति खासै निद्रा लागेन किनभने पूरै दिमाग भोलिको यात्राले तरंगित भइसकेको थियो।
 
बिहान दस बजे घरमा तयार भयौँ। राम्रोसँग जानु भन्दै टीका लगाइदिनुभयो। मैले बिदा नमाग्दै बुबाआमा दिदीको आँखा रसाइसकेको थियो। मलाई पनि कस्तो कस्तो फिल भयो। म झोला बोकेर त्यति टाढा पहिलोपटक जान लागेको देखेर होला बुबामम्मी दिदीलाई थोरै नरमाइलो लागेको स्पष्टै देखिन्थ्यो।
 
घरबाट बाइकमा दिउँसोको चर्को जाम छिचोल्दै हामी नयाँ बसपार्क पुग्यौं। त्यहाँ त्यस्तै अस्तव्यस्त। एकछिन गाडी भेट्टाउन समय लाग्यो। गाडीमा पसेपछि मान्छेमान्छे अनि गर्मीले उकुसमुकुस। ठूलोठूलो म्युजिक। त्यहीँबाटै झोला बोकर लुभु फर्कूं कि जस्तो पनि लाग्यो। तर आफूलाई समालेँ र डडेलधुरातर्फ लागेँ। 

नयाँ बसपार्कबाट जब हाम्रो गाडी छुट्यो, मेरो मनमा डडेलधुरा कुद्न थाल्यो। थानकोट पुग्नै कस्तो गारो रहेछ। थानकोटमा ओरालो अनि नागढुंगाको घुम्तीमा अलि अलि गारोजस्तो भयो। बोमिट आउला आउलाजस्तो भयो तर आएन। घुम्ती सकिएपछि अलि हल्का महसुस भयो।
 
एक रात बाहिर साथीकहाँ बस्न पनि मुस्किल म ख्यालख्यालै सुदूरपश्चिमतिर हिँडेको आफैँलाई पत्यार लागेको थिएन। तर बस कुदिरहेको थियो। 



बस खाजा खान नौबिसे रोकियो। र एकछिन चिसो हावा खाएपछि पसल छिर्यौँ। जहाँ खानेकुराका अनेक प्रकार थिए। सबैतिर आँखा घुमाउँदा पाकेको चाउचाउमा मेरो आँखा पर्यो र सँगै अमिलो अचार पनि मागेँ। चाउचाउमा कुनै स्वाद थिएन। सानो प्लेटको त्यति चाउचाउलाई एक सय रुपैयाँ तिर्दा मलाई अचम्म लाग्यो। केही शब्द सुनाए र पैसा तिरेँ। 

अब रातिको खानाका लागि मात्र बस रोकिन्छ रे सुनेपछि फेरि आत्तिँदै सिटमा बसेँ। किनारको त्रिशूली अनि पहाड नियाल्दै यात्रामा रमाइरहेँ। बसमा बजेको गीत आफ्नो च्वाइसको थिएन। तै पनि मनलाई दिक्क हुन दिएको थिएन। 

बीचबीचमा निदाउँदै र झस्किँदै रातको ११ बजे फेरि बस नवलपरासीमा रोकियो। चारैतिर अँध्यारो, सुनसान र सीधा रोड। नवलपरासी पुगन्जेलसम्म मलाई ज्यान र गोडाले धोका दिन सुरु गरिसकेको थियो।

सुन्निएको गोडा हिँड्न गाह्रो उस्तै जसोतसो खाना खान बसबाट ओर्लिएँ। बाहिरको खाना खाएपछि एकछिन रिस उठ्यो अनि  घरको खानाको याद आयो। फोन लगाएँ दिदीलाई, सबैजना मेरै फोनको पर्खाइमा रहेछन्। बुबाले भन्नुभयो, ‘धेरै नानाभाँती नगर, जे छ खानु अनि नरिसाई जानू अर्काको ठाउँ हो।’ मैले नि हस् बाहेक अरू केही भन्न पनि सकिनँ।

भात खान रोकेको होटलमा चिकेन मःम र वाईवाई फ्राई खायौं। मिठो लागेर थपेर पनि खाँदै थियौं। बसले हर्न बजाउन थाल्यो।  मितिनी गइन् हाम्रो बस हो कि होइन कन्र्फम गर्न। बस त हाम्रै रहेछ उनी चिच्याइन्। छिटो पैसा तिरेर चाउचाउ प्याक गरेर सुन्निएको गोडा लतार्दै फेरि बसमा पस्यौं। 

बुटवल पुगेपछि यसो सिसा खोलेर हेरेको रमाइलो लाग्यो। डाटा अन गरेर फेसबुकतिर हेरेको त हावाहुरीले सुदूरपश्चिममा वितण्डा मच्चाएका खबरले भरिएको थियो। आफू जान लागेको ठाउँ पनि त्यही अनि डर लाग्न थाल्यो। बसमा निदाउन पनि डर लाग्यो। चारैतिर सुनसान, बसको बत्ती पनि अफ। सबैजना सायद मस्त निद्रामा थिए। म भने बीचबीचमा झस्किन्थे। बस पूरै ब्रेक फेल भएर हुइँकिएजस्तो महसुस हुन्थ्यो। 

बिहानको साढे ५ मा हामी कर्णाली पुल नजिक पुगेर रोकियौँ। त्यहाँ फ्रेस भई चिया खानका लागि हामीसँग करिब १५ मिनेटको समय छुट्ट्याइयो। तर हाम्रो प्राथमिकता चिया भन्दा नि कर्णाली पुलमा फोटो खिच्नु थियो। सुन्निएको गोडा पनि बिर्सेर म अलि फ्रेस भएँ।

कैलाली छिरेपछि रातिको हावाहुरीले पारेको बिचल्ली आँखा सामुन्ने देख्न पाएँ। कुनै घरको छानो छैन। कतै रूख ढलेर बाटो छेकेको छ। कतै बिजुलीको पोल ढलेको लडेको अनेकअनेक देखियो। केही तस्बिर त मैले मोबाइलमा कैद गरेँ। अत्तरिया पुगेपछि फेरि पहाडका लागि बस फेर्नुपर्ने रहेछ। पहाडको बाटो अनि घुम्ती धेरै डर लाग्ने। पाँच घन्टाको यात्रापछि बल्ल साढे १ बजे डडेलधुरा बसपार्क पुग्यौँ।
 
अर्को दिन हामी गाउँको बिहे हेर्न नजिकै देउली पुग्यौं। जहाँ बालविवाहको प्रचलन रहेछ। मलाई त अचम्म लाग्यो, त्यहाँको बिहे देखेर। त्यो पनि रमाइलो अनुभव भयो। मैले अलिअलि बुझ्न पनि खोजेँ  किन यति चाँडो बिहे गरेको होला भनेर। तर कुरै गर्न लजाउने त्यहाँका केटीहरू। उनीहरुको जबाफ यस्तो थियो,  '१३–१४ उमेर भएपछि बिहे गर्नैपर्छ। १५–२० उमेर पुगेपछि त बूढी हुन्छ नि !'
 
पहिलो दिन मितिनीको अंकलको घरमा बस्यौं। त्यो दिन आरामसँग बित्यो। अर्को दिन फ्रेस भएर घुम्न निस्कियौं। उग्रतारा र घटाल बाबाको मन्दिर जाँदा मन आनन्दित भयो। चिसो हावा र खुला डाँडामा हामी रमायौँ। त्यहाँ घुम्दा हेर्दा लाग्यो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जिल्लाको राम्रै विकास गरेका रहेछन्।

त्यसपछिको गन्तव्य थियो डडोला गाउँ। सानो जिपमा बसी अब गाउँ जाने तयारी भयो। डडोला दुर्गम ठाउँ हो। जहाँ दलित र पिछडिएको समुदायको बसोबास बढी रहेछ। अनि बलि प्रथा र छाउपडी प्रथा विशेष रुपमा रहेछ त्यहाँ।
 
करिब २ घन्टा यात्रापछि हामी चमडा बजार पुग्यौं र बजारबाट करिब ३० मिनेट हिँडेर गाउँ पुग्यौँ। गाउँको जीवनशैली देखेर अचम्म लाग्यो। थकित ज्यान र भोकाएको पेटसँगै डडोला यात्रा पनि रमाइलो थियो। पश्चिमको गीत र बसमा त्यहाँका मानिसको भलाकुसारी सुन्दा म फ्रेस हुन्थेँ। गाउँको आलुसँग नुनखुर्सानीको स्वाद कति मिठो थियो !

गर्मीले उकुसमुकुस अनि फोहोर उस्तै। किरा र झिँगाको बिगबिगी देखेर बेलाबेलामा दिक्क लाग्थ्यो। तर त्यहाँको सकस मेरो लागि नयाँ सिकाइ पनि थियो। गाउँकै घरमा रात बिताउनुपर्ने थियो त्यो दिन। थाकेको ज्यान आज त आरामले सुत्छु भन्ने थियो। राति ओछ्यानमा किराले सुत्न दिएनन्। बत्ती आउने जाने क्रम उस्तै थियो। मोबाइलको टर्च बाल्दै ओछ्यानको किरा खोज्न थाल्यौँ। अब त्यहाँ सुत्न सक्ने स्थिति नै भएन।  फेरि तीनै जना एउटा सानो खाटमा मिलेर सुत्यौं। रात अलिअलि गफ गर्दै अलिअलि निदाउँदै बित्यो।



दिनभर घुम्न रमाइलो हुन्थ्यो। बेलुका भएपछि लुभुको घरको यादले सताउँथ्यो। काठमाडौंबाट घरीघरी आउने फोनले अलिअलि भए नि मनलाई राहत दिन्थ्यो। एक दिन त गाउँ घुम्दै गर्दा के के सम्झेर जंगलको बीचमा रुन मन लाग्यो।

अर्को दिन हामी गाउँको बिहे हेर्न नजिकै देउली पुग्यौं। जहाँ बालविवाहको प्रचलन रहेछ। मलाई त अचम्म लाग्यो, त्यहाँको बिहे देखेर। त्यो पनि रमाइलो अनुभव भयो। मैले अलिअलि बुझ्न पनि खोजेँ  किन यति चाँडो बिहे गरेको होला भनेर। तर कुरै गर्न लजाउने त्यहाँका केटीहरू। 

उनीहरुको जबाफ यस्तो थियो,  '१३–१४ उमेर भएपछि बिहे गर्नैपर्छ। १५–२० उमेर पुगेपछि त बूढी हुन्छ नि !'  मेरो वरिपरि मभन्दा साना बहिनीहरु सिन्दूर पोतेमा सजिएको देखेर मलाई अनौठो लागेको थियो। कलिलै उमेरका तीन बहिनीहरु बिहानको ४ बजे उठेर आगो फुक्दा रहेछन् अनि घरधन्दामा सघाउँदा रहेछन्। उनीहरुको त्यो दुनियाँ र दैनिकी देखेर म चकित परेँ। अलि अप्ठ्यारो पनि लाग्यो। 

डोडलाको बसाइँ साह्रै रमाइलो थियो। त्यहाँ छुट्टै माया र सत्कार पाएको महसुस भयो। गाउँको बिहे, साना बेहुलाबेहुली, देउडा नाच र बाजा सबै मेरा लागि नयाँ थियो। त्यहाँको मिठो खाना र राम्रो बसाइले मिठो निद्रा लाग्यो। अर्को दिन बिहानै ८ बजेको जिपमा फेरि डडेलधुरा बजार पुग्यौं। 

त्यसपछि जानु थियो चौड। अलि दुर्गम भन्ने सुनेकी थिएँ। जंगल बीचबाट कच्ची बाटो जानुपर्ने। ५ घन्टाको यात्रापछि हामी चौड पुग्यौँ। जंगल बीचमा घर, तर पानीको राम्रो सुविधा थियो। ठाउँ भने धरै नै विकट रहेछ।



घर नजिकै गोठ। गोबरको गन्ध कडा थियो। हामी बस्ने घरमा ३० वटा बाख्रा थिए। गाईभैंसीको बथान। बाख्राहरुसँग जिस्किँदा पनि रमाइलो भयो। माइजूले काठमाडौं लगेर पाल भन्दै हुनुहुन्थ्यो। उज्यालो छँदा खासै केही भएन। साँझ परेपछि मन आत्तिएको जस्तो भयो। बाहिर पूरै जंगल। 

खानापछि एकछिन गफगाफ गर्यौँ। रात बितिसकेको रहेछ। सानो बत्तीको धिपधिप उज्यालो थियो। बाहिर सुनसान जंगल र बेलाबेलामा गाईवस्तुको आवाज। मनमा डर लाग्यो, छटपटीजस्तै भयो। निदाउन सकिनँ। गर्मी उस्तै, पसिनाले पूरै जिउ भिजिसकेको थियो। उनीहरु भने मजाले सुतेका थिए। मैले उठाइनँ। 

बिहानै ८ बजे हामी त्यहाँबाट बिदा भयौं। गाउँका रमाइला कुरा सुन्दै हाँस्दै डडेलधुरा बजार आइपुग्यौँ। त्यहाँ काठमाडौं आउने बस हामीलाई कुरिरहेको थियो। जाँदा जस्तो आउँदा त्यति सकस भएन। 

जब थानकोट आएपछि मन अलि कुल भयो, कतिबेला घर पुगुम् जस्तो भयो। नौ दिनपछि घर पुग्दा बुबा, आमा र दिदी एकछिन खुसी हुनुभयो। अनि फेरि म घर परिवारको आफ्नै दैनिक र दुनियाँमा फर्किएँ। 





प्रतिक्रिया