'जबज' को लाइनमा फेरि लफडा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Nekapa_neta.jpg

काठमाडौं - सत्तासीन नेकपामा पार्टीभित्रको समीकरण तरल बन्न पुगेको छ। शक्तिमा पुग्न नेताहरू गुट समाएर अनेक चलखेलमा लागेका कारण पार्टी समीकरण उथलपुथल भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको  सम्बन्धमा चिसो बढेको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्डबीच हिमचिम बढ्दै गएको छ। नेपाल र प्रचण्ड आपसमा नजिकिएपछि ओली क्याम्पमा भुइँचालो गएको छ।

प्रचण्ड र  नेपालबीच आइतबार गोप्य भेटघाट भएको छ। नयाँ बानेश्वरको एक होटलमा करिब एक घन्टा भएको भेटमा पार्टीको राजनीतिक दस्तावेज, मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल भएको स्रोतले जानकारी दियो। भेटघाटमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसमेत सहभागी थिए।

किन चल्यो जबजको रडाको ?

नेकपाको राजनीतिक दस्ताबेजमा एकीकरण भएलगत्तै सहमति भएको थियो। सोअनुसार माओवाद र जनताको बहुदलीय जनवाद दुवै नराखेर जनताको जनवादमा सहमति जुटेको थियो। तर यसबेला आएर जबजको बहस सुरु भएको छ।

यसमा विशेष गरी उपप्रधानमन्त्री रक्षामन्त्री ईश्वर पोखरेल अगाडि आएका छन्। तर कतिपय नेताले यसलाई बेमौसमको बाजा भनेका छन्। अहिले जबजको रडाको पार्टीभित्र पसेपछि नयाँ तरंग आएको छ।

पार्टीको राजनीतिक दस्ताबेजलाई अन्तिम रूप दिइरहेका बेला नेकपाका एक केन्द्रीय सदस्यले बहुदलीय जनवादको १४ विशेषताको बयान गरेका छन्।

विशेष गरी पार्टी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै केन्द्रीय सदस्य सूर्य थापाले सोमबार सामाजिक सञ्चालमार्फत यस्तो विशेषताको बयान गरेका हुन्। थापा पोखरेलनिकट मानिन्छन्। पोखरेल जनताको बहुदलीय जनवादका पक्षमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा जनताको जनावाद राख्ने सहमति भएको थियो। तर अहिले पोखरेललगायत नेताहरुले बहुदलीय जनवादका पक्षमा वकालत गरेपछि प्रचण्ड क्याम्पमा झड्का परेको छ।

थापाले जनताको बहुदलीय जनवादका १४ विशेषताहरू भन्दै लेखेका छन् :

१. संविधानको सर्वोच्चता

२. बहुलवादी खुला समाज

३. शक्ति पृथकीकरणको सिद्धान्त

४. मानवअधिकारको रक्षा

५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली

६. आवधिक निर्वाचन

७. बहुमतको सरकार र अल्पमतको विपक्ष

८. कानुनको शासन

९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण

१०. विदेशी पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग

११. क्षतिपूर्ति

१२. विदेश नीति

१३. नेतृत्व र अधिनायकत्व

१४.जनताको बहुदलीय जनवाद

 नयाँ जनवादमा यिनै विशेषता थप गरी जनताको बहुदलीय जनवादको प्रतिपादन र विकास गरिएको उनले स्पष्ट गरेका छन्।

‘जनताको जनवाद’ अन्तर्राष्ट्रिय अवधारणा र मान्यताका हिसाबले चिनियाँ नौलो जनवाद वा नेपालको सन्दर्भमा २०४९ मा मोहनचन्द्र अधिकारीले नेतृत्व गर्नुभएको नौलो जनवाद नै हो। यसले प्रतिस्पर्धामा श्रेष्ठता नभएर सर्वहारा अधिनायकत्वको मान्यता राख्छ र नागरिक स्वतन्त्रताको नियन्त्रण गर्छ’, थापाले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘पूर्ववर्ती नेकपा (एमाले) हरू प्रचण्डपथ र एक्काइसौँ शताब्दीमा जनवाद पढेर छलफल चलाउन तम्तयार होऊ !’

यस्तै उनले ‘पूर्ववर्ती नेकपा (माओवादी केन्द्र) हरूले पहिले जनताको बहुदलीय जनवाद र पार्टीको अन्तरिम विधान पढ र पूर्वाग्रह हटाउन तयार होऊ, अनि बहस गर।’




प्रतिक्रिया