यसकारण सुनको भाउ आकाशियो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/women_with_gold1.jpg

काठमाडौं- पछिल्लो समयमा सुनको मूल्य लगातार बढिरहेको छ । विश्वभर बढ्दै गएको द्वन्द्वको खतराका कारण पनि विश्व बजारमा सुनको मूल्य उकालो लाग्न थालेको विश्लेषकको भनाइ छ । 
पछिल्लो एक सातामा सुन दुई हजार रुपैयाँले बढेर मंगलबार प्रतितोला साढे ६५ हजार रुपैयाँ पुगेको छ ।

इरान र अमेरिकाबीच भइरहेको द्वन्द्व, अमेरिका र चीन, क्यानडा, रुसलगायतका देशमा बढिरहेको व्यापार युद्धले द्वन्द्व चर्कन सक्ने भन्दै विश्वभरका लगानीकर्ता सुन किन्न लागेपछि अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भएको हो ।
 
वरिष्ठ अर्थशास्त्री दीपेन्द्रबहादुर क्षत्रीका अनुसार इरानसँग तेलको राजनीति, चीनसँग व्यापारको राजनीति र रुससँग शक्तिको द्वन्द्वमा फसिरहेको अमेरिकाका कारण लगानीकर्ताहरु सुनतर्फ आकर्षित भइरहेका छन् । 'यतिबेला विश्वभरका लगानीकर्ताहरु लगानीको सुरक्षित स्थान खोजिरहेका छन् जुन सुन हो', क्षत्रीले भने, 'त्यसैले सुनको माग बढी भएर मूल्यमा चाप परेको हो ।'
 
विश्व सेयर बजार पनि यतिबेला ओरालो लागेको छ । लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्ने मुडमा छैनन् ।

सुन उकालो लागेको समयमा नेपालमा डलरको भाउमा भने ओरालो लाग्ने गरेको छ । अहिले डलरको मूल्य १११.६५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केही समयअघि डलर ११८ रुपैयाँसम्म पुगेको थियो ।
 
सुनको मूल्यवृद्धिसँगै सुन बिक्री गर्नेहरुको पनि भीड लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिए । केही दिनमै दुई हजार रुपैयाँले सुनको मूल्य वृद्धि हुँदा बजारमा तरंग उत्पन्न भएको र ग्राहकहरु बेच्न तम्सिएको उनले बताए ।
https://www.nicasiabank.com/
 
यसअघि २०५८ सालमा सुन प्रतितोला ७ हजारबाट एकै दिन तीन हजारले बढेर १० हजार रुपैयाँ पुगेको थियो । त्यतिबेला पनि सुन बेच्नेहरु बढेका थिए ।

हाल बजारमा सुन अहिलेसम्मकै महंगो ६५ हजार रुपैयाँ प्रतितोला पुगेको छ । असार ४ गतेसम्म ६३ हजार प्रतितोलामा कारोबार भइरहेको सुन शुक्रबार ६५ हजार पुगेको थियो ।
 
विश्वबजारमा शनिबार र आइतबार बिदा हुने भएकाले आइतबारसम्म सुनको मूल्य स्थिर छ । हाल विश्व बजारमा सुनको मूल्य १४ सय डलर छ ।
 
यसअघि २०७५ फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य नेपालमा नभएर अन्तर्राष्ट्रिय स्तरमा निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा सुनको मूल्य घटेमा नेपालमा पनि घट्ने र बढेमा नेपालमा पनि बढ्ने गरेको छ । २० दिन यतामात्र सुनको मूल्यमा ५५ सय रुपैयाँले बढेको छ । 

प्रतिक्रिया