चौकुने सिमेन्ट उद्योग  : ‘मुक्तिले नदिएको उन्मुक्ति’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/mukti_shree_ajaya_sumargi.jpg

सुर्खेत – वि.सं २०३५ मा खानी तथा भूगर्भ विभागले सुर्खेतको चौकुने सिमेन्ट खानी सम्भाव्यता अध्ययन गर्‍यो। चुनढुङ्गा र माटोको प्रारम्भिक परिक्षण गर्दा चौकुने क्षेत्रमा सिमेन्ट उद्योगकका लागि उपयुक्त भएको निष्कर्ष आयो। सोही निष्कर्ष अनुसार विभागले पुनः वि.सं २०३६ देखि २०३९ सम्म विस्तृत अध्ययन गर्‍यो। करिब ३०० मिटर गहिराइसम्म डिर्लिङ गरी ढुङ्गा परिक्षण गर्दा लगभग ३ सय वर्ष पुग्ने चुनढुङ्गा रहेको निष्कर्ष आयो। बाटो परिक्षणका लागि चार वटा सुरुङ समेत निर्माण गरियो।

अध्ययनपछि तत्काल सिमेन्ट उद्योग सञ्चालनमा आउने र गाउँमै रोजगारी पाइने आशा चौकुनेवासीको थियो। तर देशको विषम राजनीतिक परिस्थिति र पूर्वाधारको अभाव देखाउँदै उद्योग सञ्चालमा आउन सकेन। माओवादी सशस्त्रयुद्ध सुरुवातसँगै उद्योग सञ्चालनको विषय पनि सेलायो।

दश वर्षपछि उसैगरी पुनः चौकुनेको चर्चा सुरु भयो। तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएलगत्तै चौकुने सिमेन्टको चियोचर्चो सुरु भयो। नभन्दै आर्थिक वर्ष ०६२/०६३ मा मुक्ती श्री प्रालिले सिमेन्ट उद्योग सञ्चालनको अनुमति पायो। दुर्भाग्य अनुमति पाएपनि चर्चामै सिमित हुने चौकुनेलाई मुक्तीश्रीले पनि उन्मुक्ति दिलाउ सकेन।

बरु ‘चौकुने सिमेन्ट उद्योग सञ्चालनमा ढिलाई, ‘उद्योग सञ्चालनमा दलहरुको बेवास्ता’ जस्ता मिडियामा आउने हेडलाइनहरुले चर्चा पाए। अनुमति लिएको एक दशसम्म पनि उद्योग सञ्चालनको कुनै प्रक्रिया अघि बढाउन नसकेपछि  ३९२७५ नम्बरको उद्योग सञ्चालन अनुमति खारेजीको माग गर्दै सर्वोच्चमा मुद्दा पर्‍यो। मुक्तिश्रीले पूर्वाधारको अभावले उद्योग सञ्चालन गर्न नसकिएको तर्कपछि अनुमति नविकरण (रिन्यु) गर्‍यो। बहसमा मुक्तिश्रीको एउटै तर्क थियो जबसम्म चौकुनेसम्म विद्युत र सडक पुग्न सक्दैन तबसम्म उद्योग सञ्चालन गर्न सकिदैन। उसो त चौकुनेमा अहिलेसम्म गतिलो मोटर बाटोसम्म पुग्न सकेको छैन। तर हाल आएर मुक्तिश्रीले फेरि उद्योग सञ्चालनको प्रक्रिया अगाडि बढाउने जनाएको छ।

चर्चामै चार दशक

चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्ने चर्चा चलेको झण्डै चार दशक बढी भयो। सिमेन्ट उद्योग सञ्चालनका लागि गुटुमै मुक्तिश्री प्रालिले ‘सुर्खेत सिमेन्ट उद्योग’ नामको साइनबोर्ड टाँसेपछि त्यसले झनै चर्चा पायो। लाइसेन्स लिएको दश वर्षपछि फेरि एक पटक चौकुनेको चर्चा भएको छ। ठेकेदार कम्पनी मुक्ति श्री ग्रुप प्रालिका अध्यक्ष अजय सुमार्गी सुर्खेत झरेसँगै चौकुनेको चर्चा भएको हो। 

यहाँ आएका सुमार्गीले एक वर्षपछि सिमेन्ट उद्योग सञ्चालन गर्ने बचन दोहोर्‍याएका छन्। विद्युतको अभावका कसरी उद्योग सुरु हुन्छ भन्ने प्रश्नमा ठेकेदार सुमार्गीले जेनेरेटरबाट काम सुरु गर्ने र सिमेन्ट दिल्ली र नखनउमा बिक्री गर्ने बताए। ‘अर्को भदौदेखि उद्योगको काम सुरु हुन्छ।’ सुमार्गी भन्छन् ‘कर्णालीबाटै आर्थिक सूर्य उदाउने छ।’ उद्योग सञ्चालनको लागि स्थानीयसँग छलफल गरेका उनले ०७७ भदौं १ गते नै सिमेन्ट कारखानाको उद्घाटन गर्ने दाबी गरेका छन्। जग्गा धनी र मजदुरलाई मालिक बनाउने गरी ५० हजार बराबरको शेयर दिने उनको भनाई थियो। जनता र उद्योगीलाई जोड्ने गरी दुई अर्बको लगानी उद्योगमा गर्न थालेको सुमार्गीले बताए।  

तर चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले भने सुमार्गीको आगमन लाइसेन्स नविकरणको खेलमात्रै भएको प्रतिक्रिया दिएका छन्। उद्योग सञ्चालनका लागि आवश्यक सडक, बत्ती र सुरक्षाको व्यवस्था नभएसम्म ठेकेदारले जनतामा भ्रम सृजना गर्ने उनको बुझाई छ। जग्गाधनीलाई उचित मुआब्जा, प्रभावित परिवारको व्यवस्थापन र कारखाना सञ्चालनका लागि पूर्वाधार तयारी बिना उद्योग सञ्चालन आउन नसक्ने स्थानीयहरु बताउँछन्। 

उद्योग संचालनमा आएपछि गुटुमात्र होइन छिमेकी जिल्ला अछाम, दैलेख, कालिकोट र कैलालीका युवाहरुले रोजगारीको अवसर पाउने अपेक्षा गरिएको छ। उद्योगबाट दैनिक ६ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने ठेकेदार कम्पनीको दाबी छ।




प्रतिक्रिया