योगले यसरी बनाउँछ शरीर शुद्ध अनि मन स्वच्छ

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/May/yog_day.jpg

योगी यामको दिनचर्या बिहानको ५ बजे सुरु हुन्छ। ध्यान र योगबिना दिन खल्लो हुने उनी बताउँछन्। योग गरेपछि उनी शरीर र मन दुवै चंगा जस्तो उडेको महसुस गर्छन्। योगासन गर्दा हरेकलाई माया गरौं, सकारात्मक सोचौं, नाचौं जस्तो लाग्ने र खुसी बाँड्न मन लाग्ने उनी बताउँछन्। यसैले उनले योगलाई नै पेसा अपनाएका छन्। 

शारीरिक र मानसिक दुवै तवरमा योगले प्रमुख भूमिका खेलेको हुन्छ। योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। सकारात्मक सोचाइको विकास गराउँछ। शरीर बलियो बनाउँछ। जुनसुकै कार्यमा सकारात्मक हुन मद्दत गर्छ। यसरी एकाग्र भई कुनै पनि कार्यमा लाग्न र सफलता हासिल गर्न योगको महत्त्वपूर्ण भूमिका हुन्छ। नकारात्मक सोच हट्नेबित्तिकै काममा सफलता, शरीरमा स्फूर्ति र ऊर्जा प्राप्त हुने योग प्रशिक्षक यामले बताए।
 
जीवनमा शान्ति, शिक्षा, स्वास्थ्य जे खोजे पनि अन्तिम गन्तव्य मृत्यु हो। मृत्युसँग डराउने मानिसको कमी छैन। तर योगले मृत्युसँग डर हटाउने, प्राकृतिक क्षणलाई सहज रुपमा स्वीकार गर्न सकिने जस्ता ज्ञान र कलाको विकास गराउँछ। 

तीन वर्षअगाडि कुपन्डोलमा मैत्री योगका नाममा खुलेको योग केन्द्र हाल भक्तपुर, चाबहिल, गोदावरीमा विस्तारित छ। केन्द्रलाई व्यवसाय बनाएका यामको मासिक एकदेखि दुई लाखसम्म कमाइ हुन्छ। 

भारतमा बाबा रामदेवदेखि सबैले योगलाई आफ्नो धर्म बनाएको देखेर प्रेरित बनेका उनी योगप्रति मानिसमा रुचि बढ्दै गएको बताउँछन्। भारतमा योगका ठूला आश्रम छन्। नेपालमा योग गर्ने संस्कृतिको विकास नहुँदा उनले नेपालमा योग सिकेर भारतमा लाइसेन्स लिएका हुन्। 

नेपालीमा योगमा लागेर पैसा कमाइँदैन भन्ने धारणा छ। निःशुल्क वस्तुको महत्त्व हुँदैन। त्यसैले यसलाई आफूलाई व्यावसायिक रूप दिएको उनी बताउँछन्। भारतमा योग सिकाएर मासिक २० देखि २५ लाख रुपैयाँसम्म कमाउने व्यक्ति भेटेको याम बताउँछन्। 

योगको विकास महर्षि पतञ्जलीबाट भएको हो। पतञ्जली योग सूत्रमा १९६ कला छन्। यसमा ४ भाग छन्। यसपछि बिस्तारै  साधु र महर्षिले मात्र गर्ने हैन, आमनागरिकले पनि योग गर्न सक्छ भन्ने धारणा विकास भएको हो। 

योगले शरीर लचिलो र स्वस्थ बनाउँछ। उनका अनुसार योगसँग जिमको तुलना गर्न सकिँदैन। उनी भन्छन्, ‘योगसँग जिम र जुम्बा तुलना गर्नु हुँदैन। योग भनेको शारीरिक गति मात्र हैन। एक सम्बन्ध हो, आफ्नो आफैंसँगको सम्बन्ध हो।’ जसरी भगवान् बुद्ध र श्रीकृष्णलाई योगले इन्लाइटेन गरायो त्यस्तै आमनागरिकलाई पनि गराउने दाबी उनको छ। उनले भने, ‘योगले मुक्ति दिलाउँछ।

योग भनेको शारीरिक, मानसिक रोग हटाई र मानिसको आयु लामो गर्ने सूत्र हो। जीवनमा बाँच्नुको अर्थसँग मेल गराउँछ। योगका धेरै फाइदा भएकै कारण यसलाई विश्वभर अपनाउन थालिएको छ।  हाडजोर्नी, नशा, ढाडका रोग, तनावले भरिएको जीवनबाट छुटकारा पाउन योग गर्न सकिन्छ। 

कामको चाप र भविष्यको तनावले मानसिक रोग निम्त्याउँछ। यस्तो अवस्थामा योग गर्ने हो भने सकारात्मक सोंचको विकास र स्वस्थ रहन सकिन्छ। मनमा नकारात्मक सोंच र विचारमा कमी ल्याउने हो भने योग गर्न सकिन्छ। योगले मानिसको मनोबल बढाउने र उत्साह जगाउने काम गर्छ। योग गर्नका लागि कुनै उमेरले छेक्दैन। त्यसैले सबै उमेर र क्षेत्रका व्यक्तिले योग गर्न जरुरी  छ। 

हामीले योगका लागि दिनमा ३० मिनेट छुट्याउनुपर्दछ। बिहानको समयमा योगको विधि अपनाउने हो भने पूरा दिन बिनातनाव र सकारात्मक सोंचसँग बिताउन सकिन्छ भन्ने जानकार बताउँछन्। 



अहिले व्यायामभन्दा बढी योगका धेरै विधि अपनाउन रुचाउँछन्। नियमित ३० देखि ४० मिनेटको योगले खानपिन र राम्रो निन्द्रा पनि लाग्छ। योग गर्दा १० मिनेट फिजिकल, १० मिनेट श्वासप्रश्वास र १० मिनेट मनलाई आराम र आनन्द मिल्ने ध्यानमा बस्न सकिन्छ। 

योग बिहान खाली पेटमा गर्दा राम्रो हुन्छ। योग गर्दा दिनभरका लागि आराम र आनन्द मिल्छ। बिहान योग र रातको समयमा ध्यान गर्दा शरीरमा ऊर्जा प्राप्त हुन्छ। गर्भवती महिलाका लागि योग गर्न धेरै जरुरी छ। गर्भावस्थामा शारीरिक थकान, समस्या र तनाव हुने कारण योग गर्दा शारीरिक दुखाइबाट पनि छुटकारा पाउन सकिन्छ। 

योग वर्तमान जीवन, विगतका परिणाम हो भने आगामी जीवनको प्रस्तावना हो। योगले जीवनलाई जोड्ने काम गर्छ। योग एक साधना, नियम, अनुशासन एवं आत्मविश्वास मार्ग हो। शरीर सक्रिय र मस्तिष्क निष्क्रिय गराएर शाश्वत सत्यसँगको मिलन योग हो।
 
योग अर्काका लागि होइन्। आफ्नो आत्माका लागि हुन्छ। आत्मालाई परमात्मासँगको मिलन नै योग हो र आफूलाई ध्यानमा तल्लीन गर्नु र बिर्सनु पनि योग हो। योग कुनै प्रदर्शनको विषय होइन। योग भगवान् र विश्वासको विषय हो र आत्मदर्शन हो। आत्मज्ञान नै योगको प्रमुख लक्ष्य हो। सकारात्मक जागरुकता र सकारात्मक सोच योगको प्रमुख लक्षण हो।
 
नवीन घले योग सिकाउने पेसा अपनाएका अर्का व्यक्ति हुन्। १५ वर्षदेखि योगसँग लगाव राख्दै आएका उनले व्यावसायिक रुपमा लागेको झन्डै आठ वर्ष भएको छ। उनका अनुसार योग भनेको आफूले आफैंलाई अनुशासनमा राख्नु हो। अनावश्यक दुःख र विचारलाई रोक्न योग गर्न सकिन्छ।
 
सुनमाया पराजुली गृहिणी हुन्। योग गरेकै कारण आफूमा आएको परिवर्तनले उनी दंग छिन्। सुरुका दिनमा योग केन्द्रमा योग सिकेका उनी अचेल घरमै योग गर्छिन्। बिहानको समय स्वछ हावा खाएर घुम्नु र योग गर्नु निकै उपयोगी भएको उनी बताउँछिन्। योगकै कारण उच्च रक्तचाप र थकानबाट बिस्तारै छुटकारा पाएको उनको अनुभव छ। उनी भन्छिन्, ‘योगले आफूलाई चिनाउने काम गर्छ। जीवनमा जतिसुकै सु:ख र दुःख भए पनि यसको अन्तिम स्वरुप भनेको मृत्यु नै हो।’ 




प्रतिक्रिया