'भगवान् तिमी छौ भने यस्तो शोकमा कसैलाई नपारिदेऊ'

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/pradeep_ghimire_dang.jpg

मोबाइलमा निरन्तर घन्टी बज्यो– टिनिन... टिनिन... टिनिन... ! पटक्कै उठाउन मन लागेन। कैयन् पटक काटिदिएँ आफ्नो रुन्चे बोली नसुनाऊँ भनेर। अचेल प्रायः कसैसँग बोल्न मन लाग्दैन। सकभर कम बोल्ने प्रयत्नमै समय बित्छ।

तर घन्टी बज्न थामिएन। आफूलाई सहज बनाउने कोसिस गर्दै फोन उठाएँ। ‘तिमीसँग साह्रै बोल्न मन लाग्यो। पहिलेपहिले कति हिम्मत गर्दा पनि फोन गर्ने साहस जुटाउन सकिनँ।’ शारदाका शब्द थिए यी सात समुद्रपारिबाट। म खुलेर बोल्न सकिनँ। बीचबीचमा हजुर–हजुर, हँ–हँ र अँ–अँ चाहिँ भनिरहेँ। ‘हाम्रो घरमा पनि यस्तै घटना भएको थियो।’ उनले आफ्नो काकाको छोराको दुर्घटनामा निधन र काकाकाकीको अवस्थाबारे सुनाउँदै मलाई सान्त्वना दिइन्। मैले मन बुझाएँ जस्तो गरेँ। अर्को विकल्प पनि थिएन मसँग। अनि मैले बुबाआमालाई समेत सम्झाउने प्रण गरेर फोन राखिदिएँ।

शारदा मेरी एमए पढ्दाकी सहपाठी हुन्। हाल अमेरिकामा बस्छिन्। उनी मेरो भाइ प्रदीपसँग निकै घुलमिल भएकी थिइन्। दुर्घटनामा भाइको निधनप्रति निकै दुःख व्यक्त गरिन् र सहानुभूति दिइन्। अनेक सन्दर्भ जोडेर सम्झाइन्। उनी त मेरो नजिकका साथीमध्ये एक प्रतिनिधि हुन्। अचेल प्रायः साथीभाइ, इष्टमित्र सबैको एउटै भनाइ हुन्छ, ‘तिमीलाई फोन गर्न खोजेर पनि सकेनौँ। हामीसँग शब्द नै भएन तिमीलाई सम्झाउने। के गर्नु? संसार हेर मन बुभाऊ।’ सायद यतिबेला सबैले घटना पुरानो भयो, अब पीडा मत्थर भयो भन्ठानेर हिम्मत गरेर सान्त्वना दिन खोजेका हुन् झैँ लाग्छ। 

मेरी एकजना काकीसासू मलाई बारम्बार भन्नुहुन्छ, ‘नानी मन सम्हाल। के गर्नु ? तिम्रो र मेरो भाग्य उस्तै रहेछ।’ काकीले यसो भनिरहँदा उहाँको र मेरो पीडामा समानता पाउँछु। उहाँले र मैले एकै उमेरमा उस्तै उचाइ प्राप्त गरेका भाइ गुमाउन विवश भयौँ। झन्डै एक दशकअगाडि त्रिशूलीमा र्‍याफ्टिङका क्रममा उहाँका भाइ गुमेका थिए। ‘तिमीले त तिम्रो भाइलाई अन्तिम अवस्थामा देख्यौ नि! मलाई हेर त, हामीले त देख्नसमेत पाएनौं। त्रिशूली देख्दा पनि मन भरंग हुन्छ।’

हो, मैले मेरो भाइलाई अन्तिमपटक आँखा अघाउन्जेल हेर्न खोजेँ। राम्री दुर्घटनाले ज्यान लिएको मेरो भाइको भौतिक शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि राख्दा नरुने कोही थिएनन्। बालक, वृद्ध, वनिता सबै भक्कानिरहेका थिए। ऊ सबैको माझमा अन्त्यन्त प्रिय थियो। खासगरी घोराही क्षेत्रका धेरै क्याम्पसमा उसको संलग्नता थियो। धेरै विद्यार्थी उसका आदर्श थिए। कैयन् छात्रछात्राको रोदनले धर्ती नै शोकाकुलजस्तै बनेको थियो। उपस्थित बूढापाकाले चर्चा गरिरहेका थिए– ‘यत्रो उमेरमा यति धेरै ख्याति! यो बाबु सदा अमर रहनेछ।’ मान्छेको उपस्थिति देख्दा लाग्थ्यो, कलिलो ठिटोले हुनसम्म इष्टमित्र राखेको रहेछ।
 
जन्मेपछि मृत्यु अवश्यम्भावी छ। तर प्रियजन गुमाउँदाको पीडा शब्दमा बयान गर्नै नसकिने खालको हुँदो रहेछ। आफैँ सम्हालिन प्रयास गर्छु तर बेलाबेलामा भक्कानो छुट्छ भाइको सम्झनाले।

ऊ मूर्तिवत् थियो। मैले खुब मुसारेँ उसको शरीर। सानोमा ताते गर्न सिकाएका उसका कोमल पाउ चेतनाशून्य थिए। तिनै हात जसलाई मैले कलम समाउन सिकाएँ, अक्षर कोर्न सिकाएँ। अटेरी गरेर नलेख्दा सुस्तरी चिमोटिदिँदा ऐय्या भन्ने मेरो भाइ मैले कैयन्पटक चलाउँदा पनि प्रतिक्रियाविहीन थियो। हाम्रो रुवाइ, व्यथा, वेदनाको चीत्कारले उसलाई पगाल्न सक्थेन अब।

उसलाई अन्तिम बिदाइ गर्दै टीका र माला लगाइदिँदा ठिक ४२ दिनअघिको भाइटीका सम्झिएँ। धेरै बेर उसको निधार र सारा अनुहारमा स्पर्श गरिरहेँ। उसको निधारको चिसो अझै मेरो दायाँ हातमा सल्बलाउँछ। अब जीवनभर बाँकी कुरा त्यही त रहने भयो। भगवान् साँच्चै तिमी छौ भने कुनै दिदीबहिनीलाई भ्रातृशोकमा नपारिदेऊ है!

भाइको अनुपस्थितिमा चाडपर्व, घटना र कार्यक्रम रित्तो र खल्लो महसुस हुन्छ। दाङको रामपुर, महेन्द्र बहुमुखी क्याम्पस घोराही, काठमाडौंको कीर्तिपुर, चितवनको भण्डारा, मोरङको उर्लाबारी मात्र होइन, ऊसँग नठोक्किएका कुनै ठाउँ र समय छैनन् मेरो जीवनमा। सरसल्लाह, किनमेल, कुनै अवसर, मेला आदि हामी सँगै हुन्थ्यौं। धेरै मिल्थ्यौं। पटकपटक झगडा गथ्र्यौं। तर ती सबै पल ऊसँगै खरानी बन्न पुगे। उसको अभावमा घर घरजस्तो लाग्दैन। घरको कान्ति र आभा सबै उडेको छ यतिबेला।

जन्मेपछि मृत्यु अवश्यम्भावी छ। तर प्रियजन गुमाउँदाको पीडा शब्दमा बयान गर्नै नसकिने खालको हुँदो रहेछ। आफैँलाई सम्हाल्ने प्रयास गर्छु तर बेलाबेलामा भक्कानो छुट्छ भाइको सम्झनाले।  
जति मन बुझाउन खोज्यो उति पीडा ताजा भएर आउँछ। मैले दिनहुँजसो हुने दुर्घटना, काटमार, हिंसा र कहालीलाग्दा मृत्युका घटना सुनेकी छु। छसात वर्षे बालबालिकादेखि प्रौढ महिलाका हत्याका घटना बुझेकी छु। प्रत्येक दिन हुने सवारी दुर्घटना र मृत्युका खबर सुनेकी छु।

यी घटना सुनेर मन बुझाउन खोज्छु तर सफल हुन सकेकी छैन। एकतीस दिनको अन्तरालमा दुर्घटनामा परी ज्यान गुमाएका दाङ रामपुरका दाजुभाइ प्रकाश आचार्य र तीर्थ आचार्यको परिवार सम्झने कोसिस गर्छु। छोरा गुमाएर नातिको सहारामा बाँचेका हजुरबा–हजुरआमाले नाति पनि गुमाउँदाको पीडा सुन्दा मन त्यसै त्यसै भक्कानिएर आउँछ।

आमाको अगाडि भने सामान्य बन्न खोज्छु भित्रभित्रै पीडा लुकाएर। दुर्घटना, अकाल र अल्पायुमा मृत्यु भएका घटना सुनाएर आमाको मन बुझाउने कोसिस गरिरहेकी छु। एउटा छोरो नेपालमा एउटा छोरो अमेरिकामा बितेपछि शोकलाई शक्तिमा बदल्ने बाबुआमाको कथा पढेर सुनाउँछु। मौका पर्नासाथ यस्ता कैयन् घटना उहाँलाई सुनाइरहन्छु। उहाँको दुखेको घाउमा थोरै भए पनि शीतल पार्ने कोसिस गरिरहेकी हुन्छु।

बुबा पुत्रवियोगको पीडामा रन्थनिनुभएको छ। उहाँ अवाक् हुनुभएको छ यतिबेला। पीडा र रोदनलाई भित्रभित्र दबाएर जेनतेन जीवनको गाडा धकेल्दै हुनुहुन्छ। बेलाबेलामा उहाँका कोश भरिएर झरेका आँसुको अविरल प्रवाह देख्दा म निकै छटपटिन्छु। यस्तै घटनासँग जोडिएका समाचारका लिंक बुबालाई म्यासेन्जरमा पठाइदिएर पीडा मत्थर पार्ने कोसिस गरिरहेकी छु। तर त्यो भाइको अभावपूर्ति गर्ने सामथ्र्य मसँग छैन। साँच्चै यतिबेला मलाई भगवान् साह्रै क्रूर र अन्यायी लाग्छन्।

मेरो भाइसँग दिवंगत भएका उनकै सहकर्मी ऊर्जावान् शिक्षक २८ वर्षीय नरेश ओली मेरो आँखासामुन्ने आउँछन् बेलाबेलामा। ७६ वर्षीया आमा, कलकलाउँदो उमेरकी पत्नी, दुई वर्ष पनि नपुगेकी छोरी। कसरी सम्हालिँदै होला त्यो परिवार? त्यही दुर्घटनामा ज्यान गुमाएका एकै घरका कलिला दिदीभाइ सम्झेर म उनीहरूको बाबाआमाको पीडामा डुब्न पुग्छु बेलाबेलामा।

छोराछोरीको सुन्दर भविष्यको कल्पना गर्दै पढ्न पठाएका ती बाबुआमा रित्तो काख लिएर के गर्दै होलान्? विवाह भएको सात दिनमै पति वियोगको पीडा खप्न बाध्य युवतीको जीवन कसरी चल्दैछ होला? पढ्न पठाएका छोराछोरीको लास बुझेर हिँडेका बाबुआमा कुन अवस्थामा होलान् ? सबैलाई एकएक गर्दै भेटेर पीडा बाँड्ने इच्छा उर्लेर आउँछ मलाई। तर उनीहरूसँग भेट्ने समय कहाँ पाउनु?

म जान्ने भएपछि हाम्रो परिवारले भोगेको यो दोस्रो ठूलो दुःखद घटना थियो। यसअघि २०५३ साउन ११ गते चितवनमा गाडी दुर्घटनामा परी मेरा २७ वर्षीय काकाले ज्यान गुमाउनुभयो। उहाँको मृत्युको पीडाले हजुरबा र हजुरआमा जीवनकालभरि कहिल्यै खुलेर हाँस्न सक्नु भएन। काकाको मृत्युले पारिवारिक सदस्य गुमाउँदाको पीडा राम्रै बुझिसकेकी थिएँ मैले। उहाँ मेरा प्रिय र आदरणीय हुनुहुन्थ्यो। आफूलाई सबैभन्दा बढी माया गर्ने मान्छे गुमाउँदाको पीडा मैले त्यतिबेला पनि भोगेकी हुँ।

आज फेरि प्रिय भाइ प्रदीपको वियोगमा छु । उसो त आमाबुबाको शोकलाई कसैको शोकसँग तुलना गर्न सकिँदो रहनेछ। मलाई प्रस्ट थाहा छ– भौतिक शरीर रहेसम्म उहाँहरूको मन हाँस्ने छैन। कैलाश र मैले भरपूर शक्ति र सामथ्र्य लगाउँदा पनि प्रिय प्रदीपको अभाव पूर्ति गर्ने सक्ने छैनौँ। उहाँहरूको मन बुझाउन सक्ने छैनाँै। तर हाम्रो प्रयास उहाँहरूलाई खुसी बुझाउनमै तल्लीन रहनेछ। 

घोराहीको कृष्ण सेन इच्छुक प्राविधिक शिक्षालयका विद्यार्थीलाई सल्यानको कपुरकोटस्थित बुटानिकल गार्डेन भ्रमण गराएर फर्कने क्रममा दाङको राम्री भन्ने ठाउँमा बस दुर्घटना हुँदा शिक्षकद्वय प्रदीप घिमिरे र नरेश ओलीसहित २३ जनाको निधन भएको आज छ महिना पुगेको छ। दुर्घटनामा ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धासुमन !

यो पनि पढ्नुस्  राम्रीमा गुमेका 'राम्रा शिक्षक' को शोकमा डुब्यो दाङ




प्रतिक्रिया