क्याबिनेटमा ईश्वरको बेहाल,  योगेशलाई मन्त्री फालाफाल 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/nekap_neta1.jpg

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीपछिको वरीयतामा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निरीह देखिन थालेका छन्।

उनले आफूलाई ओलीको विश्वास पात्र बनाउन निकै प्रयत्न गरिरहे पनि ओलीले विश्वास गर्न छाडेपछि उनी कमजोर भएका हुन्। अहिले ओलीले पोखरेललाई भर र विश्वास नभएको भन्दै आफू निकटसँग टिप्प्णी गर्न थालेको स्रोतले बतायो। 
 
प्रधानमन्त्री ओलीले रक्षामन्त्री पोखरेललाई चासो नदिएको क्याबिनेट बैठकमा देखिएका केही घटनाले समेत पुष्टि गरेको छ। स्रोतका अनुसार क्याबिनेट बैठकमा रक्षामन्त्रीले बोल्न थालेपछि प्रधानमन्त्री ओली अन्य मन्त्रीहरुसँग कुरा गर्न थाल्छन्  । 

हालैको एउटा बैठकमा रक्षामन्त्री पोखरेलले बोल्न सुरु गरेपछि सबैले सुन्न गरी प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडासँग साइडटक गरेको सन्दर्भ सबै मन्त्रीबीच चर्चाको विषय बनेको छ। 
प्रधानमन्त्री ओलीलाई मन पर्न छोडेपछि पोखरेलमाथि यस्तो व्यवहार गर्न थालेको टिप्पणी ओलीसँग लामा समय निकट रहेका नेताहरुले गरेका छन् । 

स्थायी समितिमा सशक्त विचार राख्ने घनश्याम भुसाललाई पनि प्रधानमन्त्री ओलीले कम महत्त्व दिन थालेको एक नेताले बताए। पार्टी बैठकमा भुसालले बैठकमा बोल्न थालेपछि ओली उठेर हिँड्ने गरेको ती नेताले बताए।
 
गत साता ओली युरोप भ्रमणमा निस्किएका बेला ओलीसँग परामर्शबिनै पोखरेलले कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा पत्रकार सम्मेलन गरेका थिए। पोखरेलले आफूलाई ओभर स्मार्ट देखाउन यसो गरेको भन्दै प्रधानमन्त्री असन्तुष्ट रहेको बालुवाटार स्रोतले बतायो। 

यस्तै प्रचण्ड र ओलीबीच सरकारको नेतृत्वको आलोपालो नहुने कुरा बताएर वातावरण बिगारेको भन्दै ओली पोखरेलप्रति असन्तुष्ट छन् ।
 
पार्टीको एकता महाधिवेशनमा वैचारिक लाइनका लागि बहसमा ल्याउने सहमति विपरीत बीचमै जवजको कुरा लाएको भन्दै ओलीले पोखरेलसँग असन्तुष्टि पोखेका छन् । उनले आलोपालोको विरोध गर्नु ओलीको मायाले भन्दा पनि आफू मन्त्री भइरहनका लागि केन्द्रित भएको स्रोतले बतायो।
 
योगेशलाई मन्त्री फालाफाल
 
आम चुनावका बेला ताप्लेजुङ पुगेर ओलीले ‘योगेशलाई तपाईंहरु जिताएर पठाउनुस्, म मन्त्री बनाएर पठाइदिन्छु’ भनेका थिए । तर अहिलेसम्म भट्टराई मन्त्री बन्न सकेका छैनन्। 

भट्टराईको बालुवाटार प्रवेशमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तगारो बनेको बताइन्छ। केही समयअघि योगेशले प्रचण्ड र ओलीलाई नेल्सन मन्डेला जस्तो त्याग गर्न आग्रह गर्दै स्ट्याटस लेखेपछि रिमाल र भट्टराईबीच  फेसबुक वार परेको थियो।

सोही कारण योगेश मन्त्री बन्न पाएका थिएनन् । तर पछिल्लो समयमा सरकारमा नभएर पनि योगेशले सरकारको बचाउ गर्दै आएका छन् । 

सरकारको सर्वत्र आलोचना भइरहेका बेला पार्टी तहबाट यसरी बचाउ गर्ने भट्टराईलाई मन्त्री पद नदिएर ठूलो गल्ती गरेको गुनासो प्रधानमन्त्री समक्ष पुगेको छ। तर पार्टीका नेताहरुले मन्त्री बन्न गरेको अनुरोध योगेशले अस्वीकार गरेका छन् । 

केही समयपहिले उनलाई महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले मन्त्री बन्न आग्रह गरेका थिए । योगेश निकटस्थहरुले समेत केही समयपछि प्रचण्ड प्रधानमन्त्री हुने भएकाले अहिले मन्त्री नखान भट्टराईलाई सल्लाह दिएका छन् । 
 




प्रतिक्रिया