प्रदेश राजधानी : उग्र गर्मी, अध्याँरो जनकपुर

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/janakpur_chiso.jpg

जनकपुरधाम- कुलमान सिंह नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै नेपाललाई लोडसेडिङ मुक्त गरे। विद्युत आपूर्तिमा भइरहेका चुहावटहरु नियन्त्रण गरी मुलुकलाई लोडसेडिङ मुक्त बनाएपछि कुलमानको चौतर्फी प्रशंसा भयो। र, यो स्वभाविक पनि थियो किनभने लोडसेडिङको समस्याले आजित भइसकेका नेपाली नागरिकले ठुलो राहत पाएका थिए।

कुलमानले देशलाई लोडसेडिङमुक्त बनाउनुअघि नै धनुषा र महोत्तरी जिल्ला लोडसेडिङमुक्त घोषणा भइसकेको थियो। भारतको मुज्जफरपुरबाट धनुषाको ढल्केबरसम्म आउने अन्तरदेशीय प्रसारण लाइन महोत्तरी हुँदै आउने भएकोले उपहारस्वरुप प्राधिकरणले यी दुई जिल्लालाई लोडसेडिङमुक्त घोषणा गरिसकेको थियो।

प्रदेश सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा ‘हाम्रो प्रदेश, उज्यालो प्रदेश’ को नारालाई प्राथमिकताका साथ उठाएको छ। र, यो नारालाई सार्थक बनाउन प्रदेशभित्र वैकल्पिक ऊर्जालाई प्रवद्र्धन गरिने भनिएको छ। आगामी वर्ष नीजि साझेदारी योजना अन्तर्गत प्रदेशको आठवटै जिल्लामा तीन सय मेगावाट सौर्य ऊर्जा प्लान्ट निर्माण कार्य प्रारम्भ गरिने प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। 

उज्योलो प्रदेश बनाउने प्रदेश सरकारको नारा कति हदसम्म सार्थक हुन्छ एक वर्ष कुर्नैपर्ने हुन्छ। तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले नेपाल लोडसेडिङमुक्त भइसकेको घोषणा गरेपनि प्रदेश २ को राजधानी जनकपुरकै हविगत कहाली लाग्दो छ।

तराई मधेशमा अहिले गर्मी उत्कर्षमा छ। चर्को गर्मीका कारण बजार, सरकारी कार्यालयहरु सुनसान प्रायः हुन्छ। तापक्रम बढ्दै गएपछि बजार तथा सरकारी कार्यालयहरुमा सर्वसाधारणको आवतजावत पातलिएको छ। गर्मीबाट जोगिन मानिसहरु चिसो पेय पदार्थ, चिसो खानेकुरा जोहो गरिरहेका हुन्छन्। अत्याधिक गर्मीका कारण पंखा, कुलर वा एसीबिना बस्न चुनौती नै भएको छ, अहिले।

तर प्रदेश २ को राजधानी जनकपुरमै विद्युत आपूर्ति अनियमित भइरहँदा यहाँका सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्। लोडसेडिङमुक्त भएको झण्डै पाँच वर्ष बितिसक्दापनि जनकपुरमा मात्रै दैनिक चारदेखि पाँच घन्टा विद्युत ठप्प नभएको मुश्किलले कुनै दिन हुन्छ। दैनिक विद्युत आपूर्ति अवरुद्ध भएर सर्वसाधारण सास्ती भोग्नु परिरहेपनि सरोकारबला निकायले खासै चासो देखाएको छैन्।

कहिले तार चुडिएर त कहिले ट्रान्सफर्मर पडकेर जनकपुरका साथै वरिपरिका ग्रामीण भेगहरुमा विद्युत आपूर्ति अनियमित हुने गरेको छ। अत्याधिक गर्मी हुँदा विद्युत प्रसारणको लागि प्रयोग भएका तार चुडिने गरेको प्राधिकरणको भनाइ छ। 

तर जनकपुर जस्तै गर्मी हुने वीरगंज, विराटनगर, नेपालगंजजस्ता सहरमा यस्तो समस्या नदेखिएकोले विद्युत आपूर्ति अनियमित हुनुमा प्राधिकरणकै लापारबाही रहेको स्थानीयहरुको भनाइ छ। विद्युत आपूर्ति दैनिक अनियमित भइरहेपनि सरोकारबला निकायहरुले चासो नदेखाएको भन्दै कतिपय युवाहरुले आन्दोल नै गर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन्।

बिजुलीका पोलहरुमा दिउँसोसमेत सडक बत्ति बलिरहेपनि प्राधिकरणले चासो नदेखाउँदा विद्युत चुहावट हुने गरेको छ। जरुरी नभएको बेला दिउँसै सडक छेउका पोलहरुमा बत्ति बल्ने तर उपभोक्तालाई चाहिएको बेला विद्युत आपूर्ति अनियमित हुनु प्राधिकरणको चरम लापारबाही रहेको स्थानीय युवा सुशील कर्ण बताउँछन्।

चर्को गर्मीमा अनियमित विद्युत आपूर्तिका कारण सर्वसाधारण नागरिक समस्या भोग्न बाध्य रहेको अवस्थामा प्रदेश सरकार, उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालयजस्ता निकायले समेत चासो नलिनु दुखद रहेको कर्णको भनाइ छ। विद्युत प्राधिकरणको यस्तै रवैया रहे आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने उनले चेतावनी दिएका छन्।

यता प्राधिकरणका एक अधिकारीले गर्मीका कारण तार चुडिने समस्या आउँदा विद्युत आपूर्ति अनियमित हुने गरेको दाबी गरे। ‘चर्को गर्मी छ , तापक्रम बढेर गएकोले तार चुडिने समस्या आएको हो,’ उनले भने,‘समस्या आएलगत्तै प्राधिकरणका प्राविधिकहरु तत्काल मर्मतमा जुट्ने गरेका छन्।’विगत केही दिनअघि जनकपुरमा आएको हावाहुरीका कारणसमेत केहि समस्याहरु देखिएको उनको भनाइ छ।




प्रतिक्रिया