घटेन घरेलु हिंसा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/mahila_hinsha_symbol.jpg

काठमाडौँ - केही समयअघि अञ्जना महत हत्याकाण्डले बजार ततायो। तेस्रो तलामा सुतिरहेकी बुहारी अञ्जनालाई उनका जेठाजु उज्ज्वलले निर्ममतापूर्वक हत्या गरे। महतलाई मानसिक समस्या रहेको ठहर गरियो। 

गत वैशाख ५ गते जनकपुरमा निर्मला यादव जिउँदै जलाएको अवस्थामा फेला परेकी थिइन्। उनलाई आफ्नै श्रीमान् मुकेश यादवले जलाएका थिए। भाउजू श्यामा र मुकेशको विवाहपूर्व र पछिको अनैतिक सम्बन्ध निर्मलालाई थाहा भएसँगै कलह सुरु भएको थियो। श्यामा र मुकेशले नियोजित रूपमै निर्मलालाई जलाएको निष्कर्ष प्रहरीको थियो।
 
गत जेठ २ गते काठमाडौं कालोपुलमा जेनी भुजेललाई श्रीमान् विष्णु भुजेलले एसिड आक्रमण गरेका थिए। उनले श्रीमती आफूसँग बस्न मन नगरेपछि जेनीको मुहारमा एसिड छर्केका थिए।
 
दार्चुलाको व्यास गाउँपालिका-५ चुकपानीमा एक अभिभावकले ३ महिने छोरीलाई आगो सल्काएर मारेका छन्। हत्याको कारण भने खुलेको छैन।
  
सुन्दा पनि आङ सिरिंग गर्ने यस्ता घटनाको संख्या बढ्दो छ। संवेदनहीन हुन थालेको नेपाली समाजमा यस्ता प्रकारका घटना दिनप्रतिदिन बढ्दो छ। अझ हाडनाता करणी कति गुमनाम छन्।
 
डरलाग्दो तथ्यांक

https://www.nicasiabank.com/
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा ३० बालबालिका र २५३ महिलाको हत्या भएको छ। आर्थिक वर्ष २०७२/७३ मा ५१ बालिका र २४३ महिलाको हत्या भएको छ। यस्तै २०७३/७४ मा ३९ बालबालिका र २७० महिला, २०७४/७५ मा ४४ बालबालिका र २५५ महिलाको हत्या भएको छ। चैतमा ३५ बालिका र २०० महिलाको हत्या भएको छ। यसरी हेर्दा एक साततामा ५ देखि ६ जना महिलाको हत्या हुने गरेको छ।

नेपाल प्रहरी केन्द्रका प्रवक्ता विश्वराज पोखरेलका अनुसार आर्थिक वर्ष २०७१/७२ मा महिला हिंसाका ८२६८ उजुरी परेका छन्। आर्थिक वर्ष  ०७२/७३ मा यो संख्या ९३९८ रहेको थियो। आर्थिक वर्ष २०७३/७४ मा यो संख्या बढेर ११६२९ पुगेको थियो। यस्तै आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी १२२२५ उजुरी परेको थियो। आर्थिक वर्ष २०७५/७६ मा चैत समान्तसम्ममा यो संख्या ९५५३ पुगेको छ।
 
अधिवक्ता मीरा ढुंगानाका अनुसार सरकारी नीति कमजोर रहेका कारण घरेलु हिंसाका घटना न्यून हुन नसकेका हुन्। महिलालाई पतिको घरमा जे जस्तो भए पनि सहेर बस्नुपर्ने अवस्था छ। समाजमा पितृ सत्तात्मक सोंच र महिलालाई वस्तु दृष्टिकोण राख्ने प्रवृत्ति अझै हट्न नसकेको उनको भनाइ छ।
 
मनोविद् गोपाल ढकालका अनुसार नेपाली समाजमा ‘एक्स्ट्रा म्यारिटल अफेयर्स’ धेरै  खुला भएको छ। पति होस् वा पत्नी विवाहोत्तरको सम्बन्ध बढ्न थालेको छ। जसको प्रत्यक्ष असर हिंसासम्म पुगेको ढकालको भनाइ छ। 

महिला सशक्त हुँदै गएको समयमा कतिपय पुरुषमा रहको अहंले पनि यस्ता घटना निम्त्याउने उनी बताउँछन्। यसबाहेक सामाजिक सञ्जालको नकारात्मक प्रयोग पनि केही हदसम्म कारक रहेको छ। 

प्रतिक्रिया