'कैलाश बाबु' बनिन् 'भूमिका' 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/bhumika_shrestha.jpg

नैकापको एक सामान्य परिवारमा उनको जन्म भयो। न्वारनमा पण्डितले नाम राखिदिए 'कैलाश।' सबैले 'कैलाश बाबु' भनेर बोलाउँथे। तर उनलाई मन पर्दैन थियो। केटाको रुप र संरचना भए पनि उनको मन केटीकै थियो। उनलाई केटी बन्न मन पर्थ्यो। कसैले नानी वा छोरी भन्दियोस् जस्तो लाग्थ्यो।

सानैदेखि उनलाई केटीलाई जस्तै मेकअप गर्न मन पर्थ्यो। दिदीले लगाउने गाजल, चुरा, लिपिस्टिक अनि कपडा लगाउँथिन् उनी। 'तँ केटा होस् केटीजस्तै किन गरेको?' भन्दै परिवारमा उनलाई गाली गरिन्थ्यो। तर उनलाई कैलाश बाबु बन्नु नै थिएन। 

मनमा उनको भूमिका अर्कै थियो। मनको त्यो भूमिका प्राप्त गर्न उनले १८ वर्ष कुर्नुपर्‍यो। अठार वर्षपछि उनी भूमिका बनिन्। उनको अठार वर्षको यात्रा एउटा संघर्ष थियो र सकस पनि।
 
कैलाश बाबुको त्यो बडो सकसपूर्ण 'फ्ल्यासब्याक' ले उनलाई घरीघरी भावुक बनाउँछ। कहिलेकाहीं त्यो सम्झेर आनन्द पनि लाग्छ भूमिकालाई। उनी भन्छिन्, 'ल हेर्नुस् त। मैले मनको भूमिका पाउन कति सकस र संघर्ष गर्नुपर्‍यो।'
 
अहिले परिवेश पूरै बदलिएको छ। उनी आफ्नै भूमिकामा रमाएकी छिन्। भूमिका सेलिब्रेटी बनेकी छिन्। परिवार अनि समाजले दिएको भूमिकालाई उनले परिवर्तन गरेकी छिन्।

यतिबेला भूमिका तेस्रो लिंगीहरुको अगुवा बनेकी छिन्। उनी अहिले ब्लु डायमन्ड सोसाइटीको अध्यक्ष छिन्।



भगवानको अनौठो रचना

'बच्चालाई सानैमा तँ केटा हो, तँ केटी हो महसुस गराइन्छ। त्यहीअनुसारको खेलौना पनि दिइन्छ। छोरालाई गुच्छा, बन्दुक र बल खेल्न दिइन्छ तर मलाई भने पुतली, भाँडाकुटी र टाउकोमा सल बाँडेर नाँच्न मन लाग्थ्यो', भूमिका भन्छिन्,‘समय बित्दै गयो, त्यहीअनुसार मेरो इच्छा चाहना पनि बढ्दै गयो।’
 
भूमिका आठ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो। बुबाको मृत्युको दुःख एकातिर र आर्थिक स्थिति नाजुक भएको कारण उनले बोर्डिङ स्कुल छाडेर सरकारी स्कुल पढ्न थालिन्। सानो किराना पसल र त्यससँगै सानो चिया पसलबाट आएको आम्दानीले घर चलाउन उनकी आमालाई निकै कठिन हुन्थ्यो। उनी भन्छिन्, ‘त्यो बेला सकस थियो। घरको समस्या आफ्नो ठाउँमा थियो अनि मेरो मनको भूमिका अर्कै थियो।’
 
उनी भन्छिन्, ‘मन, दिमाग र व्यवहार सबै केटीको जस्तै भएकाले होला केटी साथीहरु धेरै बने। केटा साथी बनाउँदा यो मभन्दा फरक छ भन्ने विचार मनमा आउँथ्यो। केटी साथीहरुसँग सजिलै मन मिल्छ। कुनै पनि समस्या निर्धक्क भएर केटीहरुसँग खुलेर भन्न सक्थेँ।’

उनको त्यस्तो व्यवहार दखेर घर र छिमेकमा सबै कराउँथे। उनी भन्छिन्, ‘धेरै केटीहरुको संगत गरेर यो पनि केटीजस्तै बनिसकी भन्थे। मलाई हाँसो उठ्थ्यो र पीडा पनि हुन्थ्यो।’ उनलाई जबाफ दिन मन लाग्थ्यो– 'प्लिज नो कैलाश बाबु, आई एम भूमिका।'
 
उनले भनिन्, ‘म अरूभन्दा साँच्चै नै फरक छुँ ? आफैँसँग प्रश्न गर्थेँ। यो प्रश्नको उत्तर खोज्न मलाई निकै सकस हुन्थ्यो।’ कहिलेकाहीँ उनलाई भगवान्ले नै ठगेजस्तो पनि लाग्थ्यो। तर फेरि आफैँलाई समाल्दै उनले अठोट गर्थिन्, 'म अब मनको भूमिकालाई साबित गर्छु।' उनलाई लाग्थ्यो, ‘म भगवानको अनौठो रचना हुँ।’

स्कुले जीवनका ती दिन सम्झिँदा उनलाई अहिले अचम्म लाग्छ। उनी भन्छिन्, ‘पसलको कुनामा रहेको सानो रेडियोमा ती दिनमा पुराना हिन्दी र नेपाली गीत बज्थे। गायकको गीत बज्यो भने मन पर्दैनथ्यो र गायिकाको गीत बज्यो भने दिदीको कपडा लगाएर सल हल्लाउँदै उफ्रेर छमछम नाच्थेँ। यसरी नाच्न पाएपछि खाजा पनि बिर्सन्थेँ।'

पुरुष शौचालय जान मन लागेन 

अहिले उमेर बढ्दै गए पनि उनलाई समस्या थपिँदै गयो। खासगरी स्कुलमा साथीसँगीबाट अलि फरक खालको व्यवहार हुन थाल्यो। साथीहरुले छक्का, हिजडा, नपुंसक भनेर गिज्याउने गर्थे। त्यस्तो व्यवहारले गर्दा मानसिक तनाव हुन्थ्यो उनलाई। 

विद्यालयमा हुँदा उनले धेरै भेदभाव सहिन्। शौचालय प्रयोग गर्ने विषयमा उनलाई ठूलो समस्या थियो। ‘पाँच कक्षासम्म सबै साथीसँग लाइन बसेर जान्थें तर सातआठ कक्षामा पुग्दा पुरुष शौचालय जान मन लाग्दैनथ्यो। महिला शौचालय जान सजिलो थिएन। सहेर घरै जान्थेँ’, उनी भन्छिन्।

‘नखुल्दा जति समस्या छ, खुल्दा पनि उत्तिकै समस्या छ। तर खुल्दा समस्या आए पनि त्यो समस्यासँग लड्ने क्षमताको विकास आफैँ हुने रहेछ। समाजमा खुल्नु र नखुल्नुमा यही फरक छ।’

https://www.nicasiabank.com/

जब स्कुल छोड्नुपर्‍यो 

उनले जिम्मेवारी लिने समय आएपछि आफूमा समस्या भएको महसुस गरिन्। घरमा भन्दा पनि उनलाई स्कुलमा समस्या भयो। शिक्षकले पनि ‘तँ जे जन्मेको त्यही बन्न सिक’ भन्दै गाली गर्थे र सम्झाउँथे। यो समस्या उनले दैनिकजस्तै व्यहोर्नुपर्‍यो।
 
उनी भन्छिन्, ‘सहन सक्ने अवस्था नभएपछि मैले कक्षा दसमा स्कुल छोड्नुपर्‍यो। अर्को स्कुल गएर पढ्ने वातावरण त्यो समयमा थिएन।’ उनी स्कुल छोड्नुपर्दाको क्षण कहिल्यै बिर्सन सक्दिनन्। जिन्दगी नर्क जस्तो लाग्यो उनलाई। उनी भन्छिन्, ‘संसारमा कोही पनि आफूलाई बुझ्ने मान्छे छैन जस्तो लाग्यो। त्यो निकै पीडादायक घटना थियो तर मैले त्यसबाट अगाडि बढ्ने शक्ति आर्जन गरेँ।



ब्लु डायमन्ड छिरेपछि...
 
कसैले उनलाई भनेको थियो, 'हिजडाहरुको अफिस छ, त्यहाँ जा।' यो सुनेर उनी निराश र निसहाय भइन्। एक दिन भौँतारिँदै उनी ब्लु डायमन्ड सोसाइटीमा पुगिन्। बल्ल उनको जिन्दगीमा वास्तविक भूमिका सुरु भयो। यसपछि उनका हरेक पाइला उज्ज्यालोतिर लम्किन थाले।
 
पहिलो दिन त्यो अफिसमा प्रवेश गर्दा उनी डरले भागेकी थिइन्। त्यहाँ भेटिएका मानिसको व्यवहारले सुरुमा उनी तर्सिन्। दारीजुँगा भएको केटा मान्छे तर व्यवहार केटीजस्तै, उनीहरुको हाँसोले नै उनको मनमा डर उत्पन्न भएको थियो।
 
बिस्तारै उनी त्यहाँ घुलमिल हुन थालिन्। संस्थामा सबैभन्दा कान्छी सदस्य भएकाले सबैले माया गर्थे। उनी सबैकी प्यारी थिइन्। १८ वर्षमा उनले आफूलाई सम्पूर्ण रुपमा केटीकै भेषमा परिणत गरिन्। सन् २०११ मा थाइल्यान्डमा पुगेर दुई लाखमा उनले ब्रेस्ट इम्प्लान्ट गरिन्। दुखाइका कारण बेकार गरेको जस्तो पनि लाग्यो। उनी भन्छिन्, ‘पछि आनन्द आयो।’
 
उनी भन्छिन्, ‘नखुल्दा जति समस्या छ, खुल्दा पनि उत्तिकै समस्या छ। तर खुल्दा समस्या आए पनि त्यो समस्यासँग लड्ने क्षमताको विकास आफैँ हुने रहेछ। समाजमा खुल्नु र नखुल्नुमा यही फरक छ।’
 
समाजमा हुने हेला, हीनताबोध र कठोर बोलीले अझै पनि तेस्रो लिङ्गीहरु खुल्न डराउने अनुभव भूमिकाको छ। उनी भन्छिन्, ‘हामी जहाँ जान्छौँ, समाज त्यही आउँछ।’ 

२००७ को ‘मिस पिंक पिजेन्ट’ को उपाधि जितेपछि आफ्नो अधिकारका लागि अझै केही गर्न सक्छु भन्ने मनमा विश्वास र नयाँ बाटो खुलेको उनी बताउँछिन्। यसलगत्तै उनले बैंककमा ‘मिस इन्टरनेसनल क्विन’ मा प्रतिस्पर्धामा जाने अवसर पनि पाइन्।
 
तेस्रोलिंगीलाई हाँसोको पात्र नबनाऊ

हाम्रो समाजमा अझै पनि जनचेतनाको कमी छ। तेस्रोलिंगीलाई निकै तल्लो स्तरको व्यवहार गरिन्छ। हाँसोमजाक गर्ने विषय बनाइन्छ। भूमिका भन्छिन्, ‘यो गलत हो। उनीहरु पनि समाजका अरू सदस्यजस्तै सम्मान र इज्जतका साथ बाँच्न पाउनुपर्छ।’

राज्यले पनि तेस्रो लिंगीको हक र सम्मानका लागि केही गर्न नसकेको गुनासो उनको छ। उनी भन्छिन्, ‘समाजले दिने सम्मान आफ्नो ठाउँमा छ। तर राज्य यो विषयमा संवेदनशील हुनुपर्छ।’

नागरिकता, स्वास्थ्य, शिक्षा र रोजगारीमा पनि तेस्रोलिंगीले उत्तिकै अधिकार पाउनुपर्ने उनको भनाइ छ। केटाका रुपमा महिला शौचालय प्रयोग गर्न अप्ठेरो हुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘विज्ञान र प्रविधिले फड्को मारिसक्दा पनि नेपालमा अझै तेस्रोलिंगीका लागि छुट्टै शौचालय बन्न भने सकेको छैन। यसले यो समुदायका सदस्यहरुलाई सास्ती भएको छ।’
 
उनी भन्छिन्, ‘हामी दयाको पात्र होइनौं, हामी भगवानको अर्को सिर्जना हौँ। तेस्रोलिंगीको जीवन जो कोहीले बाँच्न पाउँदैनन्। हामीलाई माया र सम्मान दिनुस् जति अरु आममानवले पाउँछ। सक्ने भए माया गर्नुस्, सक्नुहुन्न भने हेला र दया देखाउने हक कसैलाई छैन।’

नेपालमा तेस्रोलिंगी कति छन्, त्यसको तथ्यांक छैन। सरकारले तेस्रोलिंगी भनेर छुट्टै जनगणना गरेको छैन। तेस्रोलिंगीलाई छोरा वा छोरीमै गणना गर्ने गरेको छ। ब्लु डायमन्ड सोसाइटीको पछिल्लो सर्वेक्षणअनुसार नौं लाख हाराहारीमा तेस्रोलिंगी छन्।

प्रतिक्रिया